Comments Add Comment

पोरुवा खोलाले बगाएर अमेरिकन नागरिक बेपत्ता

आरपी सुवेदी

५ भदौ, नेपालगन्ज । पुर्व-पश्चिम राजमार्गको कोहलपुर-कुुसुम सडक खण्डस्थित समशेरगञ्जमा बिहीबार बिहान पोरुवा खोलाले बगाएर एक अमेरिकन नागरिक बेपत्ता भएका छन् ।

बुधबार बेलुका काठमाडौंबाट धनगढी हिँडेका अमेरिकाको भर्जिनिया निवासी जोसेफ इडवार्ड हृवीलेरलाई बिहीबार विहान पोरुवा खोलाले बगाएको हो । केही दिनअघि आएको बाढीले सशस्त्र प्रहरीको बागेश्वरी गण नजिकै रहेको पोरुवा खोलाका पूल बाढीले बगाएको थियो ।

बाढीले पूल बगाएपछि पूर्वबाट जाने र पश्चिमबाट आउने बसले खोला वारी पारी यात्रु झार्ने गरेका छन् । ५०६०७०१५५ राहदानी नम्बर भएका अमेरिकन नागरिक जोसेफ पनि काठमाडौंबाट गएको ना५ख१८१८ नम्बरको बसबाट पोरुवा वारी ओर्लेर पारीको अर्को बसमा चढ्न खोलामा पस्दा उनलाई बगाएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पी जनक शाहीले बताए । उनको खोजीकार्य तीब्र पारिएको डिएस्पी शाहीले बताए ।

बाढीले पोरुवा खोलामा रहेको २५ मिटर लामो पक्की पूल बगाएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा प्रभावित हुँदै आएको छ ।  पूल नहुँदा यात्रुले बसबाट झरेर जोखिम मोल्दै खोला तर्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment