१९ कात्तिक, काठमाडौं । विवादस्पद छवि र विदेशी पिआर होल्डरका कारण सामान्य प्रशासन मन्त्रालयले ‘लो प्रोफाइल अड्डामा’ राखेका सहसचिव भरत सुवेदी अर्थमन्त्री रामशरण महतको ‘भिटो’ प्रयोग गरी अर्थमा काज सरुवा भएका छन् ।
करिव ६ महिनाअघि उपसचिवबाट सहसचिव बढुवा भएप्छि श्रम मन्त्रालय अन्तर्गतको सीप विकास केन्द्रमा पोष्टिङ गरिए पनि सुवेदीले अर्थ मन्त्रालय बाहेक अन्त जान्न भन्दै पत्र नबुझी बसेका थिए ।
सामान्य प्रशासनले उनलाई अर्थमा नपठाएपछि अर्थमन्त्री महतले काजमा आफ्नो मन्त्रालयमा झिकाएको स्रोतले जनाएको छ । उनको काज सरुवा सोमबारै भए पनि पोष्टिङ हुन बाँकी छ ।
अर्थमन्त्री महतले उनलाई सम्पत्ति सुद्धिकरण विभागको महानिर्देशक बनाउन लागेको महत निकट स्रोतले जनाएको छ । उनको काज सरुवाको पत्र अर्थको कर्मचारी प्रशासन महाशाखामा पुगिसकेको छैन ।
लालबाबु पण्डितले भने-थाहा छैन
सुवेदीको काज सरुवाबारे आफूलाई कुनै जानकारी नभएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनलाइनखबरलाई बताए । ‘मलाई त थाहा छैन, मलाई थाहा नदिई कसरी काज सरुवा होला र’ पण्डितले भने ।
निजामति सेवा ऐन अनुसार सहसचिवको काज सरुवामा पनि सामान्य प्रशासनको सहमति आवश्यक हुन्छ । केही समयअघिमात्र उमाकान्त पराजुली लगायतका सहसचिवको काज सरुवा सामान्यको सहमतिमा भएको थियो ।
अर्थमन्त्रीको सेटिङ
सुवेदीलाई अर्थ मन्त्रालयमा ल्याउनकै लागि उनले लामो समयदेखि सम्पत्ति सुद्धिकरण बिभागमा अरुलाई नियुक्ति दिएका थिएनन् । यसअघिका महानिर्देशक चुडामणि शर्मालाई आन्तरिक राजश्व विभागको महानिर्देशकमा सरुवा गरेका महतले सम्पत्ति सुद्धिकरणमा आफ्ना विश्वासपात्र सुवेदीलाई लैला लागेका छन् ।
सुवेदीले आफूल्ााई सम्पत्ति सुद्धिकरणको महानिर्देशक बनाएमा ५ खर्ब राजश्व उठाइदिने बताएका थिए । उनले महतलाई चुनावका बेला आर्थिक सहयोग गरेको आरोप लागेको छ । त्यसैले पनि महतले प्रधानमन्त्रीको अनिच्छा हुँदा हुँदै सुवेदीलाई च्यापेको स्रोतको दावी छ ।
दुई मन्त्रीको भनाभन
सहसचिव सुवेदीलाई अर्थ मन्त्रालयमा लैजान अर्थमन्त्री डा. महतले शुरुदेखिनै जोडबल गरेका थिए । विदेशी पिआर लिएको र अर्थ मन्त्रालयमा लामो समयसम्म बस्दा विवादस्पद छवी बनाएको भन्दै सामान्य प्रशासन मन्त्री पण्डितले उनलाई अर्थमा पठाउन अस्वीकार गरेका थिए ।
सुवेदीकै विषयलाई लिएर मन्त्रिपरिषद बैठकमा दुई मन्त्रीबीच भनाभन भएपछि प्रधानमन्त्री सुशील कोइरालाले पण्डितको अडानलाई समर्थन गरेका थिए । आफूलाई अर्थमा जानबाट रोकपछि सुवेदीले बिभागीय मन्त्री पण्डितलाई सार्वजनिक रुपमै गालीगलौज गरेका थिए ।
प्रधानमन्त्री नै अनिच्छुक
आर्थिक र चारित्रिक मामिलामा विवास्पद सुवेदीलाई महतले अर्थमा लैजान खोज्नु गलत नियत भएको भन्दै कांग्रेस सम्बद्ध कर्मचारीले नै विरोध गरेका थिए ।
कांग्रेस सम्बद्ध कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटा लगायतले सुवेदीको बिगतबारे जानकारी दिएपछि कोइरालाले अर्थमन्त्रीलाई ‘गलत व्यक्ति नच्याप्न’ सुझाव दिएको स्रोतले जनाएको छ ।
सुवेदीले यसअघि एमाले महाधिवेशन चलिरहेकै बेला प्रधानमन्त्री कोइराला उपचारका क्रममा अमेरिका रहँदा पनि अर्थमा सरुवा गराउन मन्त्रिपरिषदबाटै निर्णय गराएका थिए । तर, सामान्य प्रशानमन्त्री पण्डितको बिरोध र एमाले महाधिवेशन हलमै कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको बिरोध भएपछि सो निर्णय कार्यन्वयन भएको थिएन ।
बद्नाम बिगत
जागिरे अवधिमा अधिकांश समय अर्थ मन्त्रालयभित्र आकर्षक कमाइ हुने ठाउँमा मात्र बसेका सुवेदी उपसचिवबाट सहसचिव बढुवा भएपछि पुनः अर्थमा जान चाहन्थे ।
आर्थिक मामिलामा बदनाम मानिने सुवेदी २०५८ सालमा अख्तियारले अकुत सम्पत्तिमा पक्राउपुर्जी जारी गरेपछि फरार भएर जोगिएका थिए । अख्तियारका तत्कालिन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राजश्वका २२ जना कर्मचारीमाथि अकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ पुर्जी जारी गरेका थिए ।
अरु २१ जना समातिए पनि सुवेदी अख्तियारको टोली पुग्नुभन्दा ५ मिनेट अघिनै सुराकी पाएर मध्यरातमा घरबाट फरार भएका थिए । २१ जनामध्ये अधिकांशले जेल सजाय भोगिसके पनि उननी विशेष अदालतमा रहस्यमय ढंगले सफाइ पाउनेमा पर्छन्
प्रतिक्रिया 4