३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला अमेरिका जानु अघि व्यवस्थापिका संसद बैठक सुचारु गर्ने प्रयास असफल भएको छ ।
दलहरुबीच सहमति हुन नसकेपछि एमाओवादीसहितका विपक्षी दलहरुले शुक्रबार पनि संसद बैठक अवरुद्ध पारेका छन् । संसद बैठकमा एमाओवादी सभासद जनार्दन शर्माले सदन सुचारु नगरी प्रधानमन्त्री सुशील कोइराला अमेरिका जान नहुने बताए । उनले भने-‘रातभरी बसेर भएपनि सहमति गर्नुपर्छ । अन्यथा मुलुकको बेइजत हुन्छ ।’
लगतै विपक्षी दलका सभासदहरुले उठेर विरोध गरेपछि संसद बैठक अवरुद्ध भएको छ ।
संसद बैठक सुचारु गर्न प्रधानमन्त्री कोइरालाले एमाओवादी, एमाले र मधेसवादी दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री कोइराला विपक्षीको माग बमोजित प्रचण्डको नेतृत्वमा राजनीतिक संयन्त्र बनाउन सकारात्मक भएको बताइएको थियो ।