Comments Add Comment

सुदूरपश्चिममा आज वल्के चाड मनाइँदै

१ भदौ, धनगढी । सुदूरपश्चिमाञ्चलमा परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ ।

हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाडमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ ।

यसैगरी विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्का लगायतका स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ । भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्सादको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ ।

सदियौँदेखि मानाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको डोटी निरौली गाविसका लेखराज ओझाले बताए ।

फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । खासगरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा यो चाड हर्षोल्लासपूर्वक मनाइने गरेको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा सदियौंदेखि मानाइँदै आएका कतिपय ऐतिहासिक र मौलिक चाड बिस्तारै हराउन थालेको भए पनि यस्ता चाडपर्वको संरक्षणका लागि कतैबाट पहल नभएको ज्योतिष मनिराज जोशी बताउनुहुन्छ । नेपाली सञ्चारमाध्यमले पनि स्थानीय चाडपर्वको महत्व र ऐतिहासिकतालाई उचित स्थान नदिएको कारण पनि मौलिक चाड पर्व हराउनमा मद्दत पुगिरहेको जोशीको गुनासो छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment