+
+
Shares

लोकमानसिंह ‘वाच डग’ हुन् कि ‘बाइटिङ डग’ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते १०:०६

lokman 1 १९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की ‘वाच डग’ हुन् कि ‘बाइटिङ डग’ भन्ने विषयमा सिंहदरबारमा बुधबार बिहान गर्मागर्मी बहस भयो ।

विकास आयोजनाहरुमा अख्तियारले क्षेत्राधिकार मिचेर हस्तक्षेप गरेको भन्दै संसदको अर्थसमितिले बुधबार बिहान कार्कीलाई सिंहदरबारमा बोलाएको थियो । सो बैठकमा कार्कीले आफू सरकारको ‘वाच डग’ मात्रै भएको बताए ।

तर, कार्कीतर्फ औंलों ठड्याउँदै पूर्व अर्थमन्त्री समेत रहेका एमाले सभासद सुरेन्द्र पाण्डेले भने-‘तपाईले अधिकार उल्लंघन गर्नुभएको छ, तपाई वाच डग हैन, बाइटिङ डग बन्नु भो ।’

पाण्डेको आरोपको जवाफ दिँदै कार्कीले भने- ‘अख्तियारलाई आफ्नो भूमिका राम्रोसित थाहा छ, यो ‘बाइटिङ डग’ हैन, ‘वाच डग’ नै हो । र, अख्तियारले शासन गर्न खोजेको छैन ।’

prakash-jwala
प्रकाश ज्वाला

सभासद भर्सेज अख्तियार

बैठकको प्रारम्भमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले लोकमानमाथि लागेका आरोपहरुबारे जानकारी गराएका थिए । अख्तियारले क्षेत्राधिकार मिचेर आफैं शासन गर्न खोज्यो, प्रशासनिक भन्दा पनि फौजी संरचना बनाउन थाल्यो र कर्मचारी युनियनको कार्यालयमा गएर आतंक मच्चाइयो भन्ने आरोप ज्वालाले लोकमानमाथि लगाएका थिए ।

जवाफमा लोकमानले अख्तियारले व्यक्तिलाई नचिन्ने भन्दै युनियनलाई टार्गेट नगरिएको बताए । कानून विपरीत काम गर्नेहरु अख्तियारबाट डराएको भए आफ्नो भन्नु केही नरहेको भन्दै कार्कीले अख्तियारले आतंक नमच्चाएको दाबी गरे ।

अख्तियारमा केही प्रहरीहरुको संख्या थपिएको भए पनि यसलाई फौजी संगठनका रुपमा विकास नगरिएको कार्कीले बताए ।

बरु मन्त्रालयगत निर्णय गर्नुपर्ने विषयलाई अख्तियारले नसमातोस् भनेर क्याबिनेटबाट पारित गराइएको भन्दै कार्कीले सरकारको आलोचना गरे । तीन वटा त्यस्ता निर्णय क्याबिनेटबाट पारित गरिएको उनले बताए ।

लोकमानले भने- अबदेखि अर्थ समितिमा आउँदिन

lokman 2प्रमुख आयुक्त कार्कीले आफूलाई बोलाउने अधिकार जुनसुकै संसदीय समितिलाई नभएको भन्दै अबदेखि अर्थ समितिमा नआउने बताएका छन् । अर्थ समितिको बैठकमा पाँच पृष्ठ लामो लिखित जवाफसमेत पेश गर्दै कार्कीले आफूलाई संसदको अर्थ समितिले बोलाएर वयान लिन क्षेत्रधिकारले नदिने बताए ।

‘मलाई कार्यसम्पादन नियमावलीअनुसार सुशासन तथा अनुगमन समितिले मात्रै बोलाउन मिल्छ, त्यहाँ हामीले कुरा राखिसकेका छौं,’ प्रमुख आयुक्त कार्कीले अर्थ समितिको बैठकमा भने, ‘अबदेखि केही भन्नु परे सुशासन समितिमा उपस्थित हुने व्यवस्था गर्न सभापति मार्फत आग्रह गर्छु ।’

विद्युत आयोजनाबारे थप बहस

अख्तियारले काबेली लगायतका विभिन्न विकास आयोजनामा हस्तक्षेप गरेको भन्दै प्रमुख आयुक्त कार्कीलाई वयानका लागि अर्थ समितिले बोलाएको हो ।

यसक्रममा काबेली जलविद्युत आयोजनाका ठेकेदारको लाइसेन्स खारेज गर्ने आदेश दिने अधिकार अख्तियारलाई नभएको सभासदले कार्कीलाई आरोप लगाए ।

तर, कार्कीले अख्तियार विकास विरोधी नभएको बताए । उनले झोलामा खोला बोकेर हिँड्ने र बिजुली ननिकाल्नेहरुलाई आवश्यक कारवाही गर्नमात्रै भनिएको तर लाइसेन्स खारेज गर्न निर्देशन नदिएको स्पष्ट पारे । उर्जा मन्त्रालय र विद्युत विभागले  काबेलीमा काम नभएको भनेपछि अख्तियारले छानविन गरेको कार्कीले बताए ।

surendra pandey
सुरेन्द्र पाण्डे

तर, अर्थ समितिका सदस्यसमेत रहेका पाण्डेले आफू अर्थमन्त्री समेत रहेकाले काबेलीको समस्याबारे राम्रो जानकारी रहेको भन्दै त्यहाँको समस्या लाइसेन्सको नभई ट्रान्समिटरको भएकाले त्यो नीतिगत समस्यामा अख्तियार प्रवेश गर्न नमिल्ने बताए । ‘अख्तियारको काम व्यक्ति र संस्थाले गर्ने भ्रष्टाचार हेर्ने हो, नीतिगत प्रश्नमा हस्तक्षेप गर्न मिल्दैन,’ पाण्डेले भने, अख्तियार एयरपोर्टमा बत्ती बाल्नु, ट्वाइलेट सफा गर्नु भन्दै हिँडेको छ ।’

पाण्डेलाई जवाफ दिँदै अख्तियार प्रमुख पनि झ्वाँक्किए, ‘म पनि पूर्व उर्जा सचिव हुँ, काबेलीको बारेमा पनि मलाई राम्रोसँग थाहा छ । अरुण ३ को प्रोजेक्ट त्यता गएको हो । विदेशी आउँदा पहिलोपटक देख्ने एयरपोर्टमा मानवीय हिसाबले पनि त्यसो भन्नु नाजायज होइन ।’

अर्थ समितिको बैठकमा सभासद सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, चन्द्र भण्डारीलगायतले विकास आयोजनामा अख्तियारले हस्तक्षेप गरेका कारण विकासका काम ठप्प हुन थालेको भन्दै अख्तियारको आलोचना गरेका थिए ।

तर, लोकमान तीनजना सभासदको कुरा सुनेपछि अबदेखि अर्थ समितिमा आउँदिन भन्दै वीचैमा उठेर हिँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?