
४ जेठ काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि उदयपुरका बेलका र त्रियुगा नगरपालिकाका वडाहरु सिल गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।
जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा सम्बन्धित पालिकाहरुले सिफारिस गरेपछि त्रियुगा नगरपालिका वडा-१६ र बेलका नगरपालिका वडा-४स्थित गुरूङ चौरलाई अनिश्चितकालका लागि सिल गर्न प्रशासनले जानकारी दिएको छ ।
यस्तै चौदण्डीगढी नगरपालिकास्थित कोभिड अस्पताल र मदन भण्डारी आँखा अस्पतालमा संक्रमित विरामीहरुको उपचारलाई थप प्रभावकारी बनाउन ५/५ बेडको एचडीयू सञ्चालन गर्न सामाजिक विकास मन्त्रालय प्रदेश-१सँग समन्वय गरी चौदण्डगढी नगरपालिका र जिल्ला अस्पताललाई व्यवस्था मिलाउन भनिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै कटारी बजार बन्द गर्ने र त्यहाँ सञ्चालित राष्ट्रिय महत्वका आयोजनाहरु बाहेक अन्य सबै किसिमका विकास निर्माणका कार्यहरु सञ्लाचनमा रोक लगाइएको छ । साथै एम्बुलेन्स, शवबाहन, विरामी बोकेको सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने एटीम सेवालाई प्रभावकारी बनाउन हप्तामा ३ दिन विहान ७ बजेदेखि ९ बजेसम्म मात्र चलाउन पाउने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई भनिएको छ ।
होम आइशोलेशनमा बस्ने संक्रमित विरामीहरुको विवरण संकलन तथा अभिलेख अद्यावधिक गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन भनिएको छ ।
प्रतिक्रिया 4