Comments Add Comment

सार्कका राष्ट्र र सरकार प्रमुखलाई धुलिखेलमा रिट्रिट

२८ असोज, बनेपा । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रीटका लागि धुलिखेल ल्याउने भएपछि तयारी सुरु भएको छ ।

धुलिखेल नगरपालिकाको वडा नं १ स्थित द्वारिकाज हिमालयन सांग्रिला होटल छनोट गरेर त्यहाँको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलताका बारेमा जानकारी लिन परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीको नेतृत्वमा सरकारी टोली मंगलवार धुलिखेल पुगेको थियो ।

सो टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका उच्च पदस्थ अधिकारीसमेत सहभागी भएको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए । टोलीसँग स्थानीय प्रशासन र धुलिखेल नगरपालिकाले समेत समन्वय गरेर काम गर्ने छन् ।

सहायक प्रजिअ शर्माका अनुसार सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई रिट्रीटका लागि धुलिखेल ल्याउन रिर्सोटको छतमा एउटा र धुलिखेल नगरपालिकाको जमिनमा हेलिकोप्टर राख्नका लागि दुई वटा हेलिप्याडसमेत निर्माण गरिने छ ।

सार्क राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु बस्ने ठाउँ, कोठा, भौगोलिक जटिलता र सुरक्षा संवेदनशीलत्ााका बारेमा जानकारी लिन टोली धुलिखेल पुगेको हो ।

शिखर सम्मेलन उद्घाटन पछि राष्ट्र एवम् सरकार प्रमुखलाई रिट्रीटमा लैजाने र सम्भव भएसम्म दुई पक्षीय वार्ताको वातावरण तय गरिदिने प्रचलन छ ।  सन् २००२ को ११ औँ शिखर सम्मेलनमा नगरकोट रिट्रिट दिने भनिए पनि सफल भएको थिएन ।

सरकारले आगामी मङ्सिरको १० र ११ गते १८ औँ सार्क शिखर सम्मेलन काठमाडौँमा आयोजना गर्न लागेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment