Comments Add Comment

विप्लव र प्रकाण्डलाई स्पष्टीकरण सोध्ने वैद्य माओवादीको निर्णय

३० कात्तिक, काठमाडौं । नेकपा-माओवादीको केन्द्रीय समिति बैठकले पार्टी नीति विपरीत अलग भेला गरेको भन्दै सचिव नेत्रविक्रम चन्द विप्लव र पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत केन्द्रीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

650 photo
विप्लव र प्रकाण्ड

राजधानीमा शनिबार र आइतबार दुई दिन बसेको बैठकले विप्लव र प्रकाण्डले पार्टी नीति विपरीत गतिविधि गरेको निश्कर्ष निकालेको छ । बैठकपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा विप्लव समूहले फुटपरस्त गतिविधि गरेको आरोप लगाइएको छ ।
नेताद्वयले जारी गरेको विज्ञप्तिमा विप्लव समूहमाथि स्पष्टीकरणको कारवाही चलाउनुपर्ने कारण उल्लेख गर्दै भनिएको छ, ‘केही समयअघिदेखि पार्टी लाइन विपरीत अभिव्यक्ति सार्वजनिक दिने, स्थायी समिति, पीबी र केन्द्रीय समितिका बैठक बहिष्कार गर्ने, गुटगत भेला र पत्रकार सम्मेलन गर्नेजस्ता फूटपरस्त र पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको देखिएकोले….. ”

केन्द्रीय समितिको बैठकले पार्टीलाई एकतावद्ध राख्नुपर्ने अहिलेको आवश्यकता भएको ठहर गरेको छ । त्यसैले बैठकमा नआउने नेताहरुलाई आफ्ना गल्ती र कमी कमजोरीप्रति आत्मालोचना गर्न बैठकले आग्रह गरेको छ । साथै पार्टीको बैठक र संघर्षका कार्यक्रममा सहभागी हुन केन्द्रीय समिति बैठकले निर्देशन दिएको वैद्य र बादलको वक्तव्यमा उल्लेख छ ।
पार्टीको निर्देशनविना भेला र बैठक नबोलाउन र त्यस्तो भेला वा बैठकमा नजानसमेत केन्द्रीय समितिले  निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।
दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष बैद्यले पेश गरेको विशिष्ट राजनीतिक प्रस्तावमाथि छलफल भएको र त्यसमा संशोधनसहित आगामी विस्तारित बैठकमा पेश गरिने बताइएको छ ।
नेकपा माओवादीको विस्तारित बैठक मंसिर ६ गते बस्ने छ । विप्लव समूले बैठक अगाडि सार्न गरेको आग्रह केन्द्रीय समितिले अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment