८ असोज काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा विद्यार्थीले तालाबन्दी गरेका छन् । तकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले भर्ना शुल्क महँगो भएको भन्दै तालाबन्दी गरेका हुन् ।
विभागले तोकेको भर्ना शुल्क नघटाएसम्म तालाबन्दी कायम रहने विद्यार्थीले बताएका छन् । विभागले दोस्रो सेमेष्टरका लागि १७ हजार रुपैयाँ भर्ना शुल्क तोकेर भदौको २७ गते भर्ना खुलाएको छ । विभागमा ८० जनाको कोटा भए पनि अहिले ६६ विद्यार्थी अध्ययनरत छन् ।
शुल्क महँगो भएको भन्दै अहिलेसम्म एकजनाले पनि भर्ना गरेका छैनन । यसअघि पहिलो सेमेष्टरमा १७ हजार ९ सय रुपैयाँमा पत्रकारिताको पढाइ भएको थियो । विद्यार्थीहरुले भने अरु विभागमा पहिलो सेमेष्टरको तुलनामा दोस्रो सेमेष्टरमा निकै सस्तोमा पढाइ भइरहेको भन्दै त्यसै अनुपातमा शुल्क घट्नुपर्ने माग गरेका छन् ।
‘पहिलो सेमेष्टरमा ११ हजार शुल्क लिएको अंग्रेजी विभागले दोस्रो सेमेष्टर ६८ सयमा पढाइरहेको छ,’ स्नातकोत्तर तह दोस्रो सेमेष्टरका विद्यार्थी सविन मिश्र भने-‘हामी बढीमा १० हजार तिर्न तयार छौं, त्योभन्दा धेरै भयो भने मान्य हुँदैन ।’
यसअघि विभागीय प्रमुख प्राध्यापक पी खरेलले भने विद्यार्थीले माग गरे पनि शुल्क घटाउन नसक्ने जानकारी विद्यार्थीलाई दिइसकेका छन् ।
स्नातक तह तेस्रो वर्षमा टेलिभिजन पत्रकारिता पढाउँदा ३० हजार रुपैयाँ शुल्क लिए पनि भने अनुसारको ‘प्राक्टिकल’ नगराएको मिश्रले बताए । ‘हामीले ३० हजार एक्स्ट्रा तिर्यौं, तर पनि अर्काले भिडियो खिच्ने हामी हेर्ने भयो,’ मिश्रले भने, ‘भन्न त यसो गर्छौं र उसो गर्छौं भन्छन्, काम केही गर्दैनन् ।’
विद्यार्थीहरुले बुधबार नै रत्नराज्यलक्ष्मी क्याम्पसकी सहायक क्याम्पस प्रमुख विदुला घिमिरेलाई पनि यसको जानकारी दिइसकेको बताएका छन् ।
प्रतिक्रिया 4