पुष्प दुलाल
९ भदौ, काठमाडौं । नेपालमा लगानी बढाउन चीन र भारतको होडबाजी हुन थालेको छ । यी दुई छिमेकी देशले एक वर्षमा झन्डै तेब्बर बढी लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
चीनको लगानी प्रतिवद्धता
सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/०७१ मा चीनले १ सय १९ आयोजनामा ७ अर्ब ३१ करोड ४ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यी आयोजना सञ्चालनमा आउँदा ४ हजार ६ सय १८ जनाले रोजगारी पाउनेछन् ।
अघिल्लो वर्ष चीनले ९७ आयोजना प्रस्तावमा २ अर्ब ७७ करोड २ लाख रुपैयाँ लगानीको प्रतिवद्धता गरेको थियो ।
भारतको प्रतिवद्धता
पछिल्लो आर्थिक वर्ष भारतले २२ आयोजनामा ६ अर्ब ५४ करोड एक लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेको छ । प्रस्तावित परियोजना बन्दा २१ सय ८ जनाले रोजगारी पाउने छन् ।
अघिल्लो वर्ष भारतले ४१ आयोजनामा २ अर्ब ८० करोड ९ लाख रुपैयाँ लगानीको प्रतिवद्धता गरेको थियो ।
अन्य देशको लगानी प्रतिवद्धता
चीन र भारतपछि नेपालमा लगानीको धेरै प्रतिवद्धता दक्षिण कोरियाले गरेको छ । त्यसबाहेक अन्य देशको प्रतिवद्धता खासै बढ्न सकेकेा छैन । कोरियाले गत वर्ष २ अर्ब ३ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ । अघिल्लो वर्ष कोरियाले २६ करोड ४ लाख रुपैयाँ लगानीको प्रतिवद्धता गरेको थियो ।
नेपालमा लगानीको प्रतिवद्धता जनाउनेमा चौथो स्थानमा अमेरिका छ भने पाँचौं स्थानमा जापान छ । अमेरिकाले गन वर्ष ५३ करोड ६ लाख रुपैयाँ लगानीको प्रतिवद्धता गरेको छ । अघिल्लो वर्ष ३८ करोड रुपैयाँ प्रतिवद्धता गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष जापानको लगानीको प्रतिवद्धता २ करोड रुपैयाँले मात्रै बढी देखिएको छ । अघिल्लो वर्ष ३० करोड १ लाख रुपैयाँ रहेको जापानको लगानीको प्रतिवद्धता गत वर्ष ३२ करोड २ लाख रुपैयाँ पुगेको छ ।
नेपालमा लगानीको प्रतिवद्धता गर्ने देशमा बेलायत छैठौं स्थानमा छ । गत वर्ष बेलायतले १४ करोड ९ लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो ।
वैदेशिक लगानीको विश्लेषण
निर्वाचित सरकार गठनसँगै वैदेशिक लगानीको ओइरो लागेको बताइए पनि राष्ट्र बैंकको तथ्यांकमा वैदेशिक लगानीको प्रतिवद्धता खासै बढ्न सकेको देखिँदैन । पुससम्म अत्यन्नै न्यून रहेको वैदेशिक लगानीको प्रतिवद्धता माघयता भने केही बढेको छ ।
आर्थिक वर्ष ०७०/०७१ मा कूल ३ सय ५ आयोजनामा वैदेशिक लगानी २० अर्ब १० करोड ७ लाख रुपैयाँ पुगेको छ । प्रतिवद्धता जनाइएका आयोजनाको निर्माण हुँदा ११ हजार ७ सय ३२ नेपालीले रोजगारीको अवसर पाउने छन् ।
अघिल्लो वर्षको तुलनामा गत वर्षको वैदेशिक लगानीको प्रतिवद्धता ०.९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्ष ३ सय १७ आयोजनामा १९ अर्ब ९३ करोड ६ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता आएको थियो । ती आयोजना निर्माण हुँदा १६ हजार ५ सय ६९ जनाले रोजगार पाउने प्रस्ताव थियो ।
लगानीको प्रतिवद्धता मात्रै आउने तर कार्यान्वयन नहुने समस्याले यथार्थमा लगानी भित्रिन नसक्नु चुनौती बन्दै गएको छ ।
आर्थिक वर्ष ०७०/०७१ को वैदेशिक लगानीको प्रतिवद्धता
देश | आयोजना (संख्यामा) | लगानी प्रतिवद्धता (करोडमा) | रोजगार संख्या |
---|---|---|---|
चीन | ११९ | ७३१.४ | ४६१८ |
भारत | २२ | ६५४.१ | २१०८ |
जापान | १५ | ३२.२ | ३६५ |
दक्षिण कोरिया | २२ | २०३ | ५८१ |
बेलायत | १२ | १४.९ | २८१ |
अमेरिका | २८ | ५३.६ | ८५० |
अन्य | ८७ | ३२१.५ | २९२९ |
कूल | ३०५ | २०१०.७ | ११७३२ |
आर्थिक वर्ष ०६९/०७० को वैदेशिक लगानी प्रतिवद्धता
देश | आयोजना (संख्यामा) | लगानी प्रतिवद्धता (करोडमा) | रोजगार संख्या |
---|---|---|---|
चीन | ९७ | २७७.२ | ४९४३ |
भारत | ४१ | २८०.९ | ३४७१ |
जापान | १२ | ३०.१ | ४५० |
दक्षिण कोरिया | २३ | २६.४ | ८७६ |
बेलायत | १० | ८.२ | ४३० |
अमेरिका | २४ | ३८.० | ८५३ |
अन्य | ११० | १३३२.८ | ५५४६ |
कूल | ३१७ | १९९३६ | १६५६९ |
प्रतिक्रिया 4