Comments Add Comment

पृथ्वीनारायण शाह र नेपालको हिन्दु–बुद्ध राष्ट्रवाद

रुद्र चूडाल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकासँग झुकेनन् | अन्ततः अमेरिका नै झुक्यो र उनलाई भिसा दिएर स्वागत गर्यो | त्यस्ता मोदीलाई पनि झुकाउन सक्ने हाम्रो नेपालमा तागत छ । एकवर्ष भित्रै फेरि दोस्रोपटक उनी पशुपतिनाथ आएर झुक्दैछन् | उनी यसपालि सीता माता जानकीको जन्मथलो जनकपुर र बुद्धको जन्मथलो लुम्बिनीमा पनि झुक्दैछन् |

पशुपतिनाथ, जनकपुर र लुम्बिनी नेपालका प्राचीनकालदेखि शक्तिका स्रोत हुन् | त्यही स्रोतका कारण विगतमा विशाल नेपाल निर्माण भएको थियो | त्यत्रो भारत, पाकिस्तान, बंगलादेश अंग्रेजहरुले क्वाप्पै खाँदा नेपाल खान सकेनन् |

rudra-chudal
लेखक

हामी नेपालीले कसैसँग झुक्नु परेको थिएन | सुगौली सन्धिमा लुम्बिनी र जनकपुर खाएर पनि फिर्ता गर्न अंग्रेजहरु बाध्य भए | खान सकेनन् | त्यसैले त पशुपतिनाथले रक्षा गरुन् भन्ने चलन उहिल्यैदेखि चलेको रहेछ |

दक्षिण एशीयाकै प्रमुख शक्ति भएरै होला, नेपालको पशुपतिनाथमा दक्षिण भारतका पुजारी रहने गरेका | नत्र त ऊ बेलाको जमानामा यातायात थिएन, उनीहरु बर्षौ यात्रा गरेर पशुपतिनाथमा पुजारी बन्न किन आइरहन्थे होला र ?

नेपालका शक्तिका स्रोतमध्ये अर्को प्रमुख शक्तिको स्रोत मुस्ताङको मुक्तिनाथ पनि हो | यही मुक्तिनाथमा दर्शन गर्न आउँदा बनारसका मिश्र बाहुनहरू गोरखा दरबारमा उहिल्यैदेखि बास बस्ने गरेको पाइन्छ |

बनारस युगौंदेखि हिन्दुहरुको धार्मिक मात्र होइन, विद्याको प्रमुख थलो पनि थियो | त्यस्तो ठाँउका ठूला घरानाका मिश्र परिवारलाई पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न आउँदा जाँदा खान र बस्न दिएर स्वागत गर्ने अवसर पाएको गोरखा दरबारले पछि अर्याल बाहुनहरुलाई हटार्इ मिश्रहरुलाई राजगुरु बनायो | यही मिश्र घरानाका श्रीहर्ष मिश्रले पृथ्वीनारायण शाहलाई ब्रतबन्धमा मन्त्र सुनाएका थिए | त्यति मात्र होइन, उनले पृथ्वीनारायण शाहलाई पटना, इलाहवाद र बनारसको भ्रमण गराएका थिए | श्री मिश्रले पृथ्वीनारायण शाहलाई केटी खोजेर विवाह पनि गरिदिए |

त्यसबेला मधेशी सेन राजाहरु बाहेक बाइसी चौविसी अरु पहाडी राजाहरुलाई मधेशी राजपूतहरुले छोरी दिंदैनथे  | किनभने मधेशी राजपूत धनी हुन्थे | पहाडमा हावापानी नमिल्ने भएर पनि हुन सक्छ | यिनै मिश्रको प्रभावका कारण मकवानपुरका राजाले पृथ्वीनारायणलाई छोरी दिए |

मकवानपुरका राजाले उचित दाइजो नदिएको भन्दै श्री मिश्रले पछि गोरखपुरका धनी राजपूत दयाराम सिंहकी छोरी विवाह गराइदिए | कुनै कुनै इतिहासकारहरुले बनारसका राजपूत  अहिमानसिंहकी  छोरी नरेन्द्रराज्य लक्ष्मी भएको कुरा पनि लेखेका छन् | सबैतिरबाट भाग्यले साथ दिँदै आएकोले पृथ्वीनारायण शाहलाई पाटनका प्रधानहरुले इ.सं. १७६४ मा राजा बनाए |

पृथ्वीनारायण शाहलाई उनीहरुले नेवारकी छोरी पनि विवाह गराइदिए | यसअघि मधेशको ठूलो भूभागमा फैलिएको देश मकवानपुरले पृथ्वीनारायण शाहलाई राजा बनाइसकेको थियो | त्यसबेला मकवानपुर मधेशको ठूलो भएता पनि आर्थिक रुपमा कमजोर थियो | बंगालका मुगलहरुलाई हात्तीहरु र बर्षको १२ हजार रुपियाँ दिनु पर्दा मकवानपुर टाट थियो | त्यसकारण बंगाल अंग्रेजको नियन्त्रणमा गएको मौका छोपी त्यहाँका एकथरि भारदारहरुले गोरखाको सहायता लिएर विद्रोहीहरुको दमन गरी पृथ्वीनारायण शाहलाई राजा माने |

यसैगरी पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहको पनि गोरखपुरकै मधेशी राजपूतकी छोरी राजेन्द्र लक्ष्मीसँग विवाह भयो | दरबारमा पकड बलियो बनाइराख्न चाहने पाटनका प्रधानहरुले पूर्व मन्त्री वीरनरसिंहकी छोरी मैजुरानीको प्रातापसिंह शाहसंग विवाह गराइदिए | अंग्रेजहरुले पश्चिम भारतमा मुगल बादशाहरुलाई नियन्त्रण गर्दै लगे पछि पश्चिमी नेपालका हिन्दू राजपूत राजाहरुले पनि नेपालका राजालाई महाराजा हिन्दूपति मान्ने क्रम बढ्दै गयो | यसरी  पृथ्वीनारायण शाह नेपालको महाराजा बनेको ४० वर्ष भित्रमै नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा काँगडा र दक्षिणमा मधेशको ठूलो भूभागमा फैलिएको थियो |

पृथ्वीनारायण शाहले नेपाल हिन्दूहरुको प्रमुख स्थान भएको घोषणा गर्दै काठमाण्डुबाट  फिरंगीहरुलाई निष्काशन गरेपछि नै हिन्दू  राजपूत राजाहरु नेपालका राजालाई महाराजा मानेर एकीकृत हुन बाध्य हुँदै गएको देखिन्छ |किनभने अंग्रेजहरुले मुसलमानको शासन हडपेपछि आफ्नो राजा फिरंगीसँग चाहिँ नझुकोस् भन्ने हिन्दूहरुको चाहना हुन्थ्यो |

यसरी  नेपाल प्राचीनकालदेखि हिन्दू र बुद्ध सभ्यताको प्रमुख थलो भएकोले फिरंगीहरुबाट बच्न बिशाल नेपाल पुनर्स्थापित र विस्तार भयो | गोरखाले हतियारको बलबाट नेपाल एकीकरण गरेको हो भन्ने हाम्रा इतिहासकारहरुले दाबी त गरेका छन् । तर, उनीहरुले तथ्यलाई पूर्ण ढाकछोप गर्न चाहिँ सफल भएको देखिँदैन |

सरसर्ती हेर्दा पृथ्वीनारायण शाह कुनै तानाशाह वा एकात्मवादी जस्ता देखिँदैनन् | तर, पृथ्विनारायण शाहलाई उपत्यकाले राजा बनाएपछि भने उनलाई हिन्दूपति मानेर सबैले आफ्नो स्वसासन कायम राख्दै नेपालसँग एकीकृत भएको प्रष्ट देखिन्छ | टाढा टाढाबाट नेपालमा एकीकृत हुन चाहनेहरुले आफ्ना विद्रोही दबाउन सैन्य सहयोग माग्ने गरेका र नेपालले खस मगर सम्मिलित लडाकु फौज त्यसतर्फ पठाउने गरेको कुरा चाहिँ सत्य हो |

अब खस मगर लडे भन्दैमा गोर्खालीले जितेको भन्नु त भएन नि | किनभने त्यसबेला सबैका लडाकु खस मगर नै हुन्थे | जस्तो काठमाडौँका राजा जयप्रकाश मल्लका सेनापति जयन्त राना मगर थिए | उता भक्तपुरमा परशुराम थापा सेनापति थिए | चौदण्डीका मधेशी राजाका सेनापति स्वरुपसिंह कार्की थिए | यसैगरी मकवानपुरका मधेशी राजा दिग्बन्धन सेनका सेनापति कनकसिंह बानियाँ थिए | अवधका मुगल नवावले बुटवलमा आई खस मगर सैन्य भर्ना गर्थे | पञ्जावको लाहोर (हाल पाकिस्तान)मा समेत खस मगर लडाकु भर्ना गर्ने चलन भएको देखिन्छ | जस्तै नालापानीमा नेपाल अंग्रेज युद्द सकिएपछि बलभद्र कुंवर लाहोर गर्इ खस मगर सैन्य कम्पनीको नायक भएका थिए | त्यसबेला चलन नै त्यस्तै थियो |

चौदण्डी राजाका सेनापति स्वरुपसिंह कार्की प्रतापसिंह शाहका पालामादिवान(प्रधानमन्त्री) पदमा नियुक्त भएका थिए | उनको जस्तो यति ठूलो पद गोरखाका खसहरुले यसअघि पाएकै थिएनन् | गोरखाका कुँवर र बस्नेतहरुले चौदण्डी जितेका भए यी कार्कीले नेपाल दरबारमा यति ठूलो पद पाउँथे होलान् ?

राजेन्द्रलक्ष्मीको पालामा सर्वजीत रानामगर मूलकाजी(प्रधानमन्त्री) भएका थिए | यिनी कहाँका थिए भन्न सकिएन | तर, यिनलाई गोरखाका खसहरुले षड्यन्त्र गरी राजेन्द्रलक्ष्मीसंगै यौन सम्बन्ध राखेको आरोप लगाई हत्या गरिदिए |

नेपालको इतिहास वास्तवमा के हो, व्यापक अनुसन्धान नगरी यसै विश्लेषण गर्न गाह्रो छ | तर, सरसरी हेर्दा विशाल नेपाल एकीकृत हुनमा जनकपुर, लुम्बिनी र काठमाडौंको हिन्दू–बुद्ध राष्ट्रियताले काम गरेको चाहिँ प्रष्ट देखिन्छ |

यसैवीच अंग्रेजहरु नेपालमा हस्तक्षेप गरेर भाँड्न नसके दक्षिण एसियाबाटै भाग्नुपर्ने दिन आउने स्थिति देखेर हिन्दू बुद्धमार्गीहरुसँग डराइरहेका थिए | किनभने अवध उनीहरुको कब्जामा आए पनि त्यस अन्तर्गतका पश्चिम नेपालका हिन्दू राजपूत राजाहरुले फिरंगीहरुलाई कर नतिर्ने भन्दै धमाधम नेपालमा एकीकृत भैरहेका थिए |

यता नेपाल दरबारमा बस्नेतकी छोरी रणबहादुरलाई विवाह गराएर गोरखाका खसहरुले नेपालको भारदारी सभामा छिर्न सफल भएका थिए | यही  नाताबाट भारदारीमा छिरेका किर्तिमानसिंह बस्नेतले भीमसेन थापालाई रणबहादुरको अंगरक्षक बनाइदिएका थिए | यिनै अंगरक्षक थापाले ठूलो दरबार हत्याकाण्ड गराए |

त्यसबेलाको समाजमा फलानाको छोरा, फलानाको नाति भनेपछि समाजले उसलाई मान्थ्यो | ती साना बच्चा ठूला भएपछि समाजले तिनलाई मान्छ र आफ्नो सत्ताको लागि चुनौती बन्लान् भन्ने डरले भीमसेन थापाले ती निर्दोष बच्चाहरुको हत्या गरेको देखिन्छ | राजधानीमा ठेउलाको महामारी सर्छ भन्ने बहाना बनार्इ  खस, बाहुन र नेवारबाहेक अन्य जातिका धेरै मानिसलाई उपत्यकाबाट निष्कासन गरिएको पाइन्छ |

भीमसेन थापाले हत्याकाण्ड गरिसकेपछि नेपाल दरबारमा साढे ३ वर्षका राजा गिर्वाणयुद्द विक्रम शाह, थापाकी भतिजी १३ वर्षिया महारानी त्रिपुरासुन्दरी र बस्नेत रानी पट्टिका ५ वर्षका रणदत्त शाह मात्र बाँकी थिए |

यसरी भीमसेन थापाले राजपरिवार र विभिन्न जातजातिका ठूला भारदारको हत्या गरी देशमा खसवादको जग बसाए |

रणबहादुरले बस्नेतकी छोरी शूवर्णप्रभासँग विवाह गरे पनि उनले महारानीको दर्जा नपाउनु, रानीको दर्जा मात्र पाउनु, तिनीपट्टिबाट जन्मेको जेठा छोरालाई राजा बनाउन सबै भारदारहरुले नमान्नु तर उता मधेशी मिश्र बाहुनी कान्तिवतीले महारानीको दर्जा पाउनु र उनका छोरा गिर्वाणयुद्दलाई राजा घोषित गर्न ९५ भन्दा बढी भारदारहरुले हस्ताक्षर गरेर धर्मपत्र गर्नु जस्ता घटनाको विश्लेषण गर्दा रणबहादुर हत्याकाण्डअघि नेपाल दरबारमा गोर्खालीहरुको प्रभाव सून्य देखिन्छ |

भीमसेन थापाले खस तानाशाही चलाएर नेपालको भारदारी सभालाई आफ्नो परिवारमा मात्र सीमित राखे | उनले आफ्ना बुबा र भाइलाइ पाल्पाको प्रान्तपाल बनाए | सबै महत्वपूर्ण ठाउहरुमा आफ्ना भाइहरु, भाइका र आफ्ना ससुराली खलक, भाइका छोराहरुका ससुराली खलक, आफ्ना छोरीज्वाईंहरुलाई नियुक्ति दिलाएर श्वशासन खोस्दै खसवादलाई मजबुत बनाउँदै बहुभाषिक र बहुसांस्कृतिक नेपालको खिल्ली उडाए |

उनैको पदचाप पछ्याउदै गोरखामै जन्मेका जंगबहादुरले कोतपर्व र भण्डारखाल पर्व गराएर खसवादलाई निरन्तरता दिए | भिमसेन र आफ्ना बाबुको पतन देखेका जंगबहादुरले सबैभन्दा पहिले खसको सामाजिक मर्यादा बढाउनु आवश्यक ठाने | त्यसकारण उनले आफु भारतीय राजपूतको सन्तति भएको भन्दै राणा थर लेखाएर राजपरिवारसँग आफ्ना छोरा छोरीहरुको विवाह गराए | यसैगरी  गुरुङहरुलाई हात लिएर आफुलाई लमजुँग र कास्कीको श्री ३ महाराज भएको घोषणा गराए | बिस्तारै समय क्रममा सबै जनताले उनलाई श्री ३ महाराज भनिदिए र खसवाद (गोर्खाली राष्ट्रवाद) बलियो भएर गयो |

अब यहाँनिर हामीसंग दुइवटा इतिहास छन् । एउटा युगौंदेखिको श्वशासनयुक्त संघीय नेपालको हिन्दू–बुद्ध  राष्ट्रवादमा आधारित गौरवमय इतिहास । र, अर्को अंगरक्षकहरु भीमसेन थापा र जंगबहादुरले स्थापना गरेको खसवादी हिंसा र षड्यन्त्रमा आधारित गोर्खाली इतिहास | आम नेपालीलाई विद्यालयमा गोर्खाली इतिहास घोकाइएको र पढाइएको छ |

गलत इतिहासले राष्ट्रलाई गलत दिशातर्फ धकेल्छ भन्ने कुरा नेपाली(गोर्खाली) सेनामा जागिर सुरु गरेका, गोरखाको विद्यालयमा शिक्षक बनेका र गोरखामा पहिलो गुरिल्ला तालिम लिएका र पछि भारतमा भूमिगत बसेर हिंसा र षड्यन्त्रको राजनीति गर्ने प्रचण्ड र गोरखामै जन्मे हुर्केका बाबुराम भट्टराई, उनीहरुको पार्टी एवं तिनकै आडमा पुनर्स्थापित भएका एमाले, कांग्रेसहरुले देशलाई संविधान दिन नसकेको अवस्थाबाट पनि हामी यो कुरा बुझ्न सक्छौं |

अब हाम्रो भूमिमा आएर झुक्ने र नेपाललाई माया गर्ने मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो देशको कुन इतिहासलाई बुझेका होलान् ? त्यसमा भने हामी सबै सचेत र जागरुक भर्इ हामी नेपालीको वास्तविक परिचय खुलाउने बेला आएको छ | किनभने हामीलाई माया गर्नेले हामीलाई चिन्नु पनि त अत्यन्त जरूरी हुन्छ नि होइन र ?

(रेडियो नेपालका पूर्वबरिष्ठ सम्पादक चूडालले नेपालको इतिहासमा स्नातकोत्तर गरेका छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment