Comments Add Comment

नेपालमा लगानी सम्भावनाबारे बेलायती संसदको चासो

Finance-Minister-with-belayati-sansad-toli
बेलायती संसदका सदस्यहरुसँग छलफलमा अर्थमन्त्री महत ।

३० भदौ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले शान्ति प्रक्रिया पुरा हुने क्रमसँगै राजनीतिक स्थायित्व कायम भएकोले नेपालमा लगानी गर्ने अनुकुल समय भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको बेलायती संसदका सदस्यहरुको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन् । छलफलका क्रममा प्रतिनिधिमण्डलका सदस्यहरुले नेपालको राजनीतिक अवस्था, सरकारले लिएको नीति र नेपालमा विदेशी लगानीका बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।

अर्थमन्त्री महतले छिमेकी भारत र चीन ठूला बजारहरु रहेकोले नेपालमा लगानी गरेर विदेशी लगानीकर्ताहरुले प्रशस्त लाभ लिन सक्ने विचार व्यक्त गरेका थिए । उनले लगानीका लागि अनुकूल नीति नियमहरु निर्माण गरी आर्थिक एजेण्डामा केन्दि्रत भएकोले नेपालमा लगानी गर्ने अनुकूल समय आएको जानकारी पनि दिए ।

अहिले राजनीतिक स्थायित्व कायम गरी आर्थिक एजेण्डामा ध्यान केन्दि्रत गर्न थालिएको र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकषिर्त गर्न नयाँ आर्थिक सुधार कार्यक्रम लागु गरिएको अर्थमन्त्री महतले स्पष्ट पारे । छलफलका क्रममा राखिएका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उनले आर्थिक उदारिकरणको नीतिलाई कार्यान्वयन गर्ने क्रममा देखिएका कमी कमजोरीहरुलाई सम्बोधन हुनेगरी करिब ३ दर्जन कानूनहरुमा सुधार गर्ने काम भैरहेको बताए ।

भारतसँग भएको बिद्युत व्यापार सम्झौता, नेपालमा जीएमआर लगायत अन्य कम्पनीहरुले तत्काल गर्न लागेको करिब ३००० मेगावाट क्षमताका बिद्युत आयोजनाहरुको सञ्चालन आदिका कारण नेपालको जलबिद्युतका क्षेत्रमा लगानी गरी लाभ लिन सकिने संभावना पनि उजागर भएको उल्लेख गरे । उनले जलविद्युतका अतिरिक्त पर्यटन र कृषि क्षेत्रमा लगानी गरेर पनि प्रचूर लाभ लिन सकिने सम्भावना रहेको बताए ।

छलफलका क्रममा मण्डलका सदस्यहरुले नेपालमा लगानीका सम्भावना, आर्थिक अवस्था, निर्यात बजार, श्रमको अवस्था, आयोजना सञ्चालनका क्रममा गर्नुपर्ने वातवारणीय प्रभाव मूल्यांकनका मुद्दाहरु, रोजगारीको स्तर जस्ता विषयमा जिज्ञासा राखेका थिए ।

बेलायतका सांसद सर जोन स्टेनलीको नेतृत्वमा  आएको सो प्रमण्डल अहिले नेपालको भ्रमणमा रहेको छ । भटघाटका अवसरमा नेपालका लागि बेलायतका राजदूत एण्ड्यु जेम्स स्पार्कसको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment