Comments Add Comment

हृदयघात भएपछि पूर्वराजा ज्ञानेन्द्र नर्भिक अस्पताल भर्ना, अवस्था सन्ताेषजनक

५ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । शनिबार राति नर्भिक अस्पतालमा भर्ना गरिएका शाहलाई सामान्य हृदयाघात भएको पत्ता लागेको पूर्वराजाका निजी सचिव फणिराज पाठकले अनलाइनखरबलाई बताए ।gyanendra shah

शाहको अवस्था स्थिर र सन्तोषजनक रहेको पाठकले बताएका छन् ।

शनिबार राति नै अस्पताल ल्याइएका शाहको उपचारका क्रममा कोरोनरी रक्तनलीलाई एन्जियोप्लाष्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको छ ।

शाहको उपचारमा डा. यादवदेव भट्ट र डा. भारत रावतको टोली खटिएको छ ।

स्वास्थ्यमा कठिनाइ उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको र हाल शाहको स्वास्थ्य स्थिर र सन्तोषजनक रहेको पाठकले अनलाइनखबरलाई बताए ।

पूर्वरानी कोमल र अन्य आफन्तहरु अस्पतालमा उपस्थित छन् ।

एन्जियोप्लाष्टी गरेपछि शाहलाई अप्रेसन थियटरबाट अस्पतालको कोरोनरी केयर युनिट (सिसियु) मा राति ११ बजेतिर सारेको अस्पतालले जनाएको छ ।
पूर्वराजा शाहको अवस्था खतरामुक्त रहेको छ । नर्भिक अस्पतालका अनुसार हृदयाघातलगत्तै तुरुन्तै अस्पताल पुर्‍याइएका शाहको एन्जियोप्लाष्टी गरी बन्द भएको मुटुको धमनी खुलाइएपछि स्वास्थ्य खतरामुक्त भएको अस्पतालले जनाएको हो ।
६७ वर्षीय शाहलाई शनिबार राति १० बजेतिर माइल्ड हर्ट एट्याक भएको थियो । अचानक चिटचिट पसीना आउने र रिंगटा लाग्ने समस्या देखिएपछि शाहलाई राति साढे १० बजेतिर अस्पताल पुर्‍याइएको थियो । अस्पतालले तुरुन्तै शाहको कोरोनरी एन्जियोग्राफी गरेको थियो ।

के हो कोरोनरी एन्जियोग्राफी ?

कोरोनरी एन्जियोग्राफी भनेको मुटुको बन्द भएको धमनी वा साँघुरिएको अवस्था पत्ता लगाउन एक्सरे गर्ने एक विशेष प्रविधि हो । यो प्रविधिमा एक विशेष रंगीन तरल पदार्थ मुटुमा पठाइन्छ र मुटुको धमनीको साँघुरिएको अथवा बन्द भएको अवस्था र मात्रा पत्ता लगाइन्छ । कोरोनरी एन्जियोग्राफी लगत्तै चिकित्सकले शाहको बन्द भएको धमनी खुलाउन एन्जियोप्लाष्टी गरी स्टेन्ट हालेको थियो ।

एन्जियोप्लाष्टी कसरी गरिन्छ ?
चिकित्सकका अनुसार काेरोनरी एन्जियोप्लाष्टी भनेको बिना चिरफार मुटुको धमनी खुलाउन गरिने उपचार प्रक्रिया हो । यसमा नसाको माध्यमबाट स्टेन्टलाई मुटुको धमनीमा पुर्‍याउने काम गरिन्छ ।

नसाबाट पठाइएको स्टेन्ट साँघुरिएको धमनीमा पुगेपछि छाताजस्तो खुल्ने वा बेलुनजस्तो फुल्छ र बन्द भएको रगत प्रवाहलाई खुलाउँछ । यसमा एक विशेष प्रकारले तयार पारिएको स्टेन्ट प्रयोग हुन्छ ।
स्टेन्ट प्रत्यारोपणपछि धमनी पुन रोकिने वा अवरोध हुने सम्भावना रहन्छ ।

शाहको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा पुगेका शुभेच्छुकहरुका लागि अस्पताल परिसरमा हस्ताक्षरका लागि पुस्तिका राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment