Comments Add Comment

कात्तिक महिनाभित्र विशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने लक्ष्य

२४ असोज, काठमाडौं । सरकारले भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र आगामी कात्तिक महिनाभित्रमा सञ्चालन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

व्यवस्थापिका-संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको मातहतमा गठित उद्योगसम्बन्धी उपसमितिको बैठकमा उक्त जानकारी दिएको हो ।

उपसमितिका संयोजक सांसद भक्तिप्रसाद पाण्डेको सभापतित्वमा शुक्रबार बिहान भएको बैठकमा उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले विशेष आर्थिक क्षेत्र अबको एक महिनाभित्रमा सञ्चालन गर्नेगरी सम्पूर्ण भौतिक पूर्वाधार तयार पारिएको जानकारी दिए ।

उक्त क्षेत्रमा प्रशासनिक तथा सेवाभवन, आन्तरिक सडक, बिजुली, टेलिफोन, पेयजललगायत पूर्वाधार निर्माण भइसकेको र अविच्छिन्न विद्युत् आपूर्तिको व्यवस्था मिलाउन उद्योग मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई तीन करोड रुपैयाँ उपलब्ध गराएको उनको भनाई थियो ।

‘भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ सरकारले स्वीकृत गरिसकेको र विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयक तर्जुमा भई मन्त्रिपरिषद्मा पेस गर्ने सैद्धान्तिक स्वीकृति मन्त्रालयलाई प्राप्त भएको छ’-उनले भने ।

त्यसैगरी सचिव भट्टराईले राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हालसम्म आठवटा उद्योग स्थापना भएकामा चालु अवस्थामा चारवटा मात्र रहेका जानकारी दिँदै त्यहाँको सडकको अवस्था जीर्ण, अनियमित विद्युत् आपूर्ति, पानी र ढलको उचित व्यवस्था नहुँदा उद्योग सञ्चालनमा कठिनाइ भएको बताए ।

ललितपुरको इमाडोलमा ग्यास उत्खननका निम्ति ३५० मिटर ड्रिलिङ गरिएको बताउँदै उनले ग्यासको परीक्षण उत्पादन गर्ने उपकरण खरिद प्रक्रियामा रहेको जानकारी दिए ।

क्रसर उद्योगसम्बन्धी संसदीय समितिको निर्णय र मन्त्रिपरिषद्को निर्णयअनुरुप मन्त्रालयले कार्यसम्पादन गरिरहेको र आगामी पुस मसान्तपछि उक्त उद्योगलाई व्यवस्थित गर्न खानी तथा भूगर्भ विभागले मुलुकका १४ स्थानमा अन्वेषण गरिरहेको उनको भनाई थियो ।

विभागले क्रसर उद्योगसम्बन्धी सरकार र संसदीय समितिका निर्णय कार्यान्वयन गर्न डडेलधुराको सिर्से, डोटीको रुपासकाँडा, सुर्खेत र सल्ल्यानका माझखण्ड, दाङको कपुरकोट, प्यूठानको रातामाटा, अर्घाखाँचीको नरपानी, पाल्पाको केराबारी-डुम्रे, चितवनको जुगेडी, मकवानपुरको भैँसे, सिन्धुलीको सिन्धुलीगढी, धनकुटाको भेडेटार, इलामको चिसापानी र काठमाडौँ उपत्यकाको आसपास क्षेत्र र ठोस्नेखोला चौघरेमा अन्वेषण सर्वेक्षण गरिरहेको सचिव भट्टराईले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment