+
+

स्तन क्यान्सरले आक्रान्त म…. अनि मृत्यु नजिकको अनुभूति !

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १८:५०

Basudha Nepal 650

२४ कात्तिक, काठमाडौं । बसुधा नेपाल पोखरेल एमाले नेता माधवकुमार नेपालकी बहिनी हुन् । स्तन क्यान्सबाट पीडित भई दिल्लीमा उपचार गराइरहेकी वसुधाले आफ्नो पुनर्जीवनबारे मार्मिक संस्मरण लेखेकी छन् ।

मानिसले मृत्युकै मुखमा पुगिसकेपछि कस्तो अनुभूति गर्दोहोला ? त्यतिबेला आफ्ना नजिकका मान्छे र परिवारजनको मनोदशा कस्तो हुन्छ होला ? यसबारे वसुधाले मर्मस्पर्शी एवं जीवन्त अनुभूति समाजलाई पस्कने प्रयास गरेकी छन् ।

क्यान्सरका रोगीलाई परिवार र समाजले स्नेह गर्नुपर्ने र उनीहरुमा बाँच्ने इच्छाशक्ति जगाउनुपर्ने वसुधा बताउँछिन् । आफू बिरामी भएपछि ठुल्दाजु माधवकुमार नेपालले गरेको काउन्सिलिङ, पति कैलाशले गरेको अपार माया र आफन्तको सहयोगले नै बाँच्ने इच्छाशक्ति बढाएको उनले लेखेकी छन् ।

दिल्लीमा रहँदा वसुधाले बिरामी अवस्थामै गत सेप्टेम्बर ३ मा आफ्नै हातले कापीका पानामा लेखेको मार्मिक डायरी यस्तो छ–

वसुधा नेपाल पोखरेल

Basudha Nepalसन् २०१४ जुलाई २ को त्यो रात रमाइलोसँग चलिरहेको थियो । सानो परिवारको हाम्रो प्यारो जिन्दगी, सरल तरिकाले चलिरहेको थियो । आफ्ना  प्र्रियतमको हत्केलाको स्पर्शले ब्रेस्टमा एउटा सानो लम्प (गाँठो) फिल गरिँदा पनि म केही होइन होला भन्ने सोचिरहेकी थिएँ ।

डरले सारा शरीर सिरिङ्ग भइरहेको त थियो । तर, मलाई यति ठूलो रोग लागेको होला भनेर कल्पनासम्म गरेकी थिइँन, जुन मेरो जिन्दगीको अकल्पनीय घटना बनेर रह्यो ।

शंका आशंकावीच हामी डाक्टरकहाँ गयौं । हामीले फिल गरेको र डाक्टरसँग समय लिएको अवधिको ग्याप पाँच दिनको थियो । डाक्टरले चेक गर्नेवित्तिकै लम्प चै हो, एकपटक एफएनएसी, म्याम्मो, अल्ट्रासाउन्ड गरेर हेरौं, अनिमात्र केही भन्न सकिन्छ भने ।

त्यतिबेलासम्म मेरा आँखाबाट बलिन्द्र धारा बग्न थालिसकेका थिए । आँसु थामिनै सकिरहेको थिएन । एफएनएसी गर्न बेडमा सुत्दा डाक्टरले तपाई धेरै नै आत्तिनुभयो, यस्तो नआत्तिनोस्, रिपोर्ट हेर्नुपर्छ भन्दै थिइन् ।

जुलाई ३ मा नेकपा एमालेको नवौं महाधिवेशन चलिरहेको थियो । ०७१ असार १९ गते थोरैमात्र शंका हो, धेरै केही पनि होइन भन्ने विश्वासका साथ महाधिवेशन उदघाटनस्थल भृकुटीमण्डपभित्र रमाइलो अनि हाँसीखुशी सबैजनाको बीचमा रमाएर, सबैकुरा बिर्सेर समारोहको सम्पूर्ण कार्यक्रम हेर्ने एउटा दर्शक थिएँ म ।

घर फर्केपछि पुन: मन डरायो । हातले फेरि छाम्न पुगें । डर झन– झन बढ्दै गयो ।

एफएनएसी, म्याम्मो, अल्ट्रासाउन्डको रिपोर्ट शंस्कास्पद आयो । रिपोर्ट थाहा पाउनेवित्तिकै त मेरा अगाडि अब सारा संसार शुन्यमा पुग्यो । मेरो दिमागले एउटा कुरा मात्र सोच्न थाल्यो, या त पशुपति आर्यघाट, या त यो शरीर अब कुनै अस्पताललाई दान दिन्छु, ताकि मेरो निधनपश्चात परिवारका सदस्यहरुलाई दुःख नहोस् ।

अर्को मनले सोच्यो, मैले यसो गरें भने कतै मेरो परिवारको मन पो दुख्ने हो कि ?

केवल । अनि केवल, बलिन्द्रधारा आँसुसँग धेरै कुरा खेलिरहेका थिए । अब म कति नै बाँच्छु ? एक हप्ता, एक महिना, छ महिना वा बढीमा एक वर्ष ? म नहुँदा मेरो यति सानो अनि प्यारो परिवारमा के होला ? मलाई यति माया गर्ने श्रीमान कैलाशलाई कसले माया गर्ला ? मेरो एकमात्र छोरा अंकितकी मामु नहुँदा कसले माया गर्ला ?

मैले त जिन्दगीमा केही गर्न नै पाएकी छैन, छोरो पढ्दै छ । भयावह दृश्यहरु मेरा आँखामा अविरल धारा बनेर बगिरहे ।

मैले जिन्दगीमा औडाहा भन्ने शब्दको अर्थ पहिलोपटक अनुभूत गरिरहेकी थिएँ । बेडरुम, बैठक, छत, कुर्सी, सोफा, एक सेकेन्ड पनि कतै बस्न सकिरहेकी थिइँन । जता गए पनि रुवाइ रोकिनै मानिरहेको थिएन । श्रीमानको अनुहार हेर्यो, झन डाँको छोडेर रुन मात्र आइरहेको थियो । मलाई नरोउ भनेर सम्झाउने कोशिस गर्दै गर्दा उनका आफ्नै आँसुको ऑसु जति लुक्न खोजे पनि सकिरहेको थिएन । तर, मेरा मनमा खेलिरहेको कुरा आँशुदेखि बाहेक शब्दमा मैले प्रस्फुटन नगर्ने प्रयास गरें ।

आफ्नो मृत्युलाई एकदम नजिकबाट भित्रभित्रै अनुभूत गरिरहेकी थिई विचरी वसुधा । सम्हालिन नसक्ने स्थिति भएपछि मेरा श्रीमानले ठूली भाउजू गायत्री नेपाललाई बोलाउनुभएछ ।

भाउजू आत्तिँदै बानेश्वर आइपुग्नुभयो । मेरो भक्कानो झन् बढ्यो । रोकिएन मेरो आवाज । एक्कैचोटि भन्न पुगें– म भोलि नै न्युरोड गएर अंकितको बिबाहका लागि सबै गहना–कपडा किनेर राखिदिन्छु । म मरेपछि मेरो छोराका लागि कसले माया गरिदिन्छ र ?

नरुने जति प्रयास गरे पनि ऑसु पटक्कै रोकिन सकिरहेको थिएन । त्यसपछि आफ्नो बेडरुममा पसें । शायद श्रीमान र छोराको मायाले होला, अचानक एकैचोटि मलाई शक्ति आयो । म जे–जसरी पनि यो क्यान्सरसँग लडेर विजय हासिल गर्छु र पुनः नयाँ जिन्दगी बाँच्छु भन्ने अठोट आयो ।

मेरो क्यान्सर अब बसुधा भर्सेज क्यान्सरमा परिणत हुनपुग्यो ।

Basudha nepal at ICU affter Operation

एमालेको महाधिवेशन चलि नै रहेको थियो । ठुल्दाजु माधवकुमार नेपाल अत्यन्त व्यस्त हुनुहुन्थ्यो । तर, पनि मेरो खबर सुन्नेवित्तिकै रातको १०ः३० बजे उहाँ बानेश्वर आइपुग्नुभयो ।

सुन्निएका मेरा ऑखा देख्नेवित्तिकै धेरै उदाहरण दिएर सम्झाउन थाल्नुभयो । यस्तोमा आत्तिन हुँदैन । जिन्दगीमा अचानक जे पनि हुन सक्छ । सवारी दुर्घटनामा पनि अचानक मानिसले जीवन गुमाइरहेका हुन्छन् । जीवनमा आफ्ना अगाडि जे आईपर्छ, त्यसको सामना गर्न हामीले सिक्नैपर्छ । जिन्दगीका यस्ता उतार–चढावलाई आत्मबलले जित्नुपर्छ । जिन्दगी सधैं एउटै रेखामा चल्दैन । जिन्दगीले जुन किसिमले बॉच्न लगाउँछ, त्यस्लाई त्यसैअनुसार चल्न सक्नुपर्छ हामीले । डाक्टरहरु छन्, औषधीहरु छन् । हो, केही समयका लागि पहिलेजस्तो जीवन यात्रा नहुन सक्छ, लाइफस्टाइल चेन्ज गर्ने, तर सबैभन्दा ठूलो कुरा विल–पावर, बाँच्ने–इच्छाशक्ति, आत्मवल बलियो बनाउनुपर्छ । करीब आधा–एक घण्टा ठुल्दाजुले मलाई जिन्दगीका धेरै उदाहरणहरु दिएर सम्झाउनुभयो ।

म केवल सुनिरहेकी थिएँ मलीन मुद्रामा । कुराकानीकै दौरान कैलाशजी धेरै अप्सनमध्येको राजीव गान्धी क्यान्सर अस्पताल, दिल्ली जाने करीब–करीब निर्णयमा पुगिस्यो । त्यसरात धेरै छट्पटाहटमै बिताइयो ।

यतिखेरसम्म मलाई यस्तो भएको कुरा हामी चार (मेरा श्रीमान, ठुल्दाजु, भाउजू र म) बाहेक परिवारका अरु सदस्यहरुलाई सुनाउन पाइएको थिएन । भोलिपल्ट बिहान घरतिर पनि बुबा तथा आफन्तलाई जानकारी गराइयो ।

उता माइतीघरमा पनि हल्लाखल्ला भएछ । एकै छिनपछि सान्दाजु–भाउजू आइपुग्नुभयो । वहाँहरुलाई देख्नेवित्तिकै मेरो भक्कानो फुटिहाल्यो । माल्दजु–भाउजूको पनि फोन आइपुग्यो । जति गरे पनि आँशु नै नथामिने ।

हामी बैठकमा बसिरहँदा कैलाशजी चाँहि बैठक–बेडरुम आउँदै–जादै गरिरहेका थिए ।  उनका ऑखाका डिलहरु पूरै सुन्निएको महसुस गरिरहेकी थिएँ म । पछिमात्रै एकदिन मलाई उनले भने-“श्रीमतीको माया यति हुँदोरहेछ कि दाजु–भाउजू कोठामा बसिरहँदा मैले तिम्रो अनुहार हेरेर आँशु थाम्नै सकिरहेको थिइँन” ।

भोलिपल्ट गाडी ड्राइभ गरेर अफिस जाने हिम्मत पनि थिएन मसँग । भाउजूकै गाडीमा अफिस गएँ । न त अफिसभित्र बस्ने, काम गर्ने मूढ थियो, न त बोल्ने । आँखा सुन्निएर एकदमै अप्ठ्यारो महसुस भैरहेको थियो ।

अफिसको बिदा मिलाउनुपर्ने थियो । सीइओ आर.आर. बज्राचार्य र डीसीओ सरलाई भेटेर जान्छु भनेर म कमलादी ब्राञ्च गएँ । सीइओ सरलाई आफूलाई परेको सबै सुनाएँ । बिदा अलि लामो नै चाहिएला भनेर रिक्वेस्ट गरें । वहाँले पनि सहृदयता देखाएर मलाई, ल “बसुधाजी नआत्तिएर जानुस्, सबै ठीक हुन्छ, भनी ढाडस दिनुभयो ।

भोलि दिल्ली जाने सुटकेसमा लुगा राख्ने जाँगर पनि थिएन । उता छोराको एमबीबीएसको फाइनल परीक्षा एकदम नजिक भएकाले करीब दुई महिनासम्म उसलाई केही नभन्ने निर्णय हामीले गरेका थियौं । ड्याडुको अफिसको दुई महिनाको ट्रेनिङ अनि मचाँहि बैंकबाट वार्षिक बिदा लिएर २ महिना उतै बस्ने, अनि तिम्रोे परीक्षा सकिएपछि दिल्लीबाट घुम्न जाउँला भनेर मैले छोरासँग झूठ बोलिरहेकी थिएँ । कतैबाट उसलाई केही शंका नहोस् भनेर ।

त्यतिखेरसम्म मैले आफ्नो फेसबुकको स्टाटस लेख्ने ठाउँ पनि ब्लक गरिसकेकी थिएँ । आफ्ना नातागोता सबैलाई फेसबुक, भाइबर कतैबाट पनि मेरो विमारका बारेमा अंकितलाई उसको परीक्षा नसकिएसम्म नसुनाउनु भनेर रोक लगाएकी थिएँ ।

हामी दिल्ली आयौं, साथी डा. सरोज चटौत फेलोशिपका लागि राजीव गान्धी क्यान्सर एन्ड रिसर्च सेन्टरमै भएकाले हामीलाई कुन डाक्टरकहाँ जाने भन्ने निर्णय गर्न सजिलो भयो ।

Basuhda a Patient of Breast cancerहामी डा. कपिल कुमार (अन्कोलोजिस्ट) ले मेरो चेकअप गरेपछि सम्पूर्ण टेस्ट गराइयो । अस्पताल छिर्नेबित्तिकै आधि सात्तोपुत्लो त उडिसकेको हुन्थ्यो मेरो । अस्पतालमा आएका धेरै बिरामीहरु कोही बालक, कोही भरखर २०–२२ बर्षका छोरीहरु र तिनका रसाएर सुन्निएका ऑखाको डिलभित्रको पीडा देख्दा मलाई अत्यन्त पीडाबोध हुन्थ्यो । बिल्कुल अमूक भएर ऑखा चिम्लेर बस्नुको मसँग विकल्प थिएन ।

सेन्ट्रल कलेक्सनमा बायोप्सीको रिपोर्ट लिन कैलाशजीको छेउमा उभिएकी थिएँ, त्यहाँकी महिलाले वसुधा आपका नाम है ? भनेर हामीतिर आँखा फिराउँदा मेरो मुटु झन फुलेर आयो । शायद रिपोर्ट नराम्रो आयो क्यार भन्ने सोचेर हातखुट्टा डरले पूरै चिसाम्मे भए । रिपोर्ट लिएर हामी डा. कपिल कुमारकहाँ गयौं ।  डाक्टरले रिपोर्ट हेरे । क्यान्सर है, फैला हुवा नहीं है । त्यति भनेपछि त शंका अब पूर्ण यथार्थमा बदलियो । मैले हिम्मत जुटाउँदै भनें–अपरेसन के बाद  क्योर हो जाएगा न डाक्टर ? उनले “यस” को मुन्टो मात्रै हल्लाए ।

जुलाई १४, २०१४ सोमबार भर्ना भएँ । राजीव गान्धी क्यान्सर अस्पतालमा । यसवीचको अवधिमा कैलाशजीले त मलाई एक सेकेण्ड पनि एक्लै नछोडी, काउन्सिलिङ यति गरिरहनु भयो कि कुन शब्दमा लेखुँ ?

उता मेरा दुईजना बहिनी डा. सुमन नेपाल र डा. संश्रीता नेपालले मलाई पटक–पटक भाइबरमा फोन गरेर, धेरै उदाहरणहरु दिएर मेरो आत्मविश्वासलाई निक्कै बलियो बनाउने काम गरिरहेका थिए । भर्खरै मात्र एन्जलिना जोलीले आफ्नी आमा र हजुरआमा ब्रेस्ट क्यान्सरको कारणले ज्यान गुमाएको र आफूलाई पनि जेनेटीकल्ली त्यस्तो हुन सक्ला भनेर दुबै ब्रेस्ट सेक्रिफाइस गरेको उदाहरणले मलाई भित्रभित्रै साच्चै बलियो बनाएको थियो ।

“हजुरको त्यो सानो लम्प डाक्टरले निकालेर फालेपछि म यो क्यान्सरसँग फाइट गरेर जित्छु भनेर सोच्नु सान्दिज्यु, यु विल बी स्योरली क्योर्ड ” भनेको आवाज बायोप्सीका लागि गनले मेरो बे्रस्टको मासु निकाल्दा पनि गुन्जिइरहेको थियोे । भगवान जति दुःख दिएर मलाई जाँच्न खोज् तर म यो क्यान्सरलाई जितेरै छाड्छु भन्ने सोच्दै सबै दुखाइ खपिरहेकी थिएँ ।

१५ जुलाइ बिहान ९ बजेतिर अपरेसन थिएटरभित्र लाने तयारी भयो । मेरो अपरेसनको अघिल्लो रात नै सान्दाजु सरोज नेपाल काठमाडौंबाट दिल्ली आइसक्नुभएको थियो । मेरा श्रीमान र दाजुको हात स्पर्श गरेर म भित्र पसें ।

एनेस्थेसियन डा. नम्रताले “यु वर्क इन बैंक न ? शायद बेहोसी चेक गर्दै थिई उसले । मैले ‘यस’ भनें । एकैपटक“वसुधा तुम्हारा अपरेशन हो चुका पेटमें हात रखो” उसकै आवाजसँगै आइसीयुमा ब्युझेंछु ।

my husband Kailash Pokharel is briefing about my situation

अप्रेसन गरेको तेस्रो रात ठुल्दाजु राति १० बजेतिर सीधै राजीव गान्धी अस्पताल आइपुग्नुभयो । महाधिवेशनका विजयीहरुको शपथग्रहण कार्यक्रम सक्याएर मलाई हेर्न सीधै काठमाडौंबाट दिल्ली प्रस्थान गर्नुभएको रहेछ । दाजुलाई देखेपछि म अलि भावुक हुन पुगेकी थिएँ । अस्पतालका डाक्टर र नर्सहरु सबै एकैपटक झुम्म वरिपरि भए । शायद सबैतिर खबर फैलिएछ ।

आप नेपालके पूर्व प्रधानमंत्रीकी बहन हो, बोलके हम लोगोंको पता हिं नही था भन्दै थिए ।

भोलिपल्ट दिउँसो पुनः दाजु आएर डा. कपिलसँग मेरो स्वास्थ स्थितिको जानकारी लिएपछि ‘सबै ठीक छ ,ठीक हो जाएगा भनेको छ” भनेर ल “बी स्ट्रोङ्ग” भन्नुभयो ।

Madhav nepal showing the picture to Basudha nepal

उता “कान्छी बहिनी वसुधालाई क्यान्सर भएर उपचार गराइरहेकी हुनाले भेट्न भनेर माधव नेपाल दिल्ली आएको भनेर अनलाइनखबरमा समाचार छापिएछ” । मेरो मुटु ढुक–ढुक भयो । बाबुलाई अहिलेसम्म हामीले ढाटिरहेका थियौं । एकैछिनपछि छोराको फोन आइहाल्यो । एनेस्थेसियाको असरले होला, मेरो आवाज पनि एकदम दबिएको थियो ।

त्यै साँझ हिम्मत बटुलेर म अस्पतालको लबीमा बिस्तारै गएर कुर्सीमा बसें, जहाँ शान्त थियो । लामो सास फेरें । दुई ग्लास मनतातो पानी खाएर फोनमा बोल्ने हिम्मत बटुलें ।

हेलो बाबु, के छ ? जवाफमा “ममु हजुरलाई के भएको छ ? न्यूजमा त यस्तो लेख्या छ ।”

आखिरमा आमा र छोराको सम्बन्ध, त्यो माया कहाँ लुक्न सक्थ्यो र ? दुबैका आँखाबाट छचल्किइहाल्यो

कैलाशजीले सिकाएअनुसार त्यस्तो केही हैन बाबु, एकपटक चेक गराउन गएको, सानो लम्प छ । तर, बेनाईन (नन क्यान्सरस) हो, पत्रकारले कुरा नबुझेर त्यस्तो लेखेछन् भनेर ढाटें ।

एमबीबीएसको फाइनल परीक्षाको तयारीमा बसेको विद्यार्थी, प्रश्नको फोहरा छोड्यो मलाई । के भएर डाक्टरकहाँ गएको ? कुन डाक्टर ? कुन अस्पताल ? कुन साइजको लम्प ? कुन टेस्ट गरेको ? आदि इत्यादि ।

मैले उसलाई शंका नहुने गरी सबै ढाटें । अपोलोे गएको । रेगुलर चेकअपमा । “सी ह्याज सेड नथिंग इज सिरिअस, जस्ट वाच टाईम टु टाईम” भनेकी छ डाक्टरले । अंकितसँग अस्पताल, डाक्टर सबैको नाम ढाटेकी थिएँ । र, उसले ममुको कुरा पत्यायो पनि ।

डिस्चार्ज भएर घर आइयो । अप्रेसनपछिको हिस्टोप्याथोलोजीको रिपोर्ट आउन बाँकी नै थियो । रिपोर्ट कस्तो आउने हो, सम्झिँदै मुटु ढुक–ढुक हुन्थ्यो । रिपोर्ट आयो, क्यान्सर दोस्रो स्टेजको भनेर ।

कति फास्ट ग्रोथ गरेछ यो किटाणुले, थाहा नै नपाई । न त कतै दुख्नु, न पोल्नु । न कुनै अप्ठ्यारो महसुस भएको थियो । अझै केही समय थाहा नहुन पनि सक्थ्यो । ४/६ महिना थाहा नभई बितेको भए मेरो जिन्दगी नरहने रहेछ । मेरा यी दुई मुटुका टुक्राहरु म विहीन जिन्दगी बिताउन बाध्य हुने रहेछन् । मबिनाको मेरो छोरा टुहुरो हुन्थ्यो । यति माया गर्ने जीवनसाथी गुमाउँदा कैलाशजी सम्झेर गह भरिएर आयो ।

त्यतिखेर मैले आफ्ना श्रीमान ‘कैलाश’ जसको अर्थ नै संरक्षणकर्ता हुन्छ, शायद त्यसैले होला, भगवान बनेर आएको त्यो हत्केलालाई “थ्यांक गड यु सेभ्ड माई लाईफ” भन्दै मन–मनै धन्यवाद दिएँ ।

मेडिकल साइन्स र भगवान नै यो संसारमा धन्यवादका पात्र थिए, जसले मेरो जीवन बचाए ।

जिन्दगी रह्यो भने मात्र यति सुन्दर संसार देख्न पाइँदोरहेछ । यता हिस्टोप्याथोलोजीको रिपोर्टअनुसार डाक्टरले मलाई छ डोज कीमो, २८ डोज रेडियोथेरापी, अनि मेरो एचइआर २ पोजिटिभ आएको हुनाले प्रत्येक तीन हप्ताको फरकमा एक वर्षसम्म ‘हरक्लोन‘ भन्ने इन्जेक्सन लिनुपर्ने भनेर स्केजुल दिइसकेको थियो ।

डाक्टरले सम्पूर्ण औषधिको खर्चको अनुमान(कस्ट इस्टिमेसन) सुन्दा “ओहो, कती महंगो जिन्दगी पाए‘छु” भनेर डेरामा आएर एकदम भक्कानो छुटेर आयो । रोएर समस्या समाधान हुने त होइन, तर ऑसुले एकैछिन भए नि मनचाहिँ हलुका पार्छ ।

कैलाशजीले यो उपचार अवधिभर दिनको एकपटक मात्र रुनका लागि मलाई छुट दिनुभएको छ  । मलाई असाध्य काउन्सिलिङ गरेर मेरो मनोबल उच्च बनाइराख्न सधैं कहिले के, कहिले के भनेर सम्झाउने त कैले जोक सुनाएर हँसाउने गरिरहनुहुन्छ ।

‘क्यान्सर’ यस्तो रोग हो, जसमा परिवारको धेरै माया र सपोर्ट चाहिन्छ । जसले बिरामीको विल–पावर बलियो बनाइराख्न धेरै मद्दत गर्दछ । र काउन्सिलिङको त झन अति नै ठूलो भूमिका रहन्छ ।

पहिलो कीमोको समय आयो । पुन: अस्पताल भर्ना भएँ । के होला, कस्तो होला ? ‘हरक्लोन‘ दिन सुरु गर्‍यो राति नै, भोलिपल्ट बिहान कीमो । डाक्टर डीसी. डोवलले “तुम कीमो और ‘हरक्लोन‘ दोनो ले रही हो, इट्स टफर द्यान ओन्ली कीमो” भन्दै थिए मलाई ।

अर्थको आधारमा वसुधा भनेको धरती – सहनशीलताको अर्को नाम । सहनुको विकल्प थिएन मसँग । त्यसैले यो कीमो र हरक्लोनले जस्तोसुकै पीडा, जलन दिए पनि सहिदिन्छु भन्ने आत्मविश्वास बढिसकेको थियो ।

‘क्यान्सर’ यस्तो रोग हो, जसमा परिवारको धेरै माया र सपोर्ट चाहिन्छ । जसले बिरामीको विल–पावर बलियो बनाइराख्न धेरै मद्दत गर्दछ । र काउन्सिलिङको त झन अति नै ठूलो भूमिका रहन्छ ।

कीमोले गर्ने असर सुरु भइ नै सकेको थियो, अत्यन्त कमजोरी र तैपनि म बिहान–बेलुकी नजिकको पार्कमा ३–४ चक्कर लगाएर डाक्टरको सुझावबमोजिम एक्सरसाइज पनि गरेर घर फर्किन्थें । बिहान–बेलुका पार्कमा घुम्न जाँदा आफूभन्दा पनि कमजोर भएका अरु बिरामी देख्दा आफ्नो पीडा कम नै लाग्थ्यो ।

कीमो लिइरहेको बिरामीका लागि जति नै कमजोरी भए पनि खुला अक्सिजनयुक्त वातावरणमा अनुलोम–बिलोम र भस्त्रीका गर्नु कीमो भन्दा पनि इफेक्टिभ हुने रहेछ ।

कीमो लिएको पाँच दिनपछि जिउभरि दुखिरहेको थियो । दिनभरि त सहन सक्नेजति सहें, चिसो लाग्यो कि भनेर लोसन लगाइयो । तर, बेलुका त असह्य भयो । पुरै शरीरमा सियोले चारैतिरबाट घोचेजस्तो । म न त ओल्टो, न कोल्टो पर्न सकें । न बस्न, न सुत्न नै सकिरहेकी थिएँ । असह्य पीडा भएर शरीर आफैं बुरुक–बुरुक उफ्रझैं भइरहेको थियो ।

सबै दु:ख पीडा भोग्दै अगाडि बढ्नु नै जिन्दगीको अर्को नाम रहेछ

कैलाशले इमर्जेन्सी लानुभयो । डाक्टर आयो, म एक सेकेन्ड पनि टोलरेट गर्न नसक्ने स्थितिमा थिएँ ।  डाक्टर जल्दी करो, बहौत पेन हो रहा है । सिस्टरले हातमा क्यानुला लगाएर औषधी सुरु गरी, बिस्तारै नर्मल भएँ । ‘ग्लेनस्टिम‘ भन्ने इन्जेक्सन, जसले डब्लुबीसी बढाउने रहेछ,  जसका कारणले असह्य पीडा हुने रहेछ । त्यो दुखाइ यस्तो थियो कि, जुन म शब्दमा वर्णन गर्न सक्दिँन । सबै पीडा भित्रभित्रै सहिरहन्थें ।

मलाई साह्रै गाह्रो भएको खबर दाजु–भाउजूले पाउनेबित्तिकै ठूलीभाउजू गायत्री मलाई भेट्न काठमाडौंबाट दिल्ली आउनुभयो । अँगालो मार्दै नन्द–भाउजूको अश्रुधारा बहँदा कैलाश निःशब्द हेर्दै थिए । मैले ‘म ठीक छु भाउजू, दाजुलाई मेरो धेरै चिन्ता नगर्न भन्दिनु ल भनें । मेरो अवस्था देखेर भाउजू रुँदै नेपाल फर्किनुभाको थियो ।

सबै दु:ख पीडा भोग्दै अगाडि बढ्नु नै जिन्दगीको अर्को नाम रहेछ

बिरामी त बिरामी, बिरामीलाई स्याहार्ने मेरा श्रीमान कैलाश जस्तोसुकै समस्यामा पनि त्यो हाँसिरहने उनको मुहार मलिन देख्दा रुन मात्र आउँथ्यो ।

पति–पत्नीको माया र सम्बन्ध भगवानले साँच्चै यति निस्वार्थ दिएर पठाउँदा रहेछन कि एकले अर्काको मुहार एकैछिन पनि मलिन देख्नै नसकिने  रहेछ । कान्छु, तिमी रोएको देख्दा मलाई साह्रै गा¥हो हुन्छ, कैलाशजी मलाई सधैं भन्ने गर्नुहुन्छ ।

भगवान र मेडिकल साइन्सले मलाई बचाएकाले जता हेर्दा पनि यति सुन्दर संसार देख्न पाउने गरी नयॉ जीवन पाएँ ।

नेपालमा तीजको रमझम र रमाइलो फेसबुकमार्फत बेला–बेलामा देख्थें । यता सानोभाउजू नीरु मसँगै तीज मनाउन भनेर दिल्ली आउनुभएको थियो । काठमाडौंबाट सबै भाउजूहरुले मायाले पठाइदिनुभएको तीजको दर हेरेर सबै पीडा भुलेर रमाइरहेकी थिएँ । जे होस्, जसरी होस्, मचाँहि फेसबुक, चलाएर हुन्छ कि, भाइबरमा साथीभाइ आफन्तसँग कुरा गरेर, टेलिभिजनमा विशेष गरी हसाउँने ‘कमेडी नाइट्स विथ कपिल‘ हेरेर सबै पीडा भुलेर हाँस्ने र यो ‘नाम’ को रोग लागेको छ भन्ने दिमागमा ल्याउन पनि चाहन्नथें । जसरी हुन्छ, आफ्नो माइन्ड डाइभर्ट गर्ने प्रयास गरिरहन्थें ।

परिवारका सदस्यहरुको फोनहरु आइरहन्थ्यो । रुक्मागत कटुवालको भर्खरै निस्केको पुस्तक सुलक्षणाले पठाइदिएकी थिइन्, जुन यसैवीच पढ्न सुरु गरेकी थिएँ । छोरो अंकित आउँदा मेट्रो स्टेशनमा बाबुलाई थोरै कुरा भन्दै ल्याउने सल्लाह थियो । छोराको अगाडि नरोऊ है भनिस्याथ्यो ।

बाबु आइपुग्यो । ममुु भन्दै मलीन अनुहारले उसले मलाई सीधा हेर्न सकेको थिएन र अंकमाल ग¥यौं आमा–छोरा । ‘म ठीक छु बाबु, सब राम्रो भइसक्यो, पहिले खाना खाउ । उसको पिठ्युँ सुम्सुम्याउँदै भनें ।

emotional moment - parents with  Son Ankitउसले रिपोर्ट दिस्यो, म पहिले सबै हेर्छु भनेर रिपोर्ट हेर्न थाल्यो । मेडिकलको फाइनल परीक्षा दिएर आएको, रिपोर्ट हेर्नेबित्तिकै (धन्न ममुको मेटासाइसिस भएको रहेनछ, जुन शरीरमा अरु अंगहरुमा फैलिसकेको हुन्छ भन्यो ।

छोराको पिठ्यू सुम्सुम्याउँदै थिई एउटी आमा । छोरो आमालाई म्वाइँ खाँदै । बाबुले ऑंसु उसका आँखाको एक कुनामा पुछ्दै गरेको देखेपछि म अलि बढी भावुक हुन पुगें ।

आखिरमा आमा र छोराको सम्बन्ध, त्यो माया कहाँ लुक्न सक्थ्यो र ? दुबैका आँखाबाट छचल्किइहाल्यो ।

यो लेखिरहेको भोलिपल्ट ४ सेप्टेम्बर २०१४ मा म दोस्रो कीमोका लागि पुन: अस्पताल भर्ना हुनेछु । जस्तो कमजोरी र दु :ख, पीडा भए पनि हॉसीहॉसी पचाएर यो रोगसँग म बिजय प्राप्त गर्नेछु भन्नेमा म पूर्ण विश्वस्त छु । तर, पनि मेरा आँसुका प्रत्येक थोपा एउटै सेरोफेरोमा बोलिरहन्छ, ‘कस्तो सिस्टममा जन्मिएँछु ‘ ? जहॉ एक भद्र परिवारकी छोरी, बहिनी अनि श्रीमती हुनुको पीडा क्यान्सरले आक्रान्त हुँदा पनि भोगिरहेछु ।

मलाई क्यान्सर भएपछि मेरो जीवनका अत्यन्त कठिन दिनहरुमा मप्रति सुस्वास्थको कामना गर्ने, मलाई फेसबुकमा मेसेज, फोन गर्ने, इमेल गर्ने सम्पूर्ण मेरा साथीहरु, नेता–नेत्रीज्यूहरु, पत्रकारहरु, साथीभाइ, मेरा घर तथा माइती परिवारका सम्पूर्ण सदस्यहरुप्रति म सधैं आभारी रहनेछु ।

मेरा लागि माया र मानवीयता सबैभन्दा ठूलो कुरा हो, जुन मैले सधैं यहॉहरुबाट पाइरहनेछु, जसले मलाई मेरो रोगसँग लड्ने क्षमता मभित्र दह्रो बनाइराख्ने छ ।
अन्त्यमा,

जिन्दगीले जस्तो भए नि बाँच्न सिकाउँदोरहेछ !
ऑशु सबै बगाएर हॉस्न सिकाउँदो रहेछ !

–दिल्ली, रोहिणी सेक्टर ५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?