Comments Add Comment

भेरी नदीमा बस खस्यो : ५ को मृत्यु, झण्डै ४० यात्रु वेपत्ता

jajarkot-district-map-FINAL

४ मंसिर, खलंगा । जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेत आउदै गरेको यात्रुबाहक बस विहीबार विहान भेरी नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । झण्डै ४० यात्रु बेपत्ता भएका छन् ।

ना ३ ख १४०८ नम्बरको बस भुर गाविसको भुतचौर भन्ने स्थानबाट झण्डै ५० मिटर तल भेरी नदीमा खसेको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये एक महिला र एक नाबालकको मात्र सनाखत भएको छ । जाजरकोट खलंगा–३ की अन्दाजी ४० बर्षीया गीता सुनार र जाजरकोटकै ढिमे गाविस १ का उज्वल मल्लका अढाई बर्षे छोरा आयुषको सनाखत भएको मध्यपश्चिम प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

दुर्घटनास्थलमा फेला परेका शवमध्ये दुई पुरुष र एक बालिकाको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भैरहेको छ । अन्य चार जनाको सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

सामान्य घाइते भएका तीनजना भने उपचार पछि घर फर्किएका श्रेष्ठले बताए ।

जाजरकोट सदरमुकाम खलंगाबाट ४५ यात्रु लिएर सुर्खेतको राकम जाँदै गरेको बस विहान पौने ८ बजेतिर दुर्घटना भएको थियो ।

बिचबाटोमा पनि यात्रुहरु चढेकाले बसभित्र कम्तिमा ५० यात्रु रहेको प्रहरीले अनुमान गरेको छ । ‘५ जनाको मृत्यु भएको र ११ जना घाइते भए पनि अरु यात्रुहरु फेला नपरेकाले भेरी नदीले बगाएको हुनसक्छ,’ मध्यपश्चिम प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले भने ।

उनीहरुको खोजीका लागि जाजरकोट, सुर्खेत, सल्यान र रुकुमका प्रहरीलाई सम्भावित क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए ।

साँघुरो बाटोमा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment