- नेताहरूलार्इ भारतीय प्रधानमन्त्री मोदीलार्इ परिचय गराउँदै राष्ट्रपति । तस्वीरः सूचना विभाग
१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीसहितको दिवाभोजका लागि सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका नेताहरुले एउटै कोठामा कोचिएर झण्डै ४५ मिनेट उभिनुपरेको छ । बस्ने ठाउँसमेत नभएको कोठामा त्यसरी उभिनेहरुको ताँतीमा उपराष्ट्रपति परमानन्द झादेखि पूर्वप्रधानमन्त्रीहरु समेत थिए ।
राष्ट्रपति डा. रामवरण यादवले मोदीको सम्मानमा ११:४५ बजे दिवाभोजको आयोजना गरेका थिए । शीतलनिवासले उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशसहित संविधानसभामा तीन सिटसम्म प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वसभामुखलाई निम्तो दिएको थियो ।
शीर्षनेताहरु निम्तो मान्न समयमै राष्ट्रपति कार्यालय पुगेका थिए । तर, राष्ट्रपति र मोदीबीचको भेट लम्बिएपछि ३०/३५ नेताहरुले एउटै कोठामा उभिएर आधा घन्टादेखि ४५ मिनेटसम्म कुर्नुपरेको हो ।
कोठामा कुर्सीको व्यवस्था नभएका कारण नेताहरुले उभिएरै समय काटेका छन् । ‘पहिलो तल्लाको लञ्च हलसँगैको कोठामा सबैलाई राखिएको थियो । तर, कुुर्सीको व्यवस्था थिएन’ एक नेताले अनलाइनखबरसँग भने-‘व्यवस्थापन गर्दा भेट लम्बिए के गर्ने भन्ने नसोचिएकाले समयमै पुग्नेले ४५ मिनेटसम्म कुर्नु पर्यो ।’ केही ढीला पुग्नेले समेत आधा घण्टासम्म कुर्नु परेको एक नेताले बताए ।
झण्डै ४५ मिनेटको प्रतिक्षापछि राष्ट्रपति यादव भारतीय प्रधानमन्त्री मोदीलाई लिएर आए । लगत्तै यादवले उभिएर बसेका नेताहरुलाई एक-एक गरेर मोदीसँग परिचय गराएका छन् ।
लगत्तै नेताहरुलाई मोदीसँग दिवाभोजमा लगिएको थियो, जहाँ मोदीसँग अधिकांश समय राष्ट्रपति, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले मात्रै गफ गरेका थिए । अन्य नेताहरु भने ४५ मिनेटको पर्खाइपछि दिवाभोजतिर फर्किनु परेको एक नेताले बताए ।
प्रतिक्रिया 4