Comments Add Comment

नेपालमा गणतन्त्र, साउदीमा दासता !

Sasudi-ma-alapatra-nepali-1

९ भदौ, काठमाडौं । दुईचार पैसा कमाउने आशमा साउदी अरब पुगेर पाँच वर्षपछि नेपाल फर्केका ६ युवा आइतबार दिउँसो काठमाडौंको पुरानो बसपार्कमा भेटिए । नेपालमा गणतन्त्र आए पनि रोजगारीका लागि विदेश जान बाध्य यी युवाले साउदीमा रहँदा दास युगको भन्दा कम सास्ती भोगेनन् ।

दुई-चार लाख कमाउँला भनेर साउदी अरब पुगेका ६ नेपाली युवा पाँच वर्ष रोजगारी गरेर लगभग खाली हात घर फर्किएका छन् । कम्पनीले उनीहरुलाई न काम दियो, न तलब । साउदीमा लामो समय अलपत्र परेका उनीहरुले घर फकिर्नुलाई नै ठूलो जीत ठाने ।

सन् २००९ मा साउदी पुगेका ११ नेपालीले २ वर्ष सम्झौता गरेर मासिक ६ सय तलवमा काम थाले । सुरु सुरुमा समयमै तलब दिएकाले ओभरटाइम नपाए पनि दुःख सुख गरौं जस्तो लागेको तर, पछि दुःख पाउन थालेको उनीहरु बताउँछन् ।

‘कमाउँछु भनेर गएको, तर कसरी नेपाल पुग्ने होला भनेजस्तो भयो । नाङ्गै भए पनि नेपाल कसरी पुग्नु होला भन्ने सोच्थ्यौं’ पाल्पाका हस्तबहादुर सारुले गला अवरुद्ध पार्दै भने-‘अहिले त नेपाल आउनु नै सबैभन्दा ठूलो खुसीको विषय भएको छ ।’

विदा र तलव त माग्नै पाइएन

साउदीबाट दुख पाएर नेपाल फर्केका युवाका अनुसार कम्पनीले पछिल्लो झण्डै ६ महिनाको तलब रोकेर राखेपछि उनीहरुका दुःखका दिन सुरु भएका हुन् ।

‘छुट्टी र तलबको त कुरा गर्नै हुँदैनथ्यो । सात वर्ष नपुगेसम्म घर पठाउँदिन भन्यो’ झापाका मनोज राईले अनलाइनखबरसँग भने । गत जूनमा कम्पनीले बाँकी तलब नदिई कामसमेत लगाउन छाडेपछि उनीहरु सडकमा पुगे ।

Sasudi-ma-alapatra-nepali

मोरङ रंगेलीका मनोज चौधरीले भने- ‘कम्पनीले काम पनि नलगाउने र पैसा पनि नदिएपछि हामी कसैले काम दिए गर्छौं भन्दै सडकमा भौंतारिएर हिँड्यौं । कहीँ भारी बोक्ने काम पाउँथ्यौं, त्यहाँ १०/२० रियल दिन्थ्यो, त्यही पैसाले खाएर बाँचियो ।’

तीन महिनासम्म सडकमा यसैगरी भौंतारिएपछि उनीहरु काठमाडौंस्थित जिफन्ट हुँदै नेपाली दूतावासको सम्पर्कमा पुगे, जसको पहलमा आफूहरु कम्पनीबाट ३ महिनाको तलब लिएर फर्किन सकेको उनीहरु बताउँछन् ।

तलब माग्दा कम्पनीले धेरैलाई पासपोर्ट थमाएर घर पठाएको उनीहरु बताउँछन् । कम्पनीमा रहेका दुई नेपालीसमेत केही समयअघि तलब नै नलिई नेपाल फर्किनु परेको हिक्मत रानाले बताए ।

 नेपालमा पनि के गर्ने ?

Sasudi-ma-alapatra-nepali-2साउदीमा दुःख पाएर स्वदेश आए पनि फेरि विदेश जानुको विकल्प नभएको राई बताउँछन् । ‘यहाँ रोजगार छैन, बसेर मात्र भएन । त्यो ठाउँ त नजाने तर, कतै न कतै नगई भएन’ उनले भने- ‘नेपालमा बसेर केही गर्न सकिन्छजस्तो लाग्न छाड्यो ।’

पाल्पाका हस्तबहादुर सारुलाई भने के गर्ने, के नगर्ने भनेर निर्णय गर्नै कठिन भएको छ ।

छोरालाई पनि विदेश पठाउँदिन

एकै समूहमा नेपाल फर्किएका हिक्मत राना र नन्दबहादुर थापा भने नेपालमै बस्ने योजनामा छन् । ‘म त जान्न नै । छोरा १७ वर्षको भयो, मिलेर केही गर्छु’ स्याङ्जाका थापाले भने- ‘म त छोरा पनि विदेश नजाओस् भन्छु ।’ ५ वर्ष दुःख गर्दा जानेबेला लागेको झण्डै डेढ लाख ऋण तिरेर २/साढे २ लाख बचेको उनले बताए ।
कति कमाउनुभयो त भन्ने प्रश्नमा रानाले भने-‘विदेशमा कमाइ हुन्छ भनेर गएको, आफैं पुगेपछि त्यहाँको दुःख कष्ट थाहा भयो । कमाउनेहरुले त कमाए होलान् तर, मैले सकिँन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment