Comments Add Comment

म्युजिक भिडियोमा किन नाच्छन् फिल्मी कलाकार ?

विजय आवाज

९ भदौ, काठमाडौं । एक सयदेखि चार सय रुपैयाँसम्म खर्च गरेर दर्शकहरु ठूलो पर्दामा सिनेमा हेर्न पुग्छन् । तर, टेलिभिजन र यूट्यूबको विस्तारसँगै म्यूजिक भिडियोमा लगानी गर्ने प्रचलन बढ्दै गएको छ । यो क्रमसँगै भिडियोमा अभिनय गर्ने कलाकारको लहरमा चलचित्रका नायक-नायिकासमेत देखिन थालेका छन् ।

नायिका अनु शाहले १५ वटा सिनेमा खेल्दा ५० वटा भिडियोमा अभिनय गरिसकेकी छिन् । उनलाई लाग्छ, भिडियो नखेल्ने हो भने फिल्मी कलाकारको दैनिकी चलाउन साह्रै गाह्रो हुन्छ ।

Ashisma-anu-and-benisha

चलचित्रको पर्दामा देखिने नायिकाले भिडियोबाट राम्रै आम्दानी गरेका छन् । ७ वटा सिनेमा खेलेकी नायिका अशिष्मा नकर्मीले ३५ वटा भिडियोमा अभिनय गरिसकेकी छिन् ।

उनको वुझाइमा भिडियो खेलेर नै उनलाई दर्शकले चिनेका हुन् । दैनिकी चलाउनका लागि, खर्च टार्नका लागि भिडियो गर्नेहरु बढेको उनको बुझाइ छ ।

चारवटा फिल्म खेल्दा नायिका बेनिशा हमालले १ सय २० वटा भिडियो खेलिसकेकी छिन् । राम्रो रकम आएर नै भिडियो खेलेको उनको बुझाइ छ ।

नायक जीवन लुइँटेल पनि भिडियोमा अभिनय गर्दा एकैदिनमा राम्रो रकम आउने भएकाले अभिनय गरेको बताउँछन् । उनी भिडियो खेल्दा रमाइलो अनुभव पनि हुने बताउँछन् ।

भिडियो नै नखेल्ने हो भने कलाकारहरुले आफूहरुको दैनिकी चलाउन नै नसकिने बताउँछन् ।

मुख्य कारण पैसा ?

सिनेमामा देखिएका कलाकारहरुले मुख्यतः भिडियोमा अर्थोपार्जनकै लागि अभियन गरेको देखिन्छ । २५ हजारदेखि २ लाखसम्म सिनेमा खेलेवापत पारिश्रमिक लिने कलाकार पनि नेपाली सिने बजारमा नभएका होइनन् । तर, वर्षमा २ वटा सिनेमा खेलेर न त जीवीकोपार्जन गर्न सकिन्छ, न त सेलिब्रेटी बनेर हिँड्न सकिन्छ । यसैले पनि कलाकारहरुमा भिडियो मोह बढेको देखिन्छ ।

भिडियोमा कसको पारिश्रमिक कति ?

भिडियोमा अभिनय गर्ने कलाकारहरुको पारिश्रमिक सोचेजस्तै छ । कारण, उनीहरु भिडियोमा आफ्नो स्थान र स्टारडम नै ख्याल नगरी काम गरिरहेका छन् ।

भिडियोमा काम गर्ने कलाकारहरुमा राजेश हमाल, करिश्मा मानन्धर, जीवन लुइँटेल, आर्यन सिग्देल र केकी अधिकारी महंगा मानिन्छन् । उसो त केकीबाहेक उल्लेखित अन्य कलाकारले निरन्तर भिडियो भने खेलेका छैनन् ।

Karishma

नायक राजेश हमालले भिडियोमा काम गरेवापत १ लाखसम्म लिएका छन् । आर्यन सिग्देल, जीवन लुइँटेलजस्ता अहिलेका चल्तीका हिरोहरुले ६० हजारसम्म पारिश्रमिक लिएको निर्देशकहरु बताउँछन् । नायक लुइँटेलले आफूले थोरै भिडियो गरेको र केहीमा ६० हजारसम्म पारिश्रमिक पाएको खुलाए ।

नायिका केकी अधिकारी ४० हजारको हारहारीमा भिडियोका लागि पारिश्रमिक लिन्छिन् । निरन्तर भिडियोमा अभिनय गरेका कारण पनि उनलाई मोडल र नायिका भनेर छुट्टयाउन दर्शकलाई गाह्रो भएको छ ।

सिनेमा र भिडियोमा बग्रेल्ती खेल्ने नायिका पि्रयंका कार्की पनि हुन् । कार्कीले २० देखि ३० हजारको हारहारीमा भिडियोका लागि पारिश्रमिक लिन्छिन् । ‘भिडियोमा अधिकांश हिरोइन र हिरोको पारिश्रमिक १० देखि २० हजारको वीचमै हुन्छ’ एक भिडियो निर्देशकले नाम उल्लेख नगर्ने शर्तमा भने ।

कस्तो छ म्यूजिक भिडियोको अवस्था ?

जो पनि निर्देशक, जो पनि मोडल बन्दा यतिबेला नेपाली म्यूजिक भिडियोको अवस्था ओरालो लागेको छ ।

चार वर्ष अघिसम्म अगाडि रहेको नेपालको म्युजिक भिडियोको अवस्था अहिले ओरालो लागेको बताउँदै चर्चित म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेल भन्छन्- ‘चार वर्षयता हामी ओरालो लागेका छौं । दक्षिण एसियामा नै दोस्रो स्थानमा रहेको हाम्रो स्थान अहिले टप टेनमा पनि छैन ।’

प्रशन्नका अनुसार, भारतबाट नेपालमा भिडियो निर्माणका लागि लगानी बढ्ने सम्भावना बढेको थियो, तर अहिले एकाएक गिरावट आएको छ । ‘एउटा भिडियोको निर्माणमा १० लाखसम्म लाग्ने अवस्था आउँथ्यो, तर अहिले यो छैन भन्दा पनि हुन्छ,’ प्रशन्नले भने ।

विशेष गरी राम्रो छायांकार र सम्पादक नलिई हचुवाको भरमा भिडियो निर्देशन गर्दा यस्तो अवस्था आएको हो । पैसा लगानी गर्ने मोडल र गीत गाउनेहरुले समेत भिडियो निर्देशक बन्न खोज्दा गुणस्तर घट्दै गएको छ ।

म्युजिक भिडियो कहिल्यै खेल्दिँन : रेखा थापा

rekha-thapa-laughingचल्तीका नायिकाहरुको समेत भिडियोमा मोह बढ्दै जाँदा नायिका रेखा थापाले भने आजसम्म यसमा काम गरेकी छैनन् । भिडियोमा राम्रो रकम आउने बुझ्दा बुझ्दै पनि उनले अन्य नायिकाले जसरी काम गरिनन् ।

रेखा भन्छिन्-‘म यसमा सहज महुसस गर्दिँन । म नायिका हो या मोडल, मैले बुझ्नु पर्ने कुरा हो ।’
टेलिभिजनमा एउटा नायिकाको गीत बज्दा सिनेमाको हो या भिडियोको, दर्शक दोधारमा छन् । यस्तो अवस्था आउनुमा चल्तीका नायिकाले जथाभावी भिडियो खेल्नु रहेको रेखाको तर्क छ ।

रेखा भन्छिन्- ‘पैसा भन्दा ठूलो स्थान हो । दर्शकले हामीलाई टीभीमा नै देख्ने हो भने किन टिकट काटेर हलमा जाने ? आफ्नो स्टारडम आफैं बनाउन सक्नुपर्छ ।’

तर, नायिका थापाले पैसाका लागि नेपाली नायक तथा नायिकाहरुले भिडियोमा अभिनय गरेको कुरालाई भने अस्वीकार गरिन् ।

उनले भनिन्- ‘यहाँ पैसाको अभाव भएका कलाकार कोही छन् जस्तो मलाई लाग्दैन । सबै नायक-नायिका दुई छाक खाना खाएर राम्रैसँग हिँडेका छन् । टीभीमा अनुहार देखाउने लोभ त्याग्नुपर्‍यो ।’

रेखाले अनलाइनखबरसँग भनिन्- ‘हामीले नायिका भनेर जुन स्थान पाएका छांै, त्यसका लागि केही त्याग त गर्न सक्नुपर्‍यो नि । लोक दोहोरीमा सुहाएकालाई नै त्यसमा अभिनय गर्न दिँदा राम्रो हुन्छ ।’

नायिका रेखाको विचारमा हिरोइनले म्युजिक भिडियोमा खेल्नु राम्रो होइन । उनले आफूले सिनेमा बाहेक अरु कुनैमा पनि अभिनय नगर्ने बताइन् ।

उनले राजेश हमाल, करिश्मा मानन्धर जस्ता कलाकारले भिडियो खेल्दा आफूलाई दुःख लागेको बताइन् ।

पैसाबाहेक भिडियो खेल्ने कारण के हो ?

नायक जीवन लुइँटेल भन्छन्-‘सिनेमामा नाममात्र सुनेका दर्शकले पर्दामा हेर्दा फलानो भनेको यही रै’छ भनेर चिन्छन् । यसैले अनुहारको सिग्नेचरका लागि म भिडियो खेल्छु ।’ लुइँटेलका अनुसार कहिलेकाँही गीत राम्रो लागेकाले पनि भिडियो खेल्ने इच्छा हुन्छ ।

धेरै प्रेसर नहुने हुँदा पनि भिडियोमा काम गर्न मन लाग्ने तर्क नायिका अनु शाहको छ । महिनामा ४ वटा भिडियो गर्दा विभिन्न भूमिका देखाउन सकिने भएकाले अनुले आफ्नो चाहना बढेको बताइन् ।

सिनेमाभन्दा भिडियोले कलाकारलाई चिनाउने अर्की मोडल तथा नायिका अशिष्मा नकर्मीको तर्क छ । भिडियो हप्तैपिच्छे टेलिभिजनमा आउँछ, तर सिनेमा आउन १ वर्ष लाग्ने भएकाले यसमा काम गरेको नायिका अशिष्मा नकर्मी बताउँछिन् ।

त्यस्तै स्टारडम बनाउन भिडियोले साथ दिने तर्क नायिका बेनिशा हमालको छ । नेपाली सिनेमाको पर्दामा देखिने अधिकांश नायक तथा नायिकाहरुले भिडियोमा अभिनय गरेका छन् । तर, हप्तैपिच्छे नयाँ नयाँ भिडियोमा खेल्दा धेरै नायक तथा नायिकालाई दर्शकले मोडल र कलाकार कुन हुन् भनेर छुट्टयाउन सकेका छैनन् ।

स्टार बन्नका लागि धेरै कुराहरुमा उनीहरुले ध्यान दिनुपर्ने हो । तर, अश्लील, छाडा र दर्शकले नै छि भन्ने गीतमा समेत नेपाली सिनेमाका नायक-नायिकाहरुले काम गरेका छन् ।

आर्थिक गुजाराको अभाव पूर्ति गर्ने र दर्शकसँग चाडै नै साक्षात्कार गर्न पाइने भएकाले भिडियोबाट फाइदा त होला । तर, भिडियो खेल्दा, सो-पिस, छाडा गीत र गुणस्तरहीन गीतमा काम गर्दा नायक-नायिकाहरुले एकपटक सोच्ने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment