Comments Add Comment

ज्योति र गण्डकी विकास बैंकले बढाए नाफा, घाटामा रहेको कन्ट्री पनि खुद नाफामा

१९ कात्तिक, काठमाडौं । बुधबार पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका तीनवटा विकास बैंकले खुद नाफा बढाएका छन् । ज्योति विकास बैंक र गण्डकी विकास बैंकले खुद नाफा बढाउन सफल भएका छन भने अघिल्लो वर्ष खुद घाटामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक पनि यस वर्ष खुद नाफामा गएको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंक चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा ९२.१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले एक करोड रुपैयाँ खुद नाफा गरेको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा बैंकले जम्मा ५२ लाख रुपैयाँमात्र खुद नाफा गरेको थियो ।

Profit-gainबैंकले तीन महिनामा खुद ब्याज आम्दानी ५ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो त्रैमासमा यस्तो आम्दानी ५ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको प्रोभिजन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

अघिल्लो वर्षको पहिलो तीन महिनामा १ लाख ९७ हजार रुपैयाँ प्रोभिजन छुट्टाएको बैंकले यस वर्ष १ करोड १५ लाख रुपैयाँमात्र छुट्टाएको छ । बैंकको खराब कर्जाको मात्रा ४.४४ प्रतिशतबाट ३.४८ प्रतिशतमा झरेपछि प्रोभिजन घटेको हो ।

खुद ब्याज आम्दानी उल्लेख्य बढ्न नसकेपछि प्रोभिजन रकम घटेपछि बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ७६ लाख रुपैयाँले बढेको छ । अघिल्लो त्रैमासमा ८१ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा गरको बैंकले यस त्रैमासमा १ करोड ५७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा, मूल्य आम्दानी अनुपात ३३.४८ गुणा, प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ३३ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ८३४ रुपैयाँ ८१ पैसा र तरलता अनुपात ३७.२८ प्रतिशत रहेको छ ।

गण्डकी विकास बैंक

पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले पहिलो त्रैमास ६७ लाख रुपैयाँ खुद नाफा बढाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष १ करोड ३५ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

यस अवधिमा बैंकले खुद ब्याज आम्दानी बढाएर ४ करोड २७ लाख ५९ हजार रुपैयाँ पुर्‍याएको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आम्दानी २ करोड ६८ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रोभिजन भने अघिल्लो वर्षको ७७ लाख ८७ हजार रुपैयाँको तुलनामा बढेर १ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष दोब्बर २ करोड ६ लाख रुपैयाँ यस्तो नाफा गरेको छ ।

यस अवधिसम्म बैंकले ३ अर्ब २८ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।

बैंकको खराब  कर्जाको मात्रा १.३९ प्रतिशतबाट घटेर ०.८१ प्रतिशतमा झरेको छ । त्यस्तै, प्रति शेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा, मूल्य आम्दानी अनुपात २०.१४ गुणा, प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ २२ पैसा, तरलता अनुपात २४.८९ प्रतिशत रहेको छ ।

कन्ट्री डेभलपमेन्ट बैंक

अघिल्लो वर्षको पहिलो त्रैमासमा १६ लाख ९० हजार रुपैयाँ खुद घाटामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक यस वर्षको पहिलो त्रैमासमा १२ लाख ७६ हजार रुपैयाँ खुद नाफामा गएको छ ।

खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंक नाफामा गएको हो । अघिल्लो वर्ष ५३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको बैंक यस वर्ष २० लाख रुपैयाँ नाफामा रहन सफल भयो ।

बैंकले खराब कर्जाको मात्रा पनि ३.७५ प्रतिशतबाट घटेर ३.३५ झार्न सफल भएको छ ।  बैंकको प्रति शेयर आम्दानी ०.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५० गुणा, प्रति शेयर नेटवर्थ १०८ रुपैयाँ २५ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ५८० रुपैयाँ ९९ पैसा र तरलता अनुपात ३६.३४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment