Comments Add Comment

बाढीपीडितका छोराछोरीलाई मानसिक तालिम

Bake-bardiya
परामर्श केन्द्रमा बाढीपीडित प्रभावित बालबालिका

 

३ कात्तिक, नेपालगञ्ज । बाँके र बर्दियाका बाढी प्रभावित क्षेत्रका बालबालिकालाई तनाबमुक्त बनाउने उद्देश्यले मनोसामाजिक परामर्श दिन थालिएको छ । बाढी र पहिरो कारण बालबालिकाहरुमा मानसिक समस्या देखिएको ठहर गर्दै उनीहरुलाई सामुहिक अध्ययन केन्द्रमा राखेर तनावमुक्त पार्ने प्रयास थालिएको हो ।

बाँके र बर्दियाका ९ गाविसका १० स्थानमा बाढी प्रभावित परिवारका बालबालिकाका लागि सुरक्षित बालमैत्री सिकाइ केन्द्रमार्फत मनोसामाजिक परामर्श दिने गरिएको छ । प्लान नेपालसँगको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्रले बालबालिकाहरुलाई परामर्श दिँदै आएको छ ।

बाँके र बर्दियामा अधिकांश बासिन्दाले हरेक बर्ष बाढी पहिरोको समस्या भोग्दै आएका छन् । गत साउन अन्तिम साताको बाढी, पहिरो र डुबानपछि बालबालिकाहरुमा टोलाउने, नयाँ मान्छे देखेमा डराउने, आत्तिने जस्ता समस्या देखिएको केन्द्रको ठहर छ । ‘सुरक्षित बालमैत्री सिकाइ केन्द्रमार्फत उनीहरुमा बाढीको कारण परेको तनाव घटाउन पहल गरेका छौं,’ राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले भने ।

केन्द्रमा ३ देखि ५ वर्ष उमेर समूह र ६ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुलाई अलग-अलग राखिएको छ । उनीहरुलाई हरेक दिन गीत संगीत, खेलकुद, शारिरीक व्यायाम लगायतका क्रियाकलाप गराइन्छ ।

बाँकेमा होलिया, बनकट्टी, बेतहनी र कम्दीका ४ स्थानमा बालविकास केन्द्र स्थापना गरिएको छ । यसैगरी बर्दियामा सूर्यपटुवा, बग्नाह, मगरागढी, धधवार र महम्मदपुरका ६ स्थानमा बालविकास केन्द्र स्थापना गरी मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराइन्छ । यस्ता क्रियाकलापबाट बाँके र बर्दियाका १ हजार ४ सय बालबालिका तनाव मुक्त हुने दाबी जनसेवा केन्द्रको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment