Comments Add Comment

श्रीकृष्णलाई सम्झेर आँशुको झरना बगाउँदै नायिका

Jharana become sentimental while talking about Shreekrishna_1

२५ साउन, काठमाडौं । नेपाली सिने नगरीमा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको जोडी सर्वाधिक सफल मानिन्छ ।

गोर्खाली, ए मेरो हजुर, हामी तीन भाइ, सुख दुख र पाहुनाजस्ता सिनेमामा काम गरेको यो जोडी असाध्यै मिल्थे । तर, अकस्मात् श्रीकृष्ण श्रेष्ठको निधनको खबर सुनेपछि नायिका थापा अहिले आँशुको झरना बगाउँदैछिन् । नायिका झरना कन्फ्युजनमा छिन्, श्रेष्ठको निधन ‘रियल’ नै हो र !

अनलाइनखबरले आइतबार नायिका थापालाई भेट्दा दाजु समानका कलाकारलाई गुमाएको पीडामा उनका आँशु रोकिएका थिएनन् । अनलाइनखबरसँग कुरा गर्दा झरना पटक-पटक भक्कानिइन् ।

विगतमा पनि श्रेष्ठ गम्भीर बिरामी भएपछि भारतमा उनको उपचार भएको थापाले सम्झिइन् । आफ्नो प्रोडक्शनमा बन्न लागेको ए मेरो हजुर-२ चलचित्रमा आफू र श्रीकृष्णले बा-आमाको रोल खेल्न गरेको तयारी सपनामै सीमित भएको सम्झँदै झरना भक्कानिइन् ।

नायक श्रेष्ठको सम्झना झरनाले यसरी गरिन् –

श्रीकृष्णको निधनको खबर कतिबेला थाहा पाउनुभयो ?

बिहान ५ बजेको थियो । सुनीलजीलाई फोन आएपछि, उहाँ केरे भन्दै उठ्नुभयो । म पनि एक्कासी उठें ।

निधनको खबर सुन्ने वित्तिकै कस्तो भयो तपाइलाई ?

एकदमै स्तब्ध नै भएँ म । नसोचेको कुरा भयो । उहाँ कलाकार मात्र होइन, मेरो परिवारजस्तो हो । सोचेकी थिइँन, यस्तो हुन्छ भनेर । दैवले मेरो दाजुलाई चुँडेर लग्यो ।

उहाँको स्वास्थ्य अवस्थाबारे तपाई कतिको जानकार हुनुहुन्थ्यो ?

हुन त उहाँ, पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो । चलचित्र जीवनसाथीमा हामीले एकसाथ काम गर्दा, उहाँ गम्भीर बिरामी हुनुभयो । भारतमा पुगेर उपचार गराउँदा उहाँ मरेर बाँच्नु भएको हो । पछि उहाँले यो सिनेमा गर्न नसक्ने भएपछि अर्को कलाकार लिएर सिनेमा गरियो । हामी जापान र यूकेमा आयोजना भएको सांकृतिक कार्यक्रममा भाग लिन जाँदा पनि उहाँ औषधी लिइरहनुहुन्थ्यो । डेढ महिना अघिसम्म पनि उहाँले घाटीमा समस्या भएको बताइरहनुभएको थियो ।

त्यतिबेला उहाँलाई के भएको थियो, तपाईलाई थाहा छ ?

उहाँहरुले लुकाउनुभयो, त्यतिबेला । यसैले हामीले केही बुझ्न नै पाएनौं ।

तपाईकै होम प्रोडक्शनबाट बन्न लागेको चलचित्र ‘ए मेरो हजुर २’मा उहाँसँग काम गर्ने सम्भावना थियो कि थिएन ?

हामीले यो विषयमा कुरा गरिसकेका थियांै । अहिलेका युवाहरुको भूमिकामा नभई, बुढाबुढीको भूमिकामा काम गर्ने तयारी गरेका थियांै हामीले । तर, यो सबै सपना नै भयो ।

नेपाली सिने नगरीलाई उहाँको अभाव कसरी खड्किन्छ ?

असर त एकदमै पर्छ । हामीले एउटा राम्रो कलाकार गुमाएका छौं ।

तपाईको बुझाइमा श्रीकृष्ण कस्तो मानिस हुनुहुन्थ्यो ?

उहाँको कसैसँग पनि वादविवाद भएन । एकदमै सहयोगी भावना भएको मानिस हो उहाँ । एउटा परिवारजस्तो हुनुहुन्थ्यो । कहिल्यै पनि स्क्यान्डलमा पर्नुभएन । दयालु स्वभावको मानिसको रुपमा चिन्छु म उहाँलाई ।

उहाँबाट सिक्नुपर्ने पाठ के हो जस्तो लाग्छ ?

उहाँ न त कहिले नै सुपरस्टार नै हुनुभयो, न त कहिले नै फ्लब हिरो । सधैं एकै नाशले उहाँको चलचित्र यात्रा चल्यो । उहाँबाट खुशीमा मात्तिने र दुखमा आत्तिने काम गर्नुहुन्न भन्ने हामीले सिक्यौं ।

श्रीकृष्णको निधनको खबर सुन्नेवित्तिकै, तपाईको मस्तिष्कमा उहाँलाई सम्झेर के याद आयो ?

मलाई उहाँले बोल्ने भाषा याद आयो । भेट्नेवित्तिकै अंकमाल गर्ने उहाँको बानी झलझली सम्झिएँ । ५ बजेदेखि ७ बजेसम्म त मलाई होइनजस्तो लागिरहेको थियो । तर जब पक्का भयो, मैले आफूलाई सम्हाल्न नै सकिँन ।

आफ्नो जीवनमा श्रीकृष्णजीको निधनको अभाव कसरी रहला भन्ने ठान्नुहुन्छ ?

उहाँसँग सिनेमामा काम गर्ने चाहना अधुरो नै भयो । उहाँ मेरा लागि अग्रज हुनुहुन्थ्यो । मैले एउटा दाजु, अग्रज र मिलनसार कलाकारलाई सदाका लागि गुमाएकी छु ।

उहाँले आफूलाई केही भैहाले नेपाल नलैजान भन्नुभएको सुनियो, तपाईलाई यो कुरा सुनेर दुख लागेन ?

उहाँले यस्तो किन भन्नुभयो भनेर सोच्दैछु । म निक्कै दुखित छु, उहाँको यो कुरा सुनेर । अहिले पनि मेरो मन दुख्छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment