२० भदौ, काठमाडौं । सार्वजनिक सवारी साधन चलाउन अब एसएलसी पास हुनुपर्ने भएको छ । यातायात मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरेको नियमावलीमा सार्वजनिक सवारीको चालक बन्न अनिवार्य दश कक्षा पास भएको हुनुपर्ने उल्लेख गरेको छ ।
नियमावाली संशोधन नभई पारित भएमा पढेको व्यक्तिले मात्र सार्वजनिक सवारी चलाउने अनुमती प्राप्त गर्ने मन्त्रालयका सचिव तुल्सी प्रसाद सिटौलाले बताए । शुक्रबार अटो पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अन्य सवारी चलाउने चालक भन्दा सार्वजनिक सवारी चलाउने चालक दक्ष हुनुपर्ने बताएका हुन् ।
सार्वजनिक सवारी चलाउन ६५ वर्ष ननाघेको र दुई वर्ष अन्य सवारी चलाएको हुनुपर्ने नियमावलीमा राखिएको सचिव सिटौलाले जानकारी दिए । सवारी चालक दक्ष नहुँदा सडक दुर्घटना बढ्न थालेपछि नयाँ व्यवस्था गर्न लागेको उनको भनाई थियो ।
सरकारले यस्तो नियमावली ल्याउन लागेपनि चालकहरुबाट भने विरोधको स्वर आइसको छ । यस्तो व्यवस्था भएमा धेरैको रोजीरोटी गुम्ने भन्दै उनीहरुले विरोध गरेका छन् । विरोधका बाबजुत पनि यस्तो व्यवस्था गर्न मन्त्रालय कस्सिएको सचिव सिटौलाले बताए ।
राजधानीबाट यातायात क्षेत्रको सुधार सुरु गरेको बताउँदै सचिव सिटौलाले छिट्टै भेहिकल फिटनेश टेष्ट सेन्टर सञ्चालनमा ल्याउने जानकारी दिए । अटो व्यवसायीहरुबाट सरकारले भेहिकल टेष्ट गर्न नसकेको आरोप आएपछि उनले सो कुरा बताएका हुन् ।
सचिव सिटौलाले पब्लिक प्राइभेट पार्टनरशीपमा यस्ता सेन्टर देशभर खोलेर इच्छुक व्यक्ति वा संस्थालाई सञ्चालनमा दिने तयारी भइरहेको पनि जानकारी दिए । यूरो थि्र मापदण्ड कार्यान्वन गर्न पनि यस्तो गर्नु जरुरी रहेको छ ।
सरकारले २० वर्ष पुराना गाडीहरु हटाउने निर्णय गरिसकेको हुँदा यस्ता गाडीहरु हटाउने सचिव सिटौलाले दाबी गरेका छन् । सरकारले ४० सिट भन्दा बढी क्षमताका गाडी ल्याउँदा छुट दिने व्यवस्था गरेको हुँदा त्यस्ता गाडीहरु ल्याएर मास ट्रान्सपोर्टेसनमा जान व्यवसायीहरुलाई सुझाव दिएका छन् ।
नेपाल अटोमोबाइल डिलर्स एशोसियशनका अध्यक्ष शेखर गोल्छाले पोलीसी मेकरहरुले अटोमोबाइललाई अनावश्यक वस्तुका रुपमा लिएको गुनासो गरेका छन् । विकासका लागी अटोमोबाइल आवश्यक रहेपनि सरकारलाई बुझाउन नसकेको भन्दै उनले गुनासो गरे ।
अध्यक्ष गोल्छाले देशभर सडक सञ्जाल पुगेपनि बाटोको अवस्था नाजुक रहेको भन्दै सुधारका लागी सरकारलाई आग्रह गरे । जनसंख्याको तुलनामा प्रतिव्यक्ति भेहिकल निकै कम भएको हुँदा भन्सार छुट गरि सवारी आयातलाई सहज बनाउन उनले जोड दिए ।
दुर्घटना कम गर्न कम उमेरका व्यक्तिलाई लाइसेन्स दिन नहुने, न्यूनतम शैक्षिक योग्यता तोकिनुपर्ने, पुराना गाडीको फिटनेश टेष्ट गर्ने, धुवाँको मुस्लो निकाल्ने गाडीलाई विस्थापन गर्ने लगायतका कामहरु गर्न पनि गोल्छाले सरकारलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया 4