२० भदौ, काठमाडौं । एचए (स्वास्थ्य सहायक) परीक्षा दिन पाउनुपर्ने माग राख्दै दुर्गम जिल्लाका पाँच विद्यार्थीले सीटीईभीटीको कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन् ।
एक वर्ष अध्ययन गरेर अन्तिम परीक्षाका लागि प्रवेश पत्र लिने बेलामा उनीहरुले परीक्षा दिन नपाउने थाहा पाएका थिए । पीडित विद्यार्थीका अनुसार सीटीईभीटीले लिएको प्रवेश परीक्षाको नतिजामा उनीहरु पास भएका थिए ।
तर, भोलिपल्टै सीटीईभीटीले भूलबस उनीहरु पास भएको भन्दै रिजल्ट सच्यायो, जुन उनीहरुले थाहै पाएनन् । ‘जनरल कोटा भनेर आएपछि हामीले एक वर्ष पढ्यौं’ अनसनमा बसेका लक्ष्मण बीसीले अनलाइनखबरसँग भने-‘अहिले आएर परीक्षा दिन पाएनौं ।’
सीटीईभीटीले भने रिजल्ट सच्याएकोबारे उनीहरुले परीक्षा दिएको लर्ड बुद्ध कलेजमा जानकारी गराएको तर, सञ्चालक रुपा प्रधानले बेवास्ता गरेको बताएको छ ।
अहिले परीक्षा दिन नपाउनेमा रुकुमका लक्ष्मण बीसी, प्रकाश बुढा, मुगुका जयबहादुर साही र प्रेम विक तथा धनगढीका महेश विष्ट छन् ।
आफूहरुले परीक्षा दिन पाउनुपर्ने माग गर्दै सीटीईभीटी पुगेका उनीले बिहीबार राति अबेरसम्म धर्ना दिए । तर, प्रशासनले बल प्रयोग गरेर हटाएपछि शुक्रबार बिहानबाट आमरण अनशन सुरु गरेको बीसीले बताएका छन् ।
प्रतिक्रिया 4