Comments Add Comment

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार भन्छन्- कांग्रेसले बीपीको आर्थिक विचार सदुपयोग गरेन

२२ साउन काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीबी नेपालले मानव सभ्यता रहेसम्म बीपीको आर्थिक सोच यथार्थपरक रहेने दाबी गरेका छन् ।

बीपीको सतबाषिर्कीको अवसरमा सैलजा आचार्य स्मृति प्रतिष्ठानद्वारा बिहीबार राजधानीमा आयोजित ‘बीपीको आर्थिक सोच र यसको सान्दर्भिकता’ विषयक कार्यक्रममा डा. नेपालले भने-देश विकासमा बीपी जतिको शंवेदनशील नेता आजसम्म मैले सुनेको पनि छैन, उहाँको आर्थिक सोच मानव सभ्यतारहेसम्म रहने छ ।’

गाउँ केन्दि्रत, विकेन्दि्रकृत र श्रमप्रधान हुनु विकास नीति हुनु पर्ने र जमिनको उत्पादकत्व बढाउनुपर्ने विपीको मुख्य नीति रहेको डा. नेपालले बताए ।

५० वर्षअघि नै बीपीले अंगालेका नीति बोकेर क्रान्तिकारी बन्न खोज्ने तर बीपीलाई जोड्न नचाहने प्रवृत्ति रहेको उनले बताए । ‘कांग्रेसले नै बीपीको आर्थिक विचारको सदुपयोग गर्न सकिरहेको छैन’ उनले भने-बिपीको आर्थिक चिन्तनलाई आत्मसाथ गर्नुभन्दा पनि बिपी भन्दा म पनि कम छैन भन्ने प्रवृत्ति मौलायो ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बीपीकै आर्थिक मोडेल अबलम्बन गरी गुजरातमा आर्थिक क्रान्ति गरेर देखाएको नेपालले दाबी गरे । ‘२०१६ सालको बजेट बनाउँदै बीपीले सामाजिक न्यायसहितको आर्थिक उन्नतिमा जोड दिनुभएको थियो, गाउँघरमा कृषि उद्योगको स्थापनामा जोड दिनुभएको थियो’ नेपालले भने -उहाँको सोचलाई धेरै देशमा लागू गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उहाँकै मोडेलको नीति अबलम्बन गरेका छन् ।’

बिपीले ५० वर्षअघि नै ग्रामिण क्षेत्रको विकास र गरिबहरुको आय वृद्धि नगरी मुलुुक सम्मृद्ध हुँदैन भनेको नेपालले स्मरण गराए । ‘हरेक व्यक्ति उत्पादन प्रक्रियामा अनिवार्य सहभागि हुनै पर्ने भन्ने विपीको आर्थिक सोचको मूल आसय हो’ उनले भने । ०१६ सालको कूल बजेट १९ करोड ६० लाख भएकोमा कृषि क्षेत्रमा एक चौथाई अर्थात् ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेर बिपीको सरकारले कृषि क्रान्तिको सुरुवात गरेको नेपालले बताए ।

विदेशीको सहयोग सकेसम्म लिन नहुने र आन्तरिक श्रम र सीपको अधिकतम प्रयोग गरी आर्थिक विकास गर्नुपर्ने बीपीको बिचार सँधै उपयोगी हुने फाउन्डेसनकी अध्यक्ष एवं सभासद अम्बीका बस्नेतले बताइन् ।

बीपीको आर्थिक सोचलाई राष्ट्रिय सोच बनाएर अघि बढ्न सके पाँच/सात वर्षमै मुलुकले काँचुली फेर्ने कांग्रेस नेतृ प्रतिमा गौतमले बताइन् । त्यसैगरी नेपाल आर्थिक पत्रकार समाज -सेजन) का अध्यक्ष विज्ञान अधिकारीले बीपीको आर्थिक सोचलाई राष्ट्रिय नीतिको रुपमा अघि बढाउन नसक्दा मुलुकको आर्थिक विकासले गति लिन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment