Comments Add Comment

बहस : ‘मधेस प्रदेश’लाई हिमालमा जोड्दा के हुन्छ ?

राजनीतिक टिप्पणी
१९ साउन, काठमाडौं । राज्य पुनःसंरचना गर्दा सप्तरी, सिरहादेखि जनकपुरसम्मको क्षेत्रलाई पहाड र हिमालसम्म जोडेर ठाडो प्रदेश बनाउँदा के होला ? यसो गरियो भने सबैभन्दा पहिले मधेसी नेताहरुले आपत्ति जनाउनेछन् र यसलाई ‘पहाडे राष्ट्रवाद’ बताउने छन् ।
modi-walking-in-street-2नयाँ संविधानसँगै नयाँ संघीय प्रदेशहरु बनाउँदा हिमाल, पहाड र तराईलाई जोड्नै नहुने तर्क मधेसका नेताहरुले गर्दै आइरहेका छन् । तर, त्यस्ता प्रदेशहरुमा पहाड र हिमालसमेत जोडियो भने बढी सम्पन्नता हुन्छ या तराईलाई मात्रै प्रदेश बनाइयो भने फाइदा हुन्छ भन्ने बहस नेपालमा अहिलेसम्म हुन सकेको छैन । तर, आइतबार नेपालको संसदलाई सम्वोधन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहाड र हिमालको महत्व नेपाली नेताहरुलाई सुझाउने प्रयास गरे ।
मोदीले नेपालको पहाडको महत्व यसरी दर्शाए-‘जव लक्ष्मणजी मुर्छित भए, हनुमानजी जडीबुटी लिन यहाँ आए । आज पूरा विश्वमा हर्बल हेल्थकेयरको चर्चा चलिरहेको छ, जडिबुटी हिमालयको गर्भमा अलपत्र छ, के छैन तपाईहरुसँग ?’ भारतीय प्रधानमन्त्रीले थपे-‘सहासिक पर्यटनका लागि हिमालयभन्दा बढी के हुन सक्छ ? नेपाल भन्दा राम्रो कुन ठाउँ हुन सक्छ ? पूरै विश्वका युवालाई पागल बनाउने तागत तपाईहरुको धर्तीसँग छ ।’
मोदीले यसरी पहाड र हिमालको चर्चा गरिरहँदा हाम्रा मधेसवादी नेताहरुले चाँहि नयाँ प्रदेशमा हिमाल र पहाडलाई मिसाउनै नहुने जिकिर गरिरहेका छन् । सप्तरी सिरहालाई सगरमाथासँग जोड्ने कुरालाई उनीहरु ठाडै अस्वीकार गरिहरेका छन् । के मधेशी नेताहरुलाई हिमाल र पहाड चाहिँदैन ? नयाँ प्रदेशलाई हिमालको पर्यटन र पहाडको जलविद्युत, शीतलता र हाइड्रोपपावर चाहिँदैन ? किन मधेसी नेताहरु हिमाल र पहाड विनाको गर्मी राज्यको वकालत गरिरहेका छन् ? संविधान निर्माण र राज्य पुनसंरचनाका क्रममा यसबारे राष्ट्रिय बहस आवश्यक देखिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले नयाँ संविधानले देशलाई फुटाउने होइन जोड्नुपर्ने बताएका छन् । मधेसको भूमिबाहेक पहाडमा बजेट जाँदा समेत विरोध गर्दै आएका मधेसी नेतालाई समेत आइतबार संसदमा मोदीले सुनाए-‘संविधानले जोड्छ, फुटाउँदैन । विवाद समाधान गर्ने माध्यम हुन्छ । चाहे पहाड हो, चाहे तराई हो, जोड्ने र ताकत प्राप्त गर्ने काम गर्छ ।’ मोदीले भनेका छन्- ‘भारतको संविधानसले समुद्रदेखि हिमालय पर्वसम्म जोडेको छ ।’
हिमाल, पहाड र तराई मिलेर बनेको नेपालजस्तो सुन्दर देशमा प्रदेशहरु निर्माण गर्दा सबै प्रदेशहरुलाई प्रकृतिले दिएको उपहार हिमाल, पहाड र तराई आ-आफ्नो भागमा पर्नेगरी पुनसंरचना गर्दा के घाटा होला ? मधेसमा बस्ने नेपाली जनतालाई हिमालको जडिबुटी, पर्यटन, बिजुली र पर्यटनको लाभ उपलब्ध गराउने गरी हिमाल-पहाड-तराई हुने गरी प्रदेश बनाउँदा के बिग्रिन्छ ?
मोदीले भनेका छन्, संविधान ऋषि-‘मनले बनाउनुपर्छ । संविधान वेद पुराण र संहिताजस्तो सयवर्ष पछाडिसम्म काम दिने गरी बनाउनुपर्छ । अहिले बनाइने कमा र फुलिस्टप पछि विषवृक्षजस्तो नबनोस् ।’
एउटा क्षेत्र, जात र भूमिको मात्रै वकालत गर्दै आएका हाम्रा संकीर्ण नेताहरुको सोचाइले हाम्रो हिमालको उचाइ देख्न सक्ला ? यी नेताहरुले सिंगो नेपाल र नेपालीभन्दा गर्व गर्ने दिन कहिले आउला ? आफूलाई ‘नेपाली’ भन्न हिच्किचाउनेहरुले कसरी ऋषि मनले हिमाल पहाड र तराईका जनताको भावनालाई एउटा सूत्रमा जोडिने गरी संविधान लेख्लान् ?’ यो संशय हटाएर ‘हिमाल पहाड तराई, कोही छैन पराई’ भन्ने भावनाको विकास गर्ने पो हो कि ?
हाम्रा नेपाली नेतालाई विदेशीले सम्झिइदिन परेको छ, तिमीहरु महान छौ, तिम्रो देश महान छ, तिमीहरुसँग अग्लो हिमाल छ, पहाड छ, पहाडबाट बिजुली निस्कन्छ । हाम्रा नेताचाँहि नयाँ प्रदेश बनाउँदा त्यसमा सगरमाथा र पहाडलाई जोड्नै हुँदैन भनेर तर्क गरिरहेका छन् । घुर्‍यानको कुखुरो बनेर खोस्रिरहेका छन्, चीन बनेर हिमालको उचाइ पर्गेल्न र गौरवान्वित हुन सकिरहेका छैनन् । संकीर्णतावादी नेताहरु जेलाई ‘पहाडे राष्ट्रवाद’ भनिरहेका छन्, मोदीले खुृलेर भनेका छन्, भारतको जीतमा गोर्खालीको रगत छ । कसैले मर्न डराउँदिन भन्छ भने त्यसले या त ढाँटिरहेको छ, या ऊ गोर्खाली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment