Comments Add Comment

महेश बस्नेतले भने-हप्ता असुल्ने प्रहरीले ‘चरी’को हत्या गरे

mahesh-Basnet

२३ साउन, काठमाडौं । डन दिनेश अधिकारी ‘चरी’ को गैह्रन्यायिक हत्या भएको भन्दै एमाले कार्यकर्ताले शुक्रबार शिक्षण अस्पताल महारागजञ्ज अगाडि एक घण्टा धर्ना दिएका छन् ।

प्रहरी मुठभेडमा मारिएका चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । तर, परिवारले शव बुझ्न अस्वीकार गरेका छन् ।

एमाले धादिङ क्षेत्र नम्बरका १ का पूर्वउपाध्यक्ष समेत रहेका चरी मुठभेडमा मारिएको नभर्इ प्रहरीले पक्राउ गरी हत्या गरेको भन्दै एमाले धादिङका नेता, युवा संघका नेता तथा कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ता एक घन्टा धर्नामा बसेका हुन् ।

धर्नामा एमाले केन्द्रीय सदस्य खेम लोहनी, युवा संघका अध्यक्ष महेश बस्नेत र अनेरास्ववियुका उपाध्यक्ष ऐन महरको समेत सहभागिता थियो ।

महेश बस्नेतले भने-हप्ता असुल्ने प्रहरीले दिनेशको हत्या गरे

धर्ना कार्यक्रमको नेतृत्व गरेका युवा संघका अध्यक्ष महेश बस्नेतले प्रहरीलाई गुण्डा भन्दै उनीहरुले चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरे ।

चरीलाई कलंकीबाट पक्राउ गरी गाडीभित्र हालेर गोली हानेको र भीमढुङ्गामा लागेर शव सार्वजनिक गरिएको उनले बताए । ‘अदालतमा हाजिर हुन तयार भएको व्यक्तिलाई पक्राउ गरेर गरिएको गैह्रन्यायिक हत्या गरिएको हो, गुण्डासँग पैसा लिएर प्रहरीले चरीको हत्या गरेका हुन्’, उनले भने  ।

करोडौं घुस दिएर काठमाडौं आएका हप्ता असुल्ने केही प्रहरीले चरीको हत्या गरेका उनको दाबी थियो । बस्नेतले भने-‘उनको हत्या गर्न प्रहरीले गुण्डासँग मिलेर ६ महिनाअघिबाट योजना बनाएको पत्ता लगाएका छौं ।’

आफूहरु संयमितरुपमा प्रस्तुत भएको भन्दै बस्नेतले सरकारले आफूहरुको कुरा नजरअन्दाज गरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘यो हत्याकाण्डको छानविन भएर दोषीलाई काुननी दायरामा ल्याइनुपर्छ’ अध्यक्ष बस्नेतले भने- ‘निष्पक्ष छानविन गरिएन भने हामी एमालेका सबै भातृसंंगठन मिलेर आन्दोलन चर्काउछौं ।’

युवा संघका अध्यक्ष बस्नेतले चरी हत्याकाण्डसँग जोडेर केही मिडिया एमाले अध्यक्ष केपी ओलीविरुद्ध नियोजितरुपमा लागेको आरोप लगाए । उनले भने-‘मिडियाले समाचार लेख्ने हो, राजनीति गर्ने होइन । एमालेभित्र राजनीति गर्न खोज्ने मिडियालाई सच्चिन खबरदारी गर्छौं ।’

धर्ना कार्यक्रममा एमाले केन्द्रीय सदस्य खेम लोहनी, अनेरास्ववियुका उपाध्यक्ष ऐन महर र दिनेशका दाजु ध्रुव अधिकारीले पनि बोलेका थिए । ध्रुवले दिनेशको हत्याबारे छानविन नगरुन्जले शव नबुझ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment