Comments Add Comment

मौसम विभाग भन्छ- पानी अझै पर्छ, सतर्क रहनोस् !

३० साउन, काठमाडौं । बाढी पीडितबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि शुक्रबार दिउँसो गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठक बसेको छ ।

उता मौसम विज्ञान विभागले भने अझै केही दिन वर्षा नरोकिने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

शुक्रबार बसेको उद्धार समितिको आकस्मिक बैठकलेे क्षतिको विवरण संकलन गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताएका छन् ।

समितिको बैठकमा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमानसिंह श्रेष्ठ, सहरी विकास मन्त्री डा. नारायण खड्का, सिंचाई मन्त्रीज्यू एनपी साउत, र मुख्य सचिव लीलामणि पौडेल सहभागी थिए ।

गृहमन्त्रालयमा आयोजित बैठकले घटनाबारे चौविसै घण्टा सूचना संकलन, समन्वय र सम्प्रेषण गर्ने व्यवस्थाका लागि केन्द्र र जिल्लामा कमाण्ड पोष्ट खडा गरी चौविसै घण्टा खोज, उद्धार र राहतका कार्यहरुको समन्वय गर्ने निर्णय गरेको छ ।

हेलीकोप्टर तयारी अवस्थामा राखिने

बाढी प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारका लागि हेलीकोप्टर र जनशक्तिलाई पूर्ण तयारी अवस्थामा राख्ने र मौसम अनुकूल हुनासाथ तुरुन्तै परिचालन गर्ने बताइएको छ ।

निजी क्षेत्रका हेलिकोप्टरलाई पनि आवश्यक परेका बेलामा उद्धार कार्यमा परिचालन हुने गरी तयारी अवस्थामा राख्न बैठकले निर्देशन दिएको छ ।

त्यस्तै विभिन्न विषयगत मन्त्रालयलाई विपदपश्चात् गर्नुपर्ने काम गर्न बैठकले निर्देशन गरेको छ । विपद् प्रभावितका लागि सहयोग गर्न चाहने ईच्छुक दाता, संघ संस्था वा व्यक्तिहरुले रकम जम्मा गर्न चाहेमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहात कोषको खातामा रकम जम्मा गर्ने गरी सूचना प्रकाशित गर्ने समितिको निर्णय छ ।

मौसम विभाग भन्छ- अझै केही दिन पानी पर्छ

यसैवीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले मनसून सक्रिय भएकोले अधिकांश जिल्लाहरुमा अझै केही दिन पानी पर्ने सम्भावना रहेको बताएको छ । वर्षा नरोकिने भएकाले सतर्क अवस्थामा रहन र त्यसका लागि आवश्यक पूर्व तयारी गर्न गृहमन्त्रालयबाट स्थानीय प्रशासनलाई निर्देशन भैसकेको प्रवक्ता ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment