Comments Add Comment

रत्नजित र सराद्वारा उपाधि रक्षा

२९ भदौ काठमाडौं । डिफेन्डिङ च्याम्पियनद्वय नेपाल आर्मी क्लबका भाइ रत्नजित तामाङ र आर्मीकै दिदी सरादेवी तामाङले चौथो पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपधि आइतबार जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष सिंगल्स फाइनलमा रत्नजित पहिलो संस्करणका विजेता आर्मीकै विकास श्रेष्ठलाई १६-२१, २१-१७ र २१-१८ ले पराजित गर्दै लगातार तेश्रोपटक च्याम्पियन बने । आर्मीका दीपेश धामी र नेपाल प्रहरी क्लबका विजित थापा तेश्रो भए ।

महिला सिंगल्सको उपाधि भिडन्तमा सराले आफ्नै बहिनी र क्लबकी नङसललाई २१-१५ र २१-१३ को सोझो सेटमा हराइन् । यससंगै सरा चारै संस्करणकी विजेता समेत बनिन् । कास्कीकी पुनम गुरुङ र आर्मीकी अमिता गिरीले संयुक्त रुपमा तेश्रो स्थानमा चित्त बुझाए ।

गत तीन संस्करणकी विजेता भएवापत सरालाई प्रतियोगिता आयोजक नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले पुरस्कार वापत स्कुटर प्रदान गर्‍यो ।

पुरुष डबल्समा आर्मीका रत्नजित र राम राईको जोडीले प्रहरीका विष्णु कट्वाल र विजित थापा मगरको जोडीलाई २१-१८, १८-२१ र २१-१८ ले पाखा लगाउँदै पहिलो भए । सोही स्पर्धाको महिलामा आर्मीका सरा र नङसलको जोडीले कास्कीकी पुनम गुरुङ र एपीएफकी शिक्षा श्रेष्ठको जोडीलाई २१-१६, १६-२१ र २१-१६ ले फाइनलमा पाखा लगाए ।

यु-१९ पुरुष सिंगल्समा आर्मीका दिपेश धामीले आर्मीकै नवीन श्रेष्ठलाई २१-११ र २१-१५ ले पन्छ्याउदै स्वर्ण जिते । त्यसै स्पर्धाको महिलामा एपीएफकी शिक्षा श्रेष्ठ च्याम्पियन बनिन् । फाइनलमा शिक्षाले आर्मीकी जेसिका गुरुङको चुनौती २१-१३ र २१-१५ ले समाप्त पारिन् ।

यु-१५ पुरुष सिंगल्सको फाइनलमा आर्मीका रुकेश महर्जनले ललितपुरका साइनिङ महर्जनलाई २३-२१ र २१-१९ ले निराश पारे । उक्त स्पर्धाको गल्र्समा आर्मीकी जेसिका गुरुङले आर्मीकै मेघा चन्दलाई २१-१३, १४-२१ र २१-१८ ले पराजित गर्दै स्वर्ण चुमिन् ।

भेट्रान्स डबल्सको ४५ वर्षमाथि धादिङका विष्णुलाल श्रेष्ठ र राजकुमार श्रेष्ठ तथा ५५ वर्षमाथि एपीएफका पुष्प ताम्राकार र महेश श्रेष्ठको जोडीले शीर्ष स्थान हात पारे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा जम्मा १ सय ८१ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment