Comments Add Comment

‘आम्दानी नगरी एकथोपा पानी खेर जान दिनुहुँदैन’

Ramsaran-Mahat

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले लगानीको अनुकूल वातावरण बनाई बढी लगानी आकषिर्त गर्ने र उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् ।

माइक्रोबायोलोजी सम्वन्धी पाँचौ सम्मेलनको उद्घाटन गर्दै महतले यो कुरा बताएका हुन् । राजनीतिक खिचातानीमा धेरै समय खेर फालिसकिएको चर्चा गर्दै उनले विकास निर्माणका कामले एक मिनेट पनि पर्खिने अवस्था नरहेको बताए ।

‘साधन र स्रोत नभएका संसारका अन्य मुलुकहरुले तीब्र बृद्धि हासिल गरेका छन्’ अर्थमन्त्री महतले भने- ‘नेपाल साधन र स्रोत भएर पनि पछि परेको छ ।’ साधन र स्रोतको परिचालन गर्न सिर्जनशीलता, आविस्कार, नयाँपन, कडा मेहनत र स्पष्ट दृष्टिकोण चाहिने उनको भनाई थियो ।

सानो भूगोल भएपनि संसारमै सबैभन्दा बढी विविधता नेपालमा रहेको औंल्याउँदै महतले वर्षेनी विश्वविद्यालयबाट अध्ययन पूरा गरेर श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई रोजगारी दिन सक्ने ताकत कृषि र पर्यटन क्षेत्रमा रहेको बताए ।

‘भौगोलिक विविधता र प्राकृतिक सम्पदाहरुको उपयोग गरी रोजगारी सिर्जना गर्न सकिन्छ’ महतले भने- ‘सरकारले बजेटमार्फत नयाँ नयाँ कार्यक्रमहरुको घोषणा गरी रोजगारी प्रवर्द्धनलाई जोड दिएको छ ।’

मुलुकमा जलस्रोतको भण्डार भएपनि राजनीतिकरणले त्यसको सहि सदुपयोग हुन नसकेको महतको भनाई थियो । जलविद्युतको विकासका लागि विदेशी पुँजी आवश्यक पर्छ । बजार आवश्यक पर्छ । पुँजी र बजारको लागि सम्झौताहरु गर्नासाथ देशै बेच्यो भनेर हल्ला गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता छ । हामीले धेरै पानी पुँजी निर्माण नगरी बगाइसकेका छौं । अव एकथोपा पनि पानी पुँजी निर्माण नगरी बग्न दिनुहुँदैन ।

कार्यक्रममा नास्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालमा युवाहरुको आकर्षण बढ्दै गएको बताए । त्यस्तै, समाजका अध्यक्ष रजनी मल्लले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा हुने अनुसन्धानलाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment