Comments Add Comment

प्रचण्ड बाबुराममाथि सौता हाल्न चाहन्छन् : कांग्रेस -एमाले

८ भदौ, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले उच्चस्तरीय राजनीतिक समिति गठन गरेर एमाओवादी अध्यक्ष प्रचण्डले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईमाथि सौता हाल्न खोजेको आरोप लगाएका छन् ।

संविधानसभाभित्रै संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति भएकाले संविधानसभा बाहिर अर्को उच्च स्तरीय समितिको आवाश्यकता नभएको दुई दलको भनाइ छ ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अनावाश्यक बखेडा झिकेर संविधान निर्माणमा अवरोध नगर्न एमाओवादीलाई चेतावनी दिए । उनले भने-‘फेरि पनि उच्चस्तरीय समिति बनाउने हो भने संविधान निमार्णको कामलाई प्रभावित पार्नु भन्दा अरु केही हुँदैन् । त्यसैले यस्तो गल्ती नगरौं ।’

कांग्रेस तोकिएकै मितिमा संविधान जारी गर्न लागिपरेको भन्दै उनले कसैलाई पनि शंका नगर्न आग्रह गरेका छन् । ‘कार्यतालिका अनुसार काम भइरहेको छ । प्रधानमन्त्रीले सवै दलका नेताहरुसँग छलफल गरिरहनुभएको छ’-श्रेष्ठले भने ।

कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञवालीले माओवादीले माग गरेको उच्चस्तरीय राजनीतिक समितिको औचित्य नरहेको बतँए । समिति बनाउँदा प्रचण्डको व्यक्तिगत मनशाय पूरा गर्नु शिवाय अरु केही पनि नहुने भन्दै उनले भने-‘संविधानसभाभित्रै वैधानिक एवम् शक्तिशाली समिति हुँदाहुँदै फेरि अर्को समिति बनाउने कुरा कुनै हालतमा सान्दर्भिक छैन ।’

एमाओवादी नेता भट्टराईले सम्वाद समितिको नेतृत्व गरिरहेका वेला प्रचण्डले संविधान बाहिर अर्को उच्चस्तरीय राजनीतिक समिति बनाएर नेतृत्व गर्न खोज्नु भनेको बाबुराममाथि सौता हाल्ने प्रयास भएको उनको भनाइ छ ।

कार्यक्रममा एमाओवादी नेता अग्नि सापकोटालेे चारबुँदे सहमति कार्यन्वयन नभए कांग्रेस-एमालेसँग वार्ताको टेबलमै नबस्ने चेतावनी दिए । सहमति कार्यन्वयन नगरेर कांग्रेस र एमालेले संविधान नबनाउने बखेडा झिकेको उनको आरोप छ ।

नयाँ जनादेश पाएपछि कांग्रेस र एमाले पछाडी फर्केको आरोप लगाउँदै सापकोटाले भने-‘सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउने जस्ता कुराहरुमा पनि कांग्रेस-एमालेले आलटाल गरिहरेका छन् । अनि कहाँबाट माघ गतेभित्रै संविधान जारी हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment