Comments Add Comment

निर्यात ११ प्रतिशतले घट्यो, आयात १२ प्रतिशतले बढ्यो

export import२१ असोज काठमाडौं । यो आर्थिक वर्षमा आयात निर्यातबीचको अन्तर अझ फराकिलो हुने संकेत देखिएको छ । आर्थिक वर्षको पहिलो महिनामै अघिल्लो वर्षको सोही अवधिको तुलनामाभन्दा  निर्यात ११.५ प्रतिशतले निर्यात घटेको छ भने आयात १२.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा मुलुकले भिभिन्न वस्तुको निर्यात गरी ६ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यस अवधिमा निर्यातमार्फत ७ अर्ब ५९ करोड रुपैयाँ स्वदेश  भित्रिएको थियो ।

कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात पनि १५.४ प्रतिशतले ह्रास आएको छ । गग वर्षको यसै अवधिमा १५.१ प्रतिशतले बढेको थियो । जिंक सिट, अलैंची, लत्ताकपडा, वायर, रडलगायतका वस्तुको निर्यात घटेकाले भारततर्फको निर्यातको वृद्धिदर ऋणात्मक भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी जडीवुटी, एल्मुनियम, कपर र ब्रासका भाडाकुँडा, पश्मिना र अगरवत्ति लगायतका वस्तुहरुको निर्यात घटेकाले चीनतर्फको निर्यात पनि ऋणत्मक भएको छ । अघिल्लो वर्षको पहिलो महिनामा ८.३ प्रतिशतले घटेमा यो वर्षको पहिलो महिनामा चीनतर्फको निर्यात ५६.७ प्रतिशतको उच्च दरले ह्रास आएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष ७.७ प्रतिशतले घटेको तुलनामा समीक्षा अवधिमा ०.८ प्रतिशतको सीमान्त दरले घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको पहिलो महिनामा १४.९ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा १.४ प्रतिशतले घटी अमेरिकी डलर २ करोड ६७ लाख पुगेको छ ।

त्यसैगरी यो आर्थिक वर्षको साउन महिनामा कुल वस्तु आयात १२.५ प्रतिशतले बढेर रु. ५८ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.४ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । भारत र चीनबाट भएको आयात उच्चदरले बढेको कारण कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

कुल आयातमध्ये भारतबाट भएको आयात समीक्षा अवधिमा १६.८ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि भारतबाट भएको आयात सोही दरमा बढेको थियो । त्यसैगरी, चीनबाट भएको आयात अघिल्लो वर्षको पहिलो महिनाको २५.६ प्रतिशत ह्रासको विपरीत समीक्षा अवधिमा २३.९ प्रतिशतले बढेको छ ।

अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको पहिलो महिनाको १५.१ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा २.७ प्रतिशतले ह्रास भएको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको पहिलो महिनामा ६.१ प्रतिशतले बढेको विपरीत समीक्षा अवधिमा ३.३ प्रतिशले ह्रास भई अमेरिकी डलर १३ करोड ४२ लाख पुगेको छ । भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ, चामल, सवारी साधन तथा पाटपूर्जा र सिमेन्ट लगायतको आयात बढेको कारण भारततर्फको अयात उच्च दरले बढेको हो ।

चीनबाट मुख्यतयाः दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, भिडियो टेलिभिजन र पाटपूर्जा, रासायनिक मल र पोलिष्टर धागो लगायतका वस्तुहरुको आयात बढेको कारण त्यसतर्फको आयात उच्चदरले बढेको हो । अन्य मुलुकबाट विशेषगरी सञ्चार उपकरण तथा पाटपूर्जा, चाँदी, भिडियो टेलिभिजन तथा पाटपूर्जा र रासायनिक मल लगायतको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो ।

समिक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १६.६ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ  । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु व्यापार घाटा ११.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामध्ये भारत र चीनसँंगको व्यापार घाटा क्रमशः २२.२ र २७.३ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको यस्तो घाटा १७.१ प्रतिशतले बढेको भएता पनि चीनसँगको यस्तो घाटा २६.२ प्रतिशतले घटेको थियो । त्यस्तै, अघिल्लो वर्षको पहिलो महिनामा २२.५ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापार घाटा समीक्षा अवधिमा ३.२ प्रतिशतले घटेको छ ।

आयातको वृद्धिदर उच्च रहेको कारण समीक्षा वर्षको पहिलो महिनामा निर्यात-आयात अनुपात ११.५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.६ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment