Comments Add Comment

बाबुरामले भने- अनौपचारिक छलफलमा जोड गरौं

१० कात्तिक, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अझै केही दिन दलहरुबीच अनौपचारिक छलफलको आवश्यकता औंल्याएका छन् । संविधानका विवादित विषयमा सहमति खोज्ने वातावरण केही खुकुलो भए पनि अझै अन्तर्यका गाँठाहरु नखुलेकाले दलहरुबीच थप छलफल आवश्यक रहेको उनको ठहर छ ।

Baburamअझै एक-दुई दिन अनौपचारिक छलफल गरेर मात्रै प्रमुख दलहरुको औपचारिक बैठक बसी संविधानका विवाद समाधानको प्रयास गर्नुपर्नेमा भट्टराईले जोड दिएको उनको स्वकीय सचिवालयले जनाएको छ ।

‘अझै पनि आशा मारिहाल्ने अवस्था छैन,’ भट्टराईले भनेका छन्, ‘तर विभिन्न पार्टी र पार्टीका पनि विभिन्न नेताहरुका सरोकार, चाहना, इच्छा, आकांक्षाहरुलाई पनि सम्बोधन गर्ने ढंगले नगएसम्म गाँठो नफुक्ने हो कि भन्ने अनुभुति हुन्छ ।’

भट्टराईले यस्ता अन्तरकुन्तर खोतल्न अझै १-२ दिन प्रयत्न गर्ने पनि बताए । १२ गतेसम्म अनौपचारिक विषयमा बढी जोड दिएर १३ र १४ गते तीन दलको औपचारिक बैठक बसेर १५ गतेसम्म टुंगो लगाउने प्रयत्नमा भट्टराई रहेको उनको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

आज डाकिएको प्रमुख तीन दलका शीर्षनेताहरुको औपचारिक बैठक नेकपा एमालेका नेताहरुको अनुपस्थितिका कारण बस्न सकेन । एमालेका नेताहरु नआएपछि एमाओवादी र नेपाली कांग्रेसको अनौपचारिक छलफल मात्रै भएको थियो ।

सहमति निर्माण हुन अझै केही समय लाग्नेतर्फ संकेत गर्दै सभापति भट्टराईले भने, ‘बाहिरबाट हेर्दा त एउटै बैठकबाटै सहमति भएर आइदिए हुन्थ्यो जस्तो लाग्छ, तर ठूला युद्धपछि हुने सम्झौतामा धेरै गोप्य, निजी, अनौपचारिक छलफलबाट मोटामोटी निष्कर्षमा पुर्‍याएपछि बल्ल औपचारिक बैठकले टुंग्याउने हुन्छ, हामी पनि संविधानको मूल विषय टुंग्याउन बल गरिराखेका छौं ।’

मंगलबार सम्वाद समितिको बैठक

मंगलबार संवाद समितिको पनि औपचारिक बैठक बस्दैछ । सो बैठकमा सहमति नभए के गर्ने भन्ने विषयमा संवाद समितिको बैठकमा आउँदा सोचेर आउन आफूले दलका नेताहरुलाई भनेको सभापति भट्टराईले जानकारी दिए ।

अब आफू धेरै लम्ब्याउने पक्षमा नरहेको भट्टराईको भनाइ । उनले भने, ‘सहमति हुन सके सहमति गरेर पठाउने र सहमति नभए अर्को प्रक्रिया के गर्ने हो, संविधानसभाले गरोस् भनेर पठाउने पक्षमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment