Comments Add Comment

सास फेर्नु र साहित्य लेख्नु एउटै हो : ध्रुवचन्द्र गौतम

अशोक सिलवाल– पत्रकारिता गर्दाको अनुभव सुनाउँछु । ओपिनियन लिडर अर्थात् जनमत निर्माणकर्ता । प्रत्येक मान्छे ओपिनियन लिडर हुँदैन । जो अखबारमा नियमित लेख्छ, जो अखबार वा अन्य सञ्चारमाध्यममा नियमित अन्तर्वार्ता दिन्छ, त्यस्ता खालका मान्छेले ओपिनियन लिडरको काम गरिरहेका हुन्छन् । मूलधारका मिडियामा देखिरहनेलाई फोन गर्छु, ‘प्रधानमन्त्री वा कुनै ठुलै स्तरका कोही नेता भारत, चीन वा अमेरिका जाँदैछन् । त्यहाँ कुन इस्यु उठाउनु पर्ला ?’

अशोक सिलवाल
अशोक सिलवाल

फर्केर आउँछन् । ‘यो भ्रमण कस्तो लाग्यो’, फेरि म उनीहरूलाई नै सोध्छु ।
बढीमा एक डेढ सय मान्छे छन्, जम्मा । जो मिडियामा लगातार देखिइरहेका छन् । साहित्यमा त्यही हो । परराष्ट्रमा त्यही हो । सुरक्षालगायत सबै क्षेत्रमा पनि त्यही हो । मूलधारका अखबार, टेलिभिजन, रेडियो आदिमा देखिइरहने अनुहार उही हुन् । बिहान अखबारमा, दिउँसो एफएममा र बेलुका टिभीमा । दिनमा कम्तिमा तीनवटा अन्तर्वार्तामा नजानिँदो पाराले उसको जीवनशैली बन्छ । नियमित ।

त्यसपछि तीन चार दिनसम्म कोही आउँदैन, टीभी, रेडियो र पत्रिकाबाट । कोही पनि नआएपछि उसलाई लाग्छ, ‘ओहो, म त सधैं रेडियो, टेलिभिजन र अखबारमा आउँथे । तर चार दिन भइसक्यो, मलाई कसैले खोज्न आएन । म छु कि छैन ? हँ ? म कहाँ छु खोई ?’ त्यसपछि उनीहरूलाई आफू नहुनुको भयानक शून्यताबोध हुन थाल्छ । तपाईंर्ंबारे पनि साहित्यिक जगतमा सुनिन्छ कि ‘त्यही धु्रवचन्द्रको त आउँछ नि पत्रिकामा, हाम्रो कहाँ आउँछ ?’

केही दिन यस्ता अन्तर्वार्ताहरूबाट टाढा बस्नुपर्ने अवस्था आउँदा ‘म सिद्धिएछु, म कहाँ छु ? छ न त छु म ? तपाईंर्ंलाई यस्तो अनुभूति हुन्छ कि हुन्न ?

ध्रुवचन्द्र गौतम– साँच्चै भन्ने हो भने ठ्याक्कै उल्टो छ । हो, ठ्याक्कै उल्टो । मलाई लाग्छ, यति भनेपछि पुग्छ होला ।

खासमा अन्तर्वाताका लागि कोही आएन भने म खुशी हुन्छु । किनभने, लेख्न पाउँछु । मेरो काम त त्यो हो । अन्तर्वार्ता आदि त मेरो ‘साइड’ काम हो । मूलतः त लेखनले नै यो सब गर्न लगाएको छ । त्यो काम रहिरहुन्जेल यो काम गौण हो नि । सिद्धियो कुरो । त्यसैले नआएको झन् राम्रो ।
अशोक– त्यसको विरोधी नै त होइन होला नि ?

ध्रुवचन्द्र– विरोधी त केहीको पनि होइन । एक्लै हुँदा म आफूसँग छुजस्तो लाग्छ । जब कोही हुँदैन, कोही आउँदैन, लेख्न पाइन्छ । पढ्न पाइन्छ । पढ्छु, लेख्छु । पुगिगो’ नि । त्यसकारणले उल्टो छ । चिमोट्नै पर्दैन, म छु भन्ने लाग्छ । ल अब आफूसँग भएँ । यहाँ त म अर्कासँग छु नि । म बाँडिया’ हुन्छु, यहाँ हुँदा, उहाँ हुँदा, बैठकमा हुँदा, मेहफिलमा हुँदा । एक्लै हुँदा आफूसँगै हुन्छु ।
अशोक- भनेपछि भीडमा हुँदा आफूसँग आफू भइँदैन ?

ध्रुवचन्द्र– आफूमात्र होइँदैन । बाँडिनुपर्छ आफू । बाँडिएकै हुन्छ नि ।
अशोक– धेरै मान्छेले भन्छन्, ‘म भीडमा छु । मैले आफूसँग हुनै पाइन ।’
ध्रुवचन्द्र– हो, त्यो हुन सक्छ ।
अशोक– अर्को ठ्याक्कै उल्टो । मलाई एकान्तले खायो । म एक्लोपनको शिकार भएँ । म डिप्रेसनमा जाँदैछु । तर, तपाईंर्ंको हकमा, जब एक्लो हुनुहुन्छ, झन् बढी आफ्ना पात्रहरूसँग, जो तपाईंंको समाज हो, त्यहाँ हुनुहुन्छ हो ?
ध्रुवचन्द्र– आफूसँगै होइन्छ ।
अशोक– त्यतिबेला तपाईंर्ंभित्र अरु मान्छेको जस्तो एक्लोपन हुँदैन ।
ध्रुवचन्द्र– हो । पात्रहरूसँग होइन्छ । चिन्तनसँग होइन्छ । पुस्तकसँग होइन्छ । लेखनसँग होइन्छ । फेरि भेट्नु त के छ र ? अशोकजी, एक फोनमा म तपाईंसँग भेट्न सक्छु नि । एक फोनमा खगेन्द्र संग्रौलाकहाँ जान सक्छु । यदि एकान्तले खान लाग्यो भने म त हटाउन सकिहाल्छु नि ।
अशोक– बरु तपाईंर्ंले त एकान्तपन खोजिरहनु भएको छ ।
ध्रुवचन्द्र– हो । बरु खोजेर पाइँदैन र पो । जब त्यो मलाई खराब लाग्छ भने, जहिल्यै पनि म बजार जान सक्छु । साथीभाई भेट्न सक्छु ।
अशोक– तपाईंंकहाँ थुप्रै पत्रकार आउँछन् । अन्तर्वार्ताका लागि खास मसला तपाईंर्ं हुनुको कारण ?
ध्रुवचन्द्र– त्यो त यस्तो होला, लेखकसँग अन्तर्वार्ता लिने कुरा हुँदा मेरो पनि नाम आउला ।
अशोक– लेखक त अरु पनि छन् नि ।
ध्रुवचन्द्र– अरुको पनि त आएको छ नि । नआएको होइन ।
अशोक– तर एकदमै कम ।
ध्रुवचन्द्र– त्यो त मैले गनेको छैन ।
अशोक– तपाईंंसँग के आर्कषण वा जादु छ ? मान्छे किन आउँछन् तपाईंंकहाँ ? कस्तो चुम्बक छ तपाईंंसँग ? हरियो, नीलो, पहेलो वा रातो ?

duniya-booksध्रुवचन्द्र– म असहज मसहुस गर्दिँन, कोहीसँग पनि । सहज र सरल बन्न चाहन्छु । कति सक्छु वा कति सक्दिँन बेग्लै कुरा हो । मेरो व्यवहारचाहिँ सरल रहोस्, म त्यस्तो चाहन्छु । पहिलो भेटपछि फेरि पनि भेट्ने स्थिति बनोस् र बनिरहोस्, म त्यो चाहन्छु । सोही अनुसारको व्यवहार गर्ने कोसिस गर्छु ।
अशोक– कतिपय मान्छेलाई भेट्न जाँदा ऊ आफू जे हो, त्यो देखिँदैन, देखाउँदैन, अभिनय गर्छ । अनि त्यसपछि उसकहाँ मान्छे जाँदैनन् ।

ध्रुवचन्द्र– अभिनय पार लाग्दैन मबाट । अभिनय गर्न सक्दिँन म । फिल्म वा नाटक खेल्न जाँदा अभिनय नै गर्ने हो । तर, तपाईंं र म जसरी अहिले बसिरहेका छौं, यहाँ अब के अभिनय गर्ने ? टाई सुट लगाएर बस्ने ? अहिले हामी जसरी बसिरहेका छौं, यो अभिनय होइन । किन अभिनय गर्ने ? तपाईंंसँग होस्, विजयकुमारसँग होस् वा मणि लोहनीसँग ।

अशोक– कतिपयले अन्तरर्वार्ताकै क्रममा यस्तो आदर्श छाँटेको पनि सुनेको छु, ‘केही बर्षअघि म फलानो देश गएको थिएँ । मसँग सीमित पैसा थियो । भोकले म ढल्न मात्र बाँकी थियो । अथवा भोक मेटाउन पनि मुश्किल हुने पैसा थियो । एकातिर खानेकुरा थियो । ठीक त्यही बेला मैले एउटा पुस्तक देखें र किनें । अब मसँग एक पैसा पनि थिएन । भोक अझ डरलाग्दो गरी मलाई आक्रमण गर्दै थियो ।’

थाहा हुन्छ कि उसले ढाँटिरहेको छ । उसले ढाँटी नै रहेको छ । हुनसक्छ, उसले पुस्तक किन्यो । तर, उसँग यथेष्ट पैसा थियो । भोकले ढल्नेवाला मान्छेले पुस्तक किन्दैन । त्यसरी बढाइचढाई गर्छन् ।

ध्रुवचन्द्र– (हाँस्दै) होला । म तपाईंंलाई एउटा घटनै सुनाउँछु । म केटाकेटीदेखि दिलिपकुमारको असाध्यै ‘फ्यान’ । उनले भारतमा एउटा स्कुलै क्रेट गरेका थिए । हामी चारजना साथी एकचोटि भागेर रेलमा कलकत्ता गयौं । म हाफ टिकट काटेर रेल चढ्ने उमेरको थिएँ । कलकत्ता पुग्नासाथ मोह भंग भयो ।

हामी फर्केर दरभंगा आइपुग्यौं । खानेकुरामा चिउरा र सख्खरमात्र थियो । त्यो पनि सकियो । दरभंगाको हलमा ‘मधुमती’ चलिरहेको थियो । अरु बेला भएको भए, त्यो ‘मधुमती’ नहेरी छाडिँदैन थियो । म दिलिपकुमारलाई मन पराउँछु भन्ने ठानेर त्यहाँ साथीहरुले यो गर्ने कि त्यो गर्ने भनेर सोधे ।

मैले भनें, खाने । फिल्म पछि पनि हेर्न सकिन्छ । भोकले आँत यस्तो हरहरिएको थियो, होटेलमा गएर आरामले खाना खाइयो । अरु पनि कति यस्ता बेला आएका छन्, भोक र अन्य कुरा दाँज्दा त अन्य केही पनि कुरा दाँजिदैन ।

अशोक– कतिपयले साहित्य नभए बाँच्दिन भन्छन् ।
ध्रुवचन्द्र– त्यो त म पनि भन्छु ।

अशोक-जीवनका लागि साहित्य कि साहित्यको लागि जीवन ?

ध्रुवचन्द्र– त्यो त जीवनकै लागि हो । तर, साहित्यबिना बाँच्दिन भनेको आत्महत्या नै गर्छु भनेको त होइन नि । मेरो जीवनमा यदि साहित्य छैन भने केही पनि छैन भन्ने अर्थ हो । एकदम शुन्यजस्तो । शब्दमा होइन, भावमा बुझ्नु पर्‍यो । सास फेर्नु र साहित्य लेख्नु मेरा लागि एउटै हो भन्छु म ।
अशोक त्यसको अर्थ साहित्य छैन भने सासै बन्द हुन्छ भनेको होइन ।
ध्रुवचन्द्र– होइन ।
अशोक– तर, त्यो भन्दा गहिरो छ, त्यसको अर्थ ।
ध्रुवचन्द्र– प्राणका लागि हामी सास फेर्छौं । सास फर्नु एउटा स्वाभाविक प्रक्रिया पनि हो । तर, हरबखत हामी सास फेरिरहेका छौं भन्ने ज्ञान त हुँदैन नि । हो, साहित्य पनि त्यत्तिकै स्वाभाविक हो र अनिवार्य पनि । जसरी सास फेर्नु स्वाभाविक हो, अनिवार्य हो जीवनका लागि । त्यसैगरी, साहित्य मेरा लागि अनिवार्य र स्वाभाविक हो । यत्ति बुझे पुग्छ । फेरि साहित्य भएन भने प्राणै त्यागिदिन्छु भन्ने पनि होइन । किनकी नलेख्ने मान्छे पनि छन् । के उनीहरू मरिरहेका छन् र ? त्यस्तै कहिल्यै नलेखी पनि सकिन्छ । जस्तो, यात्रामा कहाँ लेखिन्छ  ?

(अाख्यान पुरूष ध्रुवचन्द्र गाैतमसँगको अन्तरंगका अाधारमा पत्रकार अशाेक सिलवालले लेखेको लेखकको दुनियाँ पुस्तकको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment