Comments Add Comment

व्याजदर घटेपछि सवारी साधनको आयात बढ्यो

पुष्प दुलाल

२७ साउन काठमाडौं । बैंकको व्याजदर सस्तो भएपछि खरिदकर्ता थपिँदा सवारी साधनको आयात २२ प्रतिशतले बढेको छ । आयातमा भएको वृद्धिसँगै यो क्षेत्रबाट उठ्ने राजस्व पनि १७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको जेठ महिनामा ११.३ प्रतिशतले घटेको बैंकहरुको सवारी साधन कर्जा गत वर्षको सोही महिनामा भने ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १४/१५ प्रतिशत रहेको सवारी कर्जाको व्याजदर गत वर्ष १० प्रतिशतको हाराहारीमा झरेको छ ।

एक वर्षको अवधिमै बैंकहरुले १ अर्ब २५ करोड ७३ लाख रुपैयाँ सवारी साधन कर्जा बढाएका छन् । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुले ११ अर्ब ९४ करोड ४० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा १० अर्ब २८ करोड २५ लाख रुपैयाँ थियो ।

Gadi export import

सस्तो व्याजदरमा सवारी साधन कर्जा -अटोलोन) पाएपछि सवारी साधनका खरिदकर्ता बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।
‘बैंक व्याजदर घटेपछि सवारी कर्जा बढेको छ’ सीइओ दाहालले अनलाइनखबरसँग भने- ‘सस्तो व्याजमा कर्जा पाएपछि आफ्नै गाडी चढौं न भन्ने नेपाली मानसिकता छ ।’

‘व्याजदर यसरीनै घट्ने हो भने सवारी साधनको आयात अझै बढ्छ’ दाहालले भने-‘अधिक तरलताका कारण व्याजदर घटेको छ, त्यसैले बैंकहरु आम्दानीका लागि यो क्षेत्रमा लगानी बढाउन बाध्य हुन्छन् ।’

अधिक  तरलता (लगानी योग्य पुँजी) को उच्च चापमा रहेका रहेका बैंक तथा वित्तीय संस्थाहरुले ‘अटोलोन’ बढाएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।
‘लगानीका अन्य क्षेत्र पहिचान नभइसकेको तर बैंकसँग अधिक तरलता भएका कारण आम्दानीका लागि सवारी साधानमा कर्जा बढाएका हुन’ श्रेष्ठले भने । त्यसो त सवारी साधन दिनानुदिन मानवीय आवश्यकता बन्दै गएकाले यसको हालको वृद्धिदर अस्वभाविक नभएको उनले बताए ।

३६ अर्बको आयात

व्यापार निर्यात तथा प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७०/०७१को जेठ महिनासम्ममा नेपालले ३६ अर्ब ३४ करोड रुपैयाँ बराबरको सवारी साधन तथा यसका पाटपुर्जा आयात गरेको छ । जुन, आव २०६९/०७०को जेठ महिनाको तुलनामा २२.१ प्रतिशतले बढी हो ।

केन्द्रका अनुसार जेठ महिनासम्ममा सवारी साधनको आयातबाट राज्यले ३ अर्ब ९८ करोड रुपैयाँ राजस्व उठाएको छ । यो अघिल्लो वर्षको तुलनामा १७.२ प्रतिशले बढी हो । अघिल्लो जेठ मसान्तमा ३ अर्ब ४९ करोड २७ लाख रुपैयाँ राजस्व असूली भएको थियो ।

सवारी साधनलाई अनुत्पादक तथा विलासी बस्तुको रुपमा लिएको सरकारले यसको आयातमा भारी कर लगाएको छ । सवारी साधनको आयातमा सरकारले अधिकतम २ सय प्रतिशतसम्म कर लगाउँदै आएको छ । यद्यपि उत्पादनशील क्षेत्र घोषणा गरिएका प्राथमिकता प्राप्त क्षेत्रमाभन्दा अनुत्पादक क्षेत्रको कर्जा विस्तारमा गिरावट आएको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment