Comments Add Comment

टेलिकमका नयाँ एमडी भन्छन- डाटा सेवालाई आक्रामक बनाउँछु

Buddhi-Prasad--Acharya२७ भदौ, काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले आगामी दुई महिनाभित्र डाटा सेवालाई आक्रामक बनाउने बताएका छन् ।
‘बजार प्रतिस्पर्धात्मक छ, अब हामी तुलनात्मक लाभ भएका क्षेत्रहरु खोज्दै अगाडी बढ्नुपर्छ’ प्रबन्ध निर्देशक आचार्यले अनलाइनखबरसँग भने- ‘तत्कालका लागि यसको एउटै विकल्प डाटा सेवा विस्तार हो ।’
एकीकृत बिलिङ प्रणाली लागू गर्न लागेकाले डाटा सेवाको प्याकेज ल्याउन ढिलाई भइरहेको भन्दै आचार्यले बिलिङ सिस्टम अपग्रेड दुई महिनाभित्र सकिने बताए ।
‘नयाँ एकीकृत बिलिङ लागू भएपछि टेलिकमका ग्राहकले धेरैवटा सेवाको एउटै बिल पाउन सक्छन’ आचार्यले भने- ‘त्यो लागू गरेपछि मात्रै डाटा सेवा प्रभावकारी हुने भएकाले ढिलाई भएको हो ।’
डाटा सेवा विस्तार गर्ने नेपाल टेलिकमको संस्थागत रणनीति भएको भन्दै उनले आफ्नो कार्याकालमा त्यसलाई आक्रामक बनाउने योजना बनाइरहेको बताए ।
तुलनात्मक लाभ र ग्राहकको माग पनि डाटामै रहेको भन्दै उनले त्यसका लागि टेलिकम पुरै तयारी अबस्थामा रहेको बताए । ‘हामीले डाटा प्याकेजहरु बनाएर राखेका छौं’ आचार्यले भने- ‘बिलिङ सिष्टम कार्यान्वयनमा आउनासाथा प्याकेजहरु ग्राहकसामु ल्याउँछौं ।’
‘ग्राहकहरुलाई विभिन्न खालका डाटा तथा भ्वाइस प्याकेज दिऔं, ग्राहकले रोजी-रोजी प्याकेज लिएर सेवा उपभोग गर्न पाउन भन्ने हामीलाई पनि छ’ उनले भने- ‘डाटा प्याकेज ल्याउन सकेमा हाम्रो व्यापार समेत बढ्छ ।’
दुई बर्षभित्र गाउँगाउँमा थ्रिजी
डाटा सेवालाई प्राथमिकतामा राखेको टेलिकमले आगामी दुई बर्षभित्र गाउँगाउँमा थि्रजी सेवा पुर्‍याउने लक्ष्य राखेको छ ।
टेलिकमको देशभरीको नेटवर्कमा थि्रजीको सेवा उपलब्ध भएकाले गाउँसम्म थि्रजी सेवा विस्तार गर्न ठूलो समस्या नभएको आचार्यको भनाई छ । साथै, थि्रजी सेवाको क्षमता बढाउने पनि लक्ष्य राखिएको छ ।
अहिले टेलिकमका ४५ लाख भन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन् । यस वर्ष १६ लाख इन्टरनेट प्रयोगकर्ता बढ्ने अपेक्षा टेलिकमले राखेको छ । इन्टरनेट प्रयोगकर्ताको वृद्धि अपेक्षा गरेअनुसार रहेको बताउँदै थि्रजी सेवाले सेवाग्राही बढाएको प्रबन्ध निर्देशक आचार्यले बताए ।
सीडीएमए सेवाको ई-भिडियो पनि पछिल्लो समय लोकपि्रय बन्दै गइरहेको छ । त्यस्तै, उच्च गतिको इन्टरनेट उपलब्ध गराउन टेलिकमले यसै हप्ता फाइबर टु द होम सेवाको सुरुवात गरेको छ ।
मागको आधारमा प्राथमिकता
प्रबन्ध निर्देशक आचार्यले विगतको नेतृत्वले सुरु गरेका कार्यक्रम अगाडी बढाउने बताएका छन् । उनले प्राथमिकताको आधारमा तुलनात्मक लाभ भएका कार्यक्रमलाई तत्कालै र लाभ कम भएका कार्यक्रमलाई विस्तारै कार्यान्वयनमा ल्याउने जानकारी दिए ।
यस अघिको नेतृत्वले अगाडी सारेको आइटी कम्पनी खोल्ने विषयमा अहिले गृहकार्य भइरहेको बताउँदै उनले गृहकार्य पुरा गरेपछि सञ्चालक समितिमार्फत पास गराएर काम अगाडी बढाउने बताए ।
तर, उनले तत्कालै यसलाई प्राथमिकता दिएर काम अगाडी नबढाउने संकेत दिए । ‘नयाँ सफ्टवेयर तथा एप्लीकेशन डेभलप गर्ने निजी क्षेत्रले हो’ उनले भने- ‘हाम्रो आजको प्राथमिकता ग्राहकको चाहन बमोजिमका गुणस्तरी सेवा समयमा दिनु हो ।’
एप्लीकेशन चलाउने भनेको डाटा सेवा लिइसकेपछि मात्र भएको बताउँदै उनले बढी भन्दा बढी ग्राहकमा डाटाको पहुँच पुर्‍याएपछि बल्ल एप्लीकेशन डेभलप गर्दा फाइदा हुने बताए । एप्लिकेशनका लागि आउटसोर्सिङ नै सबैभन्दा सस्तो पर्ने उनको भनाई छ ।

‘नयाँ कम्पनी खोल्दा वित्तिकै कर्मचारी भर्ना गर्नुपर्‍यो, त्यहाँ पनि व्यवस्थापनको आवश्यक पर्छ, अहिले सबैभन्दा ठूलो चुनौति व्यवस्थापन हो । अनि बजार खोज्नुपर्‍यो, त्यसबाट आम्दानी हुन्छ हुँदैन्, यस्तो झन्झटमा लाग्नुभन्दा आउटर्सोसिङमा जाँदा फाइदा हुन्छ’ आचार्यले भने ।
ग्रे कल घटाउने
आफुले अन्तर्राष्ट्रिय व्यापार सुधारलाई पनि प्राथमिकतामा राख्ने बताए । ‘विदेशबाट ग्रे मार्केटमा धेरै कल आउँछ, त्यो कल रोक्ने र विदेशका सेवा प्रदायकसँग प्रत्यक्ष सम्पर्क गरेर डाइरेक्ट कल नेपाल भित्राउने योजनामा छौं’ आचार्यले भने- ‘यसमा हामी आक्रामक भएर लाग्छौं ।’
आफ्नो नियुक्तिलाई लिएर भइरहेको आन्दोलन केही दिनमा शान्त हुने भन्दै आचार्यले आफुले पाएको जिम्मेवारी निष्ठापूर्वक पुरा गर्ने बताए । गैरइन्जिनियरलाई टेलिकमको प्रबन्ध निर्देशक बनाएको भन्दै टेलिकमका इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् भने केही उच्च पदस्थ कर्मचारीले पनि नियुक्तिप्रति असन्तोष जनाउँदै बिदामा बसेका छन् । तर, प्रबन्ध निर्देशक आचार्यले त्यो आक्रोश केही दिनमा शान्त भएर जाने र आफुले पुरै कार्यकाल टेलिकमलाई नेतृत्व गर्ने बिश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment