Comments Add Comment

बाढीपहिरो प्रभावित क्षेत्रमा नेताहरुको लर्को

BhotekoshiFlood  (7)

२ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरेमा गएको पहिरो तथा देशैभरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न केही दिनदेखि नेताहरुको लर्को लागेको छ । जुरेमा पहिरो गई ठूलो धनजनको क्षति भए पनि नेताहरु भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा मात्रै केन्दि्रत भएको भन्दै नेताहरुको सवर्त्र आलोचना भएको थियो ।

मोदी फर्किएको एक सातापछि बाढीपहिरोले देशैभर प्रभावित पारेपछि नेताहरु वाढीपहिरोको अवलोकन गर्न तँछाड मछाड गर्न थालेका छन् । पहिरो गएको दुई सातापछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सिन्धुपाल्चोक पहिरो हेर्न गएका थिए ।

प्रचण्ड पहिरोस्थलमा पुगेकै दिन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरे । प्रचण्डले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरे पनि नेपालले भने सो क्षेत्रको हवाइ अवलोकनमात्रै गर्न भ्याए ।

नेपालको टोलीद्वारा मधेसको स्थलगत भ्रमण
राजधानीसँगैको जिल्ला सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो तथा देशैभर प्रभावित क्षेत्रको निरीक्षण गरी पूर्वप्रधानमन्त्री तथा एमाले नेता नेपालको टोली काठमाडौं फर्किएको हो । नेपालको टोलीले जुरेको पहिरोसँगै मध्य र पूर्वी तराई क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

टोलीमा सिँचाईमन्त्री एनपी साउद, नेपाली कांग्रेसका सचेतक आनन्दप्रसाद ढुंगाना, एमाओवादीका सचेतक गिरिराजमणी पोखरेललगायत सहभागी थिए । टोली शनिबार बिहान ११ बजे बाढी र पहिरो पीडितको अवस्था बुझ्न काठमाडौंबाट निस्किएको थियो । सो टोलीले रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, मोरङ, सुनसरी तथा उदयपुर जिल्लाका प्रमुख नदीहरुमा आएको वाढीको हवाई निरीक्षण गर्नुका साथै सो क्षेत्रमा भएको धनजनको क्षति, उद्धार तथा राहतका लागि भएका प्रयास तथा सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारेमा स्थानीय अधिकारी तथा राजनीतिक दलहरुसँग छलफल समेत गरेको थियो ।

शनिबार सर्लाहीको बाढीको अवलोकन गरी रौतहटको गौर पुगेको टोलीले नगरपालिकाको हलमा सरकारी अधिकारीसहितको उपस्थितिमा बाढीको प्रभावकाबारेमा छलफल गरी पीडितलाई चाँडो राहत प्रदान गर्न निर्देशन दिएको थियो ।

त्यस्तै एमाले नेता नेपाल नेतृत्वको टोलीले अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातुखोलामा भासिएको पुलको निरीक्षण गरी चाँडो बाटो खुलाउने पहल गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

टोलीले आइतवार टोलीले विराटनगर हुँदै मोरङ्ग, सुनसरी, उदयपुर, गाईघाट, बेल्टार र कटारी क्षेत्रको बाढी अवलोकन गरेको थियो । कटारीबाट काठमाडौँ फर्किने क्रममा उक्त टोलीले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र त्यसबाट बनेको तालको हवाइ अवलोकन गरेको हो ।

काठमाडौं र्फकेलगत्तै उक्त प्रतिनिधिमण्डलका नेता माधवकुमार नेपालले टोलीको तर्फबाट संसदलाई जानकारी गराउने छन् । प्राकृतिक विपत्तिलाई रोक्नका लागि यस प्रकारको प्राकृतिक विपत्ति आउन सक्ने जिल्लाहरु छुट्टाएर ती स्थानमा विपत व्यवस्थापन कार्यालय राख्नुपर्ने नेता नेपालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment