Comments Add Comment

गाउँमा औषधि पुगेन, सापट ल्याएर औषधि चलाइँदै

medicine
३ कात्तिक, म्याग्दी । स्वास्थ्य संस्थामा समयमै औषधि आपूर्ति नहुँदा अभाव हुन थालेको छ । म्याग्दीका स्वास्थ्य संस्थामार्फत सरकारले निःशुल्क उपलब्ध गराउने औषधि आपूर्ति गर्न ढिलाइ भएपछि समस्या आएको हो ।
बाराको पथलैयामा रहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाको केन्द्रीय मेडिकल स्टोरमा दुई महिनाअघि माग गरिएको औषधि अझै उपलब्ध हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा मौजुदा रहेको जीवनजल, स्लाइन, सुत्केरी गराउन लगाइने सुई, आँखा र कानको उपचारमा प्रयोग हुने झोल औषधिजस्ता औषधि सकिएपछि बागलुङबाट सापटी ल्याएर काम चलाइरहेको कार्यालयका स्टोर शाखाका नायब सुब्बा सुरेश शर्मा पौडेलले बताए ।
गत भदौ १० गते अति आवश्यक रहेका १९ प्रकारका औषधि माग गरे पनि अझैसम्म आपूर्ति हुन नसकेकाले औषधि वितरणमा समस्या भएको शर्माको भनाइ छ ।
सरकारले जिल्ला अस्पतालबाट ४०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ३८ र स्वास्थ्य चौकीबाट ३० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।
मेडिकल स्टोरको ढिलासुस्ती र समन्वयको कमीका कारण यस्तो समस्या उत्पन्न हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख रोशन न्यौपानेले बताए । उनका अनुसार दोस्रो चौमासिकका लागि गाउँका स्वास्थ्य संस्थामा पठाउने औषधि असोज महिनाभित्र नै जिल्ला आइपुग्नुपर्नेमा अझै प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment