Comments Add Comment

एलए सार्क पौडीमा बंगलादेशलाई १३ स्वर्ण

२८ भदौ, काठमाडौं । बंगलादेशलले १५ औं एलए अन्तरविद्यालय सार्क आमन्त्रण पौडी प्रतियोगिताको पहिलो दिन शनिबार १३ स्वर्ण जितेको छ । पहिलो दिन २२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी ८ स्वर्ण भारतले कब्जा गर्‍यो ।

हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलको पौडी पाखेरीमा भएको ब्वाइज ११-१२ वर्षको ५० मिटर बटरफ्लाइमा जोसेल मिया, गल्र्स १३-१४ वर्षको ५० मिटर बटरफ्लाइमा सूर्या अख्तर र ब्वाइजमा जहिदुल, गल्र्स १५ वर्षमाथि ५० मिटर बटरफ्लाइमा सोनिया खातुन र ब्वाइजमा महम्मद तितु मिया, १५ वर्षमाथि गल्र्सको २ सय मिटर व्यक्तिगत मिड्लेमा सोनिया खातुन र ब्वाइजमा महम्मद अरिफुल इस्लाम, १३-१४ वर्ष गल्र्सको ५० मिटर ब्रेस्टस्ट्रोकमा सूर्या अख्तर र ब्वाइजमा जहिदुल इस्लाम तथा १५ वर्षमाथि गल्र्सको ५० मिटर ब्रेस्टस्ट्रोकमा सोनिया खातुन र ब्वाइजमा अरिफुल इस्लामले बंगलादेशलाई स्वर्ण दिलाए । बंगलादेशले ४ गुणा ५० मिटर खुला मिड्ले रिलेको ब्वाइज र गल्र्समा पनि स्वर्ण हात पार्न सफल भयो ।

त्यस्तै भारतका लागि १० वर्षमुनि गल्र्सको २५ मिटर ब्रेस्टस्ट्रोकमा अनुब्रत नाथ र ब्वाइजमा अभिज्ञान दत्त, ११-१२ वर्ष गल्र्सको ५० मिटर ब्रेस्टस्ट्रोकमामा राजश्री बोर्गोहाइ र ब्वाइजमा सनिध्या राज, १० वर्षमुनि गल्र्सको २५ मिटर बटरफ्लाइमा आस्था चौधरी, ११-१२ वर्ष गल्र्सको ५० मिटर बटरफ्लाइमा रेनिता गोगोइ तथा ११-१२ वर्ष गल्र्सको १ सय मिटर व्यक्तिगत मिड्लेमा रेनिता गोगाइ र ब्वाइजमा अदित्य रञ्जन बोराहले स्वर्ण हात पारे ।

नेपालका लागि व्यक्तिगत स्पर्धामा लिङकनकी सोफिया शाहले २ रजत, लिङकनकै इस्क्रा अलिकाल्फिकले २ कांस्य, जोन डेवी हाइ स्कुलकी दुआना लामाले १ कांस्य, लिङकनकी निहारिका तुलाधरले १ रजत र १ कांस्य, एलएकी इभा काफ्लेले १ कांस्य, दिक्षान्त एकेडेमीका रोजन दुमी राईले १ रजत, एलएका नेकोन पुर्जाले १ कांस्य, एलएका संरक्षण थापाले १ कांस्य, द बि्रटिस स्कुलकी तेन्जिङ यिगा लामाले २ कांस्य तथा ओसिना भारतीले १ रजत जिते । रिलेको गल्र्समा लिङकन दोश्रो र किस्क तेश्रो भयो भने ब्वाइजमा एलए दोश्रो र किस्क तेश्रो भए ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरे ।

७ एसियाली खेलकुदमा सहभागी हुने एलएका कराते प्रशिक्षक दीपक श्रेष्ठ, क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र मल्ल, टेबलटेनिस प्रशिक्षक शिवसुन्दर गोथे, तेक्वान्दो प्रशिक्षक श्याम डंगोल र एलएकी पूर्व विद्यार्थी जुडो खेलाडी देवी खड्कालाई सम्मान गरिएको थियो । त्यसै अवसरमा १७ औं एसियाडमा सहभागी हुने पौडी खेलाडी शिरीष गुरुङ, मिराज प्रजापति, सोफिया शाह र सोनिरा विष्ट पनि सम्मानित भए ।

दुई दिने प्रतियोगितामा नेपालका ५८, बंगलादेशको १ र भारतका २ गरी जम्मा ६१ विद्यालयका ३ सय ९० खेलाडीले ४२ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment