Comments Add Comment

खसी किन्दै हुनुहुन्छ ? आफैंले चिन्न सकिन्छ रोगी जनावर !

११ असोज, काठमाडौं । के तपाई राजधानीमा दसैं मनाउन खसी, राँगा, कुखुरा वा हाँस किन्दै हुनुहन्छ ? होस गर्नुहोला, काठमाडौं उपत्यकामा रोग लागेका पशुपक्षी भित्रिन थालेको काठमाडौं महानगरपालिकाको परीक्षणबाट पत्ता लागेको छ । यद्यपि पशु डाक्टरको सुझाव छ, तपाई आफैंले हेरेर पनि रोग लागे/नलागेको छुट्याउन सक्नुहुन्छ ।khasi-3

दसैं शुरु भएलगत्तै राजधानीलगायतका शहरी क्षेत्रमा व्यापारीहरुले खासीबोका, राँगा, कुखुरा तथा हाँस लगायतका पशुपंक्षीहरु भित्राइरहेका छन् । काठमाडौं महानगरपालिकाले उपत्यका भित्रिने प्रमुख नाकाहरुमा पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिरहेको छ । तर, विभिन्न स्थानबाट परीक्षणबिनै राजधानीमा पशुपंक्षी भित्रिरहेका छन् ।

शुक्रबार महानगरपालिकाले गरेको स्वास्थ्य परीक्षणका क्रममा राजधानीका विभिन्न स्थानमा बिक्रीका लागि राखिएका खोसीबोका रोगी पाइएका थिए । महानगरपालिकाको टोलीले ती रोगी खसीबोकालाई उपचारका लागि राखेको जनाएको छ । चाडबाडको हुलमुलमा व्यापारीहरुले रोगी पशुपंक्षीलाई पनि निरोगीसँगै राखेर बिक्री गरिरहेको महानगरपालिका कर्मचारीले बताएका छन् ।

काठमाडौं भेटेरिनरी जनस्वास्थ्य कार्यालय प्रमुख डा. मुकुल उपाध्यायका अनुसार राजधानीको कलंकी खसीबजार, टुकुचा खसीबजार, बिजुलीबजार, बालाजु बाइपास र तिनकुनेमा खसीबोकाको स्वास्थ्य परीक्षण शुरु भएको छ । उनले स्वस्थ खसीको सिङमा हरियो र अस्वस्थ्य खसीको सिङमा रातो चिन्ह लगाउने गरिएको बताए ।

तर, चाडबाडको समयमा विभिन्न स्थानमा खसीबोका, रागाँ, कुखुरा, हाँस लगायतका पशुपंक्षी भित्रिने भएकाले उपभोक्ताले त्यस्ता पशुपंक्षी खरीद गर्दा सचेत हुनुपर्ने उनी बताउँछन् । उनका अनुसार शहरी क्षेत्रका मात्र नभई ग्रामीण भेगका उपभोक्ताले समेत पशुपंक्ष्ीा खरीद गर्दा रोगी भए, नभएको ख्याल गरेर खरीद गर्नुपर्ने हुन्छ ।

यसरी पत्ता लाग्छ रोगी पशुपंक्षी

भेटेरिनरी चिकित्सकहरुका अनुसार पशुपंक्षीलाई हेरेरै रोगी र निरोगी छुट्याउन सकिन्छ । डा. उपाध्यायका अनुसार स्वस्थ पशुपंक्षीले नियमितरुपमा खाएको खाना उग्राउने गरेको पाइन्छ । यदि पशुले खाएको खाना नउग्राएमा, काम्ने गरेमा, र्‍याल चुहाइरहेमा, आँखाबाट चिप्रा निकालेमा र राम्ररी हिँडडुल गर्न नसकेमा त्यस्ता पशुहरु रोगी मानिन्छन् ।

रोगी पशुको मासु सेवन गर्नु भनेको सरासर रोग निम्त्याउनु हो । चिकित्सकहरु यस्ता पशुहरु वध गरेर त्यसको मासु उपभोक्तासामु पुर्‍याउनु भनेको मानिसलाई मन्द विष दिनु जतिकै भएको बताउँछन् ।

‘रोगी पशु छ भन्ने जान्दा जान्दै काटेर उपभोक्तालाई बिक्रि गर्नु भनेको जगन्य अपराध हो’ काठमाडौं महानगरपालिको जनस्वास्थ्य महाशाखाका पुर्व प्रमुख डा. बाबुराम गौतम भन्छन्, ‘यस्ता मासुको सेवनबाट मानिसलाई तत्कालका असर देखिने वा दीर्घकालमा देखिने गम्भीर रोगहरुले समेत सताउने छ ।’

गौतमका अनुसार पशुपंक्षी स्वस्थ भए पनि बध गरिसकेपछि फोहोर पानीले पखाल्ने, ढुवानी गराउने साधन उपयुक्त नहुने, मासु राख्ने ठाउँ सफा नहुने र मासुलाई धूलो र झिँगाबाट जोगाउन रातो कपडाले छोपेर नराख्ने गर्दा पनि मासु अशुद्ध र रोग फैलाउनेखालका हुन्छन् । यस्तो मासुको प्रयोगबाट झाडापखाला, हैजा, फुड पोइजनजस्ता असर देखा पर्छन् भने दीर्घकालीन रुपमा ज्यान जान सक्ने रोग लाग्न सक्ने गौतम बताउँछन् ।

अस्वस्थ मासुले लाग्ने रोगहरु

स्वस्थ पशुपंक्षीको मासुमा मानव शरीरका लागि आवश्यक पर्ने प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण प्रशस्त मात्रामा पाइन्छ । तर, नाफा कमाउने उद्देश्यले केही व्यापारीहरुले रोगी पशु काट्ने गरेका छन् । जसका कारण पशुमा भएका रोग मानिसलाई पनि सर्न सक्छ । जथाभावी रुपमा मासु काट्ने र ढुवानी गर्दा मानिसलाई रोगी बनाइरहेको हुन्छ ।

चिकित्सकहरु मासुलाई राम्ररी नपकाउँदा मासुमा हुने परजीवीहरु नमर्ने र त्यस्तो मासु खाँदा मानिसको मस्तिकलगायत शरीरका अन्य भागमा हानी पुर्‍याई रोगी बनाउने बताउछँन् ।

वीर अस्पतालका चिकित्सक डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार अस्वस्थकर मासुले टाइफाइड, झाडापखाला तथा पेटका समस्या निम्तिन सक्ने भएकाले किनिएको पशु तथा मासु स्वस्थकर छ कि छैन भनेर ध्यान पुर्‍याउनुपर्छ ।

बस्नेतका अनुसार अस्वस्थकर मासु तथा रोगी पशुको मासु सेवन गर्दा मानिसलाई जुनोटिक रोग बढी लाग्छन् । रोगी पशुपंक्षीको मासु सेवन गर्नाले मानिसलाई बर्डफ्लु, स्वाइनफ्लु, एन्थ्राक्सलगायतका जुनोटिक रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ ।

अस्वस्थ माछामासुको सेवनबाट क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गौलाको रोग, क्ओसटियल इन्फेक्सन, फुड पोइजनिङजस्ता समस्या पनि धेरैमा हुने गरेको छ । अस्वस्थकर राँगा, भैँसीको मासु खानाले टेनिया सोडियम, बङगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछाको सेवनबाट एच. नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा स-साना टेपवर्म जाने र पछि मानिसको मृत्युसमेत हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।

कस्तो मासु नखाने ?

उपभोक्ताले मासु खरीद गर्दा पनि झिँगा नभन्केका, राम्ररी काटिएका, डिपफ्रिजमा राखेको मासु ल्याउनुपर्ने विज्ञहरुको सुझाब छ ।
चिकित्सकहरुका अनुसार व्यवस्थित बधशालामा काटिएको मासु मात्र खानुपर्छ । रोगी, झोक्राएको जस्तो पशुको मासु खानु हुँदैन । फ्रिजमा राखेको र सुक्ष्म जीवाणुबाट मुक्त मासुको प्रयोग गर्नुपर्छ ।

यसका साथै पोलेको र थोरै समय मात्र पकाएको मासुका परिकार, जस्तो सेकुवा, छोयला र काचो नै खाइने कचिलाजस्तामा रोग लाग्ने कीटाणु जीवितै हुने सम्भावना बढी हुन्छ । चिकित्सकका अनुसार प्रेसरकुकरमा उच्च तापमा राम्ररी पकाएको मासु मात्र खानयोग्य हुन्छ ।

आम मानिसमा छाला पनि खानुपर्छ भन्ने भ्रम छ । तर यथार्थमा छाला खानु भनेको रोग निम्त्याउनु हो । छालामा विभिन्न सिस्ट हुने भएकाले तिनीहरुका कारण मानिसलाई इपिलेप्सि, हिस्टोरीयालगायतका विभिन्न रोग लाग्ने डा. गौतम बताउँछन् ।

खसीबोकाको हुलमा बाख्रा

दसैंका लागि राजधानीमा दैनिकरुपमा भित्राइएको खसीबोकाको हुलमा केही व्यापारीले बाख्रासमेत भित्राउने गरेका छन् । विगतका वर्षहरुमा महानगरपालिले गरेको चेक जाँचका क्रममा सयौँको संख्यामा बाख्रा फेला पारेको थियो ।

यसपटक पनि हुलमुलमा बाख्रा ल्याउने सम्भावना रहेको भन्दै निगरानी बढाइएको महानगर पालिकाले जनाएको छ ।

राजधानी भित्रिएको खसीबोकाको हुलमा व्यापारीहरुले काटेर बेचिने मासुमा बाख्राको मासुसमेत मिसाएर बिक्री गर्न बाख्रा भित्राएको अनुमान गरिएको छ ।

उपभोक्तावादीहरु खसीबोकाको हुलमा बाख्राको मासु बिक्री गर्नु सरासर अपराध भएको बताउँछन् । उपभोक्ता हित संरक्षण मञ्च काठमाडौंका अध्यक्ष जगन्नाथ मिश्र यस्ता व्यापारीलाई सरकारले तत्काल कारवाही गर्नुपर्ने बताउँछन् ।

मिश्रका अनुसार दसैंको समयमा खसीबोकाको मासुमा बाख्राको मासु मिसाएर बिक्री गर्दा मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले निम्न गुणस्तरीय मासु बिक्री गरेको र कालोबजारी गरेको आरोपमा समेत व्यापारीलाई कारवाही गर्न सकिन्छ ।

खसी बोकाको मासुको नाममा बाख्राको मासु बिक्री गर्नेलाई कालोबजारी ऐनले पनि कारवाही गर्न मिल्छ । मिश्रका अनुसार मासु ऐन कारवाहीमा नआएकालाई त्यस्ता व्यापारीलाई कालोबजारी ऐन अनुसार २ वर्ष कैद वा बिगोबमोजिमको जरीवाना गर्न सकिने छ ।

मुलुकी ऐनको चौपाया महलमा कुनै पनि स्त्री जाती चौपाया बध गर्न नपाइने स्पष्ट व्यवस्था गरीएको छ । साथै पशुवधशाला तथा मासु जाँच ऐनले पनि स्त्रीजाती चौपायको बध गर्न बन्देज गरेको छ । तर, व्यापारीले नियमको कमजोर कार्यान्वयनको फाइदा उठाँउदै दसैंको हुलमा बाख्रा पनि भित्राउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment