Comments Add Comment

किताव र पोशाक बाढीले लगेपछि दाङका विद्यार्थीले पढ्न पाएनन्

Dang studentनिमुसंगम घर्ती
८ भदौ, दाङ । दाङको डुरुवा-९ चौपर्‍यका कृष्णबहादुर वली यतिबेला विलखबन्दमा परेका छन् । बबई नदीमा उर्लेको बाढी गाउँ पसेर उनका किताब, कापी, कलम र पोशाक सबै बगाएपछि उनी विद्यालय जान सकेका छैनन् ।
बबईको बाढीले घरसँगै शैक्षिक सामग्री बगाएपछि उनीसँग जिउका एकसरो कपडा बाहेक केही छैन । बालमितेरी उच्च मावि भोजपुर डुरुवाका विद्यार्थी उनीजस्तै २९ जना र अर्को स्कुलका १३ बालबालिकाको शैक्षिक सामाग्री बबईले निल्यो ।
बाढी पीडितका लागि सरकार र गैरसरकारी संस्थाले खाद्यान्न, नगद र लत्ताकपडा वितरण गरिरहेको छ । तर, विद्यार्थीलाई कपी कलम उपलब्ध नगराउँदा उनीहरु विद्यालय जान सकेका छैनन् । बाढीले घर बगाएपछि पालमुनि बसिरहेका कृष्ण अहिले भविष्यको पिरलोमा छन् ।
बाढी पहिराले दाङका ३१ वटा विद्यालय प्रभावित भएको शिक्षा कार्यालय दाङले जनाएको छ । जसमा २ वटा बाढीले बगाएको छ भने ४ वटामा आंशिक क्षति पुगेको जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले बताए ।
बाढीबाट क्षति भएका ६ विद्यालयका एक हजार ९ सय ४७  विद्यार्थीले पढ्न पाएका छैनन् । उनीहरुसँग न त कितावै छ न विद्यालय पोशक नै । घरबास बाढीले बगाएपछि दुई वटा विद्यालयमा बाढी पीडितले आश्रय लिएका छन् । बाढीवाट भत्केका विद्यालय पुनःनिर्माण र मर्मतका लागि शिक्षा कार्यालयसँग स्रोत साधनको अभाव छ ।
क्षतिको विवरण संकलन गरेर बजेट र शैक्षिक सामाग्री मगाउन शिक्षा विभागमा पठाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अन्य गैरसरकारी संस्थाहरुसँग पनि सहयोग मागिएको शिक्षा अधिकारी अर्यालले बताए । ‘टेन्ट टाँगेर भएपनि पढाई सुचारु गर्ने योजना छ’, जिशिअ अर्यालले भने, ‘त्यसका लागि युनिसेफले नेपालगञ्जबाट सहयोग लिने कुरा भइरहेको छ ।’
यसैविच बाढी पीडित विद्यार्थीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका वरिष्ठ कन्सलटेन्स सर्जन डा. जनार्दन पन्थीले २१ हजार रुपैयाँको शैक्षिक सामाग्री प्रदान गरेका छन् । भोजपुर उच्च माविका ४० जना विद्यार्थीका लागि ५ सय ४९ रुपैयाँका दरले २१ हजार ९ सय ६० रुपैयाँको शैक्षिक सामागि्र प्रदान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment