Comments Add Comment

हलिउड फिल्ममा आफ्नै कथा देखेपछि थामिएन आँसु

४ मंसिर, काठमाडौं । सामान्यतः चलचित्रमा भनिएको हुन्छ – यो कथाका पात्रहरु काल्पनिक हुन्, कसैको जीवनमा मेल खान गएमा त्यो संयोगमात्र हुनेछ । तर, मंगलबार राति राजधानीको कुमारी हलमा यस्तो माहौल छायो, हलिउड चलचित्रको पहिलो प्रदर्शन हुँदै गर्दा कथाका पात्रहरु बरबर आँसु झार्दै रुन थाले ।

sold1-650

दर्शकहरु पर्दाका पात्रलाई होइन, दर्शक दीर्घाका पात्रलाई हेर्दै आँसु झार्न थाले । हलिउड निर्देशक जेफ्री डी ब्राउन निर्देशित चलचित्र सोल्डको पहिलो प्रदर्शन हुँदै थियो कुमारी हलमा ।

कोलकाताको एक कोठीमा बेचिएकी १३ वर्षीया नेपाली बालिका लक्ष्मीको कथामा आधारित चलचित्र सोल्ड हेर्दै गर्दा सायदै कसैका आँखा ओभाना थिए ।

पर्दामा लक्ष्मीको अस्मिता लुटिएको दृष्य आउदा दर्शकदीर्घामा सुँक्क सुँक्क र हिक्क हिक्क आवाज आउन थालिसकेको थियो ।

उनीहरुमध्ये कतिपय लक्ष्मीसँगै बेचिएकाहरु पनि थिए भने कतिपय लक्ष्मीले भन्दा नारकीय यात्रा भोगेर कोठीबाट फर्किएकाहरु थिए ।

पर्दामा लक्ष्मीको कहानी अघि बढ्दै जाँदा दर्शकदीर्घामा शर्मिला र विनाहरुलाई सम्हाल्न नसक्ने अवस्था आइसकेको थियो । (यो पनि पढ्नुहोस्  बेचिएका चेलीको मुहारमा जब देखियो चमक)

उनीहरुसँगै दर्शकदीर्घामा थिए मानव बेचबिखन र आधुनिक दासता विरुद्धका दुई साहसी महिला सुनिता दनुवार र चरिमाया तामाङ पनि ।

उनीहरु चलचित्रमा आफ्नो इतिहास जस्ताको तस्तै देखिरहेका थिए । ‘मैले यो चलचित्र हेरेपछि सन् १९९६ मा आफू जुन अवस्थामा थिएँ त्यही दृश्य झल्झली देखेँ’ सुनिताले भनिन् ‘बेचबिखनको शैली केही फेरिएको छ, तर हामीमध्ये प्रायः सबैले भोगेको नारकीय जीवन उस्तै हो’ ।

sold-650

चलचित्रमा लक्ष्मी पहिलोपटक हिंस्रक यौनपिपाशुहरुबाट बलात्कृत हुँदा चरिमाया तामाङमा असहृय वेदना छचल्कियो । बलिन्द्रधारा आँसु झार्दै चरिमायाले भनिन्-यो त धेरै सेन्सर गरिएको दृश्य होला, हामीले जे भोग्यौं, त्यसको वर्णन कुनै फिल्म वा कथामा जस्ताको तस्तै उतार्न कसैले सक्दैन ।

चलचित्रको करीव दुईघण्टाको दृश्य सकिँदा दर्शकदीर्घाको दाहिने कुना आँसुले भिजेको थियो भन्दा अति हुँदैन ।

आफ्नै कथा पर्दामा हेर्दा हेर्दै एकोहोरो भइसकेका शर्मिला र विनालाई सम्हाल्न मनोसामाजिक परामर्शदाता नै अघि सर्नुपर्‍यो ।

‘फिल्मको कथा उनीहरुको जीवनको वास्तविकता भएकाले गर्दा एक प्रकारका ट्रमा भएपछि उनीहरुलाई काउन्सिलिङ गर्नुपरेको हो’ ती परामर्शदाताले भनिन् । चलचित्रका पात्र भारतीय अभिनेत्री सीमा विश्वास, सुस्मिता मुखर्जी, निर्जा नायिकहरु समेत आफूले खेलेको भूमिकाका वास्तविक पात्रहरुको हालत देखेर अक्क न बक्क भए ।

‘सोल्डको सुटिङ भइरहेका बेला १३ वर्षीया बालिका लक्ष्मीलाई जबर्जस्ती यौनदासी बनाइँदाको दृश्यले मेरो मन छिया छिया भएको थियो’ सोल्डमा अनिता नामक बेचिएकी किशोरीको भूमिकामा रहेकी निर्जा नायिकाले भनिन् ‘यो यो चलचित्रको पहिलो प्रदर्शनमा लक्ष्मीले जस्तै जीवन भोगेका दिदी बहिनीहरुको भावविह्ल अवस्था देख्दा मन थाम्न सकिँन’ ।

ओस्कार अवार्ड बिजेता जेफ्रीले निर्देशन गरेको चलचित्र सोल्ड पाट्रिसिया म्याकोर्मिकले लेखेको सोल्ड नामक उपन्यासमा आधारित छ । जसमा भारतको ब्रोथेलमा बेचिएकी लक्ष्मीको जीवन कहानी छ । यो उपन्यास धेरै नै बिक्री भएको पुस्तकमा पर्छ ।

चलचित्रका पात्रमध्ये सीमा विश्वास भारतमा धेरै नै चलेको फुलनदेवीको कथामा आधारित ब्याडिट क्वीनकी नायिका हुन् भने सुस्मिता मुखर्जी बलिउडको अर्को चर्चित चलचित्र दोस्तानाकी खलनायिका हुन् ।

सोल्डमा यी दुबैजना खलनायिकको भूमिकामा छन् । एकजनाले पोखराको हेम्जाकोटबाट १३ वषिर्या लक्ष्मीलाई राम्रो जागिर, मीठो खानेकुराको आश्वासनको जालमा पारेर कोलाकाता पुर्‍याउँछिन् भने अर्कीले कोठी मालिक्नीको भूमिका निर्वाह गरेकी छन् ।

सोल्डमा मदनकृष्ण र हरिवंशको पनि भूमिका छ । मदन लक्ष्मीका बाबुको भूमिकामा छन् भने हरिवंश देउसी भट्याउने भूमिकामा मात्र देखिन्छन् ।

कुनै पनि हलिउड चलचित्रको नेपालमा पहिलो प्रदर्शन भएको यो पहिलोपटक थियो । प्रदर्शनी लगत्तैको प्यानल छलफलमा सहभागी शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार दर्शकका लागि त्यस्ती प्रतिनिधिपात्र थिइन्, वास्तविक जीवनमा मेल खाने भएकाले यो संयोगमात्र थिएन ।

चलचित्र प्रदर्शन लगत्तै चाइल्डरिच नेपालका निर्देशक डा. छिरिङ लामाले अहिले पनि २ लाख नेपाली महिलाहरु भारतका बिभिन्न बेश्यालयहरुमा कार्यरत रहेको तथ्याङ्क सुनाउँदा मन्त्रीद्वय मिनेन्द्र रिजाल र सुनिलबहादुर थापा सायद अवाक थिए ।

चलचित्रमा सबै पात्रहरुले उत्कृष्ट अभिनय गरेका छन् । लक्ष्मी बेचिएको, बलात्कृत भएको, यातना पाएकोदेखि भागेर होप नामक उद्धार संस्थासम्म पुगेको कथा सलल बगेकेा छ ।

तर, उनलाई आफ्नै समाजमा पुनस्र्थापना भएको र सुनिता, चरिमायाहरुले जस्तै बेचबिखन विरुद्धको लडाइँमा सामेल भएको दृश्यमा लगेर चलचित्र टुंग्याएको भए यसले अझ ठूलो सन्देश दिने थियो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment