+
+

परराष्ट्रमन्त्री पाण्डेका पछाडि प्रधानमन्त्रीका सुराकी ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते १६:०९

८ भदौ काठमाडौं । ६ जना राजदूतको नाम गोजीमा बोकेर हिँडेको दुई महिना पुग्न लाग्दा पनि प्रधानमन्त्री सुशील कोइरालाले राजदूत नियुक्तिमा चासो नदिएको भन्दै परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे असन्तुष्ट छन् ।

पाण्डेले एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो असन्तुष्टि राख्दै प्रधानमन्त्रीबाट काम गर्ने वातावरण नबनेको गुनासो गरेका हुन् । पाण्डेले आफूलाई काम गर्ने वातावरण बनाउन वा सरकारबाट फिर्ता गराउन आग्रहसमेत गरेको एमाले स्रोतले जनाएको छ ।

mahendra-pandey‘प्रधानमन्त्रीलाई पटक-पटक भनेँ, तर उनले त मेरो पछाडि कांग्रेसका एक दुईजना मन्त्री पो सुराकी खटाएछन्’ पाण्डेको भनाइ उधृत गर्दै ओलीनिकट स्रोतले भन्यो ।

प्रधानमन्त्री कार्यालय स्रोतले भने परराष्ट्रमन्त्रीका पछाडि सुराकी खटाइएको नभएर कांग्रेसका मन्त्रीहरुलाई बुझ्नमात्रै लगाइएको बतायो ।
ओलीले यसबारे प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ । राजदूत नियुक्ति बारे कांगे्रस एमालेबीच आजै वार्ता हुने एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

नेपालसँग कुटनीतिक सम्बन्ध रहेका ३२ मध्ये १४ देशमा राजदूत खाली छन् । तीमध्ये ६ देशमा परराष्ट्र मन्त्रालयका सहसचिवमध्येबाट राजदूत नियुक्तिको सबै तयारी आफूले पूरा गरिसकेको पाण्डेले बताएका छन् ।

राजदूत नियुक्ति आफ्नो कारण नरोकिएको प्रष्ट पार्दै पाण्डेले अनलाइनखबरसँग भने-‘मलाई होइन प्रधानमन्त्रीलाई सोध्नुस् ।’
पाण्डेले परराष्ट्रका बरिष्ठतम ६ सहसचिव अर्जुनकान्त मैनाली, अम्बिका लुइँटेल, खगनाथ अधिकारी, अमृत राई, कालीप्रसाद पोखरेल र दीपक धिताललाई राजदूत बनाउन प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

तीन जनाको नाममा परराष्ट्रभित्र खासै विवाद नभए पनि प्रधानमन्त्रीले सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई ‘बुझ्न लगाएको’ स्रोतले जनाएको छ । आफूलाई अविश्वास गरेपछि परराष्ट्रमन्त्री असन्तुष्ट बनेका हुन् ।

उनले अन्य राजनीतिक नियुक्तिबाट आउने ८ राजदूतका बारेमा पनि कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई चाँडो नाम दिन आग्रह गरेका छन् । राजदूत हुने व्यक्तिको न्युनतम मापदण्ड समेत मन्त्रालयले तयार पारिसकेको छ । तर, मापदण्डमा छलफल गर्न पनि दलहरुले चासो नदिएको पाण्डेको गुनासो छ ।

पाण्डे र प्रधानमन्त्रीबीच शुरुदेखि नै न्यानो सम्बन्ध हुन सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा जाँदा परराष्ट्र मन्त्रालयलाई पन्छाएर कोइरालाले भौतिक योजना मन्त्री विमलेन्द्र निधी र कोइराला परिवारका सदस्यहरुलाई लगेपछि पाण्डेले असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्रीले त्यसपछि चीन जाँदा पनि परराष्ट्र मन्त्रीलाई साथमा नलगेपछि पाण्डे थप रुष्ट बनेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?