Comments Add Comment

निगुरो खोजेर पढाई खर्च जुटाउँछन् विद्यार्थी

४ भदौ, सुनसरी । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै मध्य तथा उत्तरी मोरङका सयाँै बालबालिकाले दैनिक निगुरोको साग बेचेर पढाइ खर्च जोहो गरिरहेका छन् ।
उनीहरू बिहानै जङ्गल जान्छन् र डेकाभरि निगुरो पारेर घर ल्याउँछन् र कक्षा नचलेका समयमा लेटाङ, कानेपोखरी लगायतका बजारमा बिक्रीका लागि लैजान्छन् ।
उत्तरी मोरङको कानेपोखरीदेखि लेटाङसम्मको ११ किलोमिटरको दूरीमा पर्ने चारकोसे जङ्गल क्षेत्रमा पाइने निगुरो टिप्नका लागि सयौँ बालबालिका एकाबिहानै जङ्गलमा पाइने निगुरोको साग टिपिरहेको भेटिन्छन् ।
गरिब तथा विपन्न समुदायका बालबालिका हरेक दिन बिहान ५ देखि ९ बजेसम्म चारकोसे जङ्गलमा त्यसरी निगुरोको साग टिप्ने खोजीमा प्रतिस्पर्धा गरिरहेको फेला पर्ने गरेको पाइन्छ ।
त्यस क्षेत्रको जङ्गलमा पर्याप्त मात्रामा निगुरोको साग पाइने गरेको छ । निगुरोको साग बेचेर दैनिक २ सयदेखि ४ सयसम्म आम्दानी गर्ने गरेको कानेपोखरीका १७ वर्षका दीपेन राइले बताएका छन् ।
उनले भने लगानी गर्नु नपर्ने केवल समय लगाएर मिहेनतका साथ निगुरोको साग खोजेर टिप्नु र त्यसलाई बिक्री गरी आएको आम्दानीबाटै मेरो पढाइ खर्चसँगै घरमा समेत आर्थिक सहयोग पुर्‍याएको छु ।
पौस्टिक रूपमा समेत राम्रो मानिने निगुरोको सागको बजारसमेत राम्रो भएकाले बालबालिका निगुरो साग टिप्नका लागि उत्साहित भएको जिल्ला कृषि कार्यालय मोरङले जानकारी दिएको छ ।
नियमित रूपमा त्यस क्षेत्रमा सयभन्दा बढी बालबालिकाले निगुरो साग टिप्ने गरेको कृषि कार्यालयले जानकारी दिएको छ । प्रतिमुठा पाँच रुपैयाँमा त्यस क्षेत्रमा बालबालिकाले बेचे पनि व्यापारीले मोरङको विराटचौक, पथरी सुनसरीको इटहरी, धरानलगायतको बजारमा पुर्‍याएर प्रतिमुठा २० रुपैयाँसम्ममा बेच्ने गरेको पाइन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment