Comments Add Comment

तिलकको सटर सँधैलार्इ बन्द, साँचो खोल्न नआउने गरी गए

३१ असोज, काठमाडौ । वीर अस्पतालभन्दा करिब सय मिटर भित्र महाबौद्धको गल्लीमा गत भदौ २८ गते तिलकप्रसाद गौतमले जुत्ता पसल थाल्दा पसलमा आएर शुभकामना दिनेको ठूलै भीड थियो । गरिबीबाट उन्मुक्ति पाउने सपना पुरा गर्न भाइ रुद्रप्रसादलाई साथमा लिएर थालेको पसल सोमवार साँझ बन्द गरेर हिडेका उनी अब नफर्किने बाटोमा गएका छन् ।

महोत्तरी बर्दिबासमा रहेको आफ्नो जीर्ण घर मर्मत गर्ने र बाबुआमालाई काठमाडौमा ल्याएर राख्ने दाजुभाइको सपना सोमवार साँझ बबरमहलमा भएको बस दुर्घटनाले उडाईदियो । साँझ पसल बन्द गरेर जुत्ता बेचेको पैसासहित तीनकुने डेरा फर्किएका उनीहरुको बाटैमा मृत्यु भएको अन्नपूर्ण पोष्टमा खबर छ ।
तिहार नजिकिदै गर्दा छेउछाउका पसलमा भीड बढेको छ तर तिलकको कालो सटर बन्द छ । ६ वर्षसम्म अर्कैको पसलमा काम गरेका तिलकले बिरामी बुबाको उपचार र घरखर्चका लागि ठूलै जोखिम उठाएका थिए । भएभरको जग्गा बेचेर र बैंकमा धितो राखेर पसल थाल्न बुवा सूर्यप्रसाद र आमा सावित्रा दुवैले सहमति दिएका थिए ।
आफ्ना दुवै छोरालाई बसले एकैसाथ किचेको सुनेपछि सूर्यप्रसाद र सावित्रा दर्जनौंपटक मुर्छित भइसके । ‘हामीलाई हेर्ने कोही रहेन, अब बाँच्नु कसरी’, छोराको अन्तिम संस्कार गर्न पशुपति आर्यघाट आइपुगेका सूर्यप्रसादल भने । आर्थिक रुपले विपन्न उनीहरुलाई काठमाडौ ल्याउने कामसमेत छिमेकीले गरेका थिए । २७ वर्षीय तिलकले गतवर्ष बर्दिबासकी निशा पोखरेलसँग प्रेमविवाह गरेका थिए । दसैं मनाउँन घर गएकी निशा तिहारपछि मात्रै आउने गरी उतै बसेकी थिइन् । दुर्घट्नामा पतिको ज्यान गएको सुनेपछि बेहोस भएकी १९ वर्षीया निशा अझै राम्ररी होसमा आएकी छैनन् । चार महिनाकी गर्भवती निशाको स्वास्थ्य विग्रदै गएको छ ।
तिलकले वर्षौदेखिको मोटरसाइकल किन्ने रहर पनि गत वैशाखमा पूरा गरेका थिए । तर त्यही मोटरसाइकल उनका लागि काल बनेर आइदियो । आफ्नै पसल थाल्ने र दिनभरि खटिने योजनामा उनलाई मोटरसाइकलको आवश्कता पनि थियो ।
एक्लै पसल थाल्नुअघि तिलकले लालहरी पहाडीसँग मिलेर पसल चलाएका थिए । एसएलसीए उत्तीर्णगरेपछि काका देवेन्द्रको सहयोगमा काठमाडौ आएका तिलकले कक्षा १२ पास गरेपछि भाइलाई पनि काठमाडौ बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment