Comments Add Comment

चार लद्युजलविद्युत निर्माण सुरु, तल्लो मोदीको उत्पादन बन्द

१२ भदौ, म्याग्दी/पर्वत । म्याग्दी जिल्लामा यस वर्ष चारवटा लद्युजलविद्युत परियोजना निर्माण सुरु भएको छ । राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेको दुर्गम र विकट बस्तीमा विद्युत् सुविधा विस्तार गर्ने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत परियोजना निर्माण सुरु भएको हो ।

मल्कवाङ, मुदीको बगर, कुइनेमङ्गले र रुममा सुरु भएको ८४.५ किलोवाट क्षमताको चारवटा लद्युजलविद्युत् परियोजना यसै वर्ष सम्पन्न हुने धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रले जनाएको छ ।

मल्कवाङ १ मा ४२ किलोवाट क्षमताको नन्दीखोला, कुइनेमङ्गले १ मा २० किलोवाटको मजुवा कुइनेखानी, रुम ७ मा ११.५ किलोवाटको छेरवाङ पात्लेखोला र मुदी ९ बगरमा ११ किलोवाटको रातोखोला बगर लद्युजलविद्युत् परियोजना निर्माण सुरु भएको केन्द्रका वरिष्ठ सब इन्जिनियर गङ्गाप्रसाद आचार्यले जानकारी दिए ।

तीन करोड १३ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण हुने ती आयोजनालाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्रतिकिलोवाट एक लाख ९५ हजार रुपैयाँका दरले एक करोड ६४ लाख ७७ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

कुल लागतको १० प्रतिशत सम्बन्धित गाविस र पाँच प्रतिशत जिविसको लगानी रहने आयोजनाका लागि बाँकी नगद तथा श्रमदान उपभोक्ताबाट हुने सब इन्जिनियर आचार्यले बताउनुभयो । आयोजना निर्माण भएपछि मल्कवाङका २१२, रुमका ११०, कुइनेमङ्गलेका १२० र मुदी बगरका ६६ घरधुरी लाभान्वित हुनेछन् ।

परियोजनामार्फत उज्यालोका लागि टुकीमा निर्भरता घट्ने, वन तथा वातावरण संरक्षण हुने र स्थानीयवासीको जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । नन्दीखोला र छेरवाङ पात्लेखोला आयोजनाका लागि उपभोक्ताले नगद सङ्कलन गरी उपकरण खरिदका लागि कम्पनी छनोट गरेर नहर निर्माण थालेका छन् ।

रातोखोला बगर र मजुवा कुइनेखानी आयोजनाका लागि नगद सङ्कलन र उपकरण आपूर्तिकर्ता कम्पनी छनोटको प्रक्रियामा रहेका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा म्याग्दीमा यसअघि निर्माण भइसकेका ३१ व्ाटा लद्युजलविद्युत् परियोजनाबाट ४२० किलोवाट विद्युत् उत्पादन भई करिब पाँच हजार घरधुरी लाभान्वित भएको ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन शाखा म्याग्दीले जनाएको छ ।

तल्लो मोदीको उत्पादन बन्द

पहिरोले नहर थुनिएपछि पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला-१ जलविद्युत् आयोजनाको उत्पादन बुधबार बिहानदेखि बन्द भएको छ ।

कुश्मा नगरपालिका-१२ मा पहिरो गएकाले उत्पादन बन्द भएको हो । तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनामा विद्युत् उत्पादन  बन्द भएको हो ।

निजी क्षेत्रको युनाइटेड मोदी हाडड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत् पातिचौरस्थित सबस्टेसनमा जोडिएको छ । पहिरो नहटाएसम्म उत्पादन कार्य सुरु हुन नसक्ने आयोजनाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment