२ कात्तिक, काठमाडौं । कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै कृषि विकास बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीलाई पदबाट बर्खास्त गरेको छ ।
बैंकका सञ्चालक क्षेत्रबहादुर सैंजुवालको संयोजकत्वमा गठित कार्यसम्पादन मुल्यांकन प्रतिवेदनका आधारमा सञ्चालक समितिले बुढाथोकीलाई हटाएको हो ।
सञ्चालक समितिले बुढाथोकीलाई प्रष्टिकरण सोधेको थियो । प्रष्टिकरणको चित्त बुझ्दो उत्तर नआएपछि हटाइएको बैंकका एक सञ्चालकले अनलाइनखबरलाई जानकारी दिए । बुढाथोकीको कार्यकाल सकिन अझै १३ महिना बाँकी छ ।
शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले बरिष्ठ नायव महाप्रबन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
डा. बाबुराम भट्टराईका पालामा बुढाथोकीलाई सार्वजानिक विज्ञापन गरिएको तीनदिन भित्रै नियुक्ति गरिएको थियो । तत्कालीन अवस्थामा उनको नियुक्ति प्रक्रिया नपुर्याई भएको भन्दै व्यापक आलोचनासमेत भएको थियो ।
बुढाथोकीलाई कारवाही गर्न अख्तियार र नेपाल राष्ट्र बैंकले पनि दवाव दिएका थिए । बुढाथोकीले विभिन्न व्यक्ति तथा संस्थालाई प्रक्रिया नपुर्याई कर्जा दिइएको भन्दै अख्तियारले कारवाही गर्न निर्देशन दिएको थियो भने खराब कर्जामा सुधार ल्याउन नसकेको भन्दै राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।