१६ मंसिर, काठमाडौं । नयाँ पार्टी गठन गरेका नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्दले सोचेजस्तो सहयोगी नेताहरुको साथ पाउन सकेका छैनन् । उनलाई जतिले साथ दिएका छन्, सामान्य र औषत खालका नेताहरु मात्र छन् ।
विप्लव आफैंले सोमबार राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा यो कुरालाई स्वीकार गर्दै भने- ‘हामी यहाँ सामान्य खालका नेताहरुमात्रै उभिएका छौं । आफूले आदर्श ठानेका नेताहरु छुटेका छन् । यहाँ प्रचण्ड छुटे पनि किरण र बादलजीहरु हुनुपथ्र्यो । तर हामीले सोचेजस्तो भएन । यसमा हामीलाई अप्रिय लागिरहेको छ ।
आफूले भनेजस्ता ठूला कदका नेताहरु साथमा नआए पनि इतिहासले दिएको जिम्मेवारी निर्वाह गरेको विप्लवको तर्क छ । उनलाई ठूला नेताले साथ नदिए पनि युवापुस्ताका विशेषगरी पूर्व लडाकूहरुले राम्रोसँग साथ दिएको देखिन्छ ।
क-कसले साथ दिए विप्लवलाई ?

विप्लवले हालै कपिलवस्तुमा गरेको भेलामा सबैभन्दा ठूला र पाका नेता भनेको ईश्वरी दाहाल उर्फ असारे काका हुन् । उनी सबैभन्दा जेष्ठ सदस्य भएकाले उनैको अध्यक्षतामा कपिलवस्तु भेला सम्पन्न भएको थियो ।
असारे काका नामले चर्चित सिन्धुली घर भएका ईश्वरी दाहाल माओवादी आन्दोलनका निकै पुराना नेता हुन् । जनयुद्धकालमा उनले स्वास्थ्य विभाग सम्हाल्ने गरेका थिए । आफूमात्रै माओवादी नबनेर असारे काकाले आफ्ना छोरालाई पनि माओवादी बनाएका छन् । असारेका छोरा महेश्वर दाहाल वैद्य माओवादीका नेता छन् । महेश्वर पत्रकार पनि हुन् ।
असारे काका पुराना र स्वच्छ छविका सादगी नेता भए पनि उनी पार्टीको उच्च तहमा थिएनन् ।

कालीकोट घर भएका पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा विप्लव समूहका प्रवक्ता बनेका हुन् । विश्वकर्मा वैद्य माओवादीको पोलिटब्यूरोमा थिए । पदीय हिसाबले विप्लवपछिका ठूला नेता हुन् उनी ।
कालिकोटमा ०२५ सालमा जन्मेका बिकले ०४६ सालबाट युवक संगठनदेखि राजनीति थालेका हुन् । सुर्खेतमा आइएडसम्म पढेका खड्गबहादुरका दुईजना भाइहरु जनयुद्धमा मारिएकाले उनी सहिद परिवारसमेत हुन् । जनयुद्धको क्रममा उनले कर्णालीमा भूमिका खेलेका थिए ।
कर्णाली क्षेत्रको दलित समुदायबाट राष्ट्रिय नेता बनेका बिक विप्लवका भरपर्दा सारथि हुन् ।
त्यसो त विप्लव समूहमा पूर्व सभासद तिलक परियार पनि सहभागी भएका छन् । वैद्य माओवादीको केन्द्रीय सल्लाहकार समितिमा रहेका परियारको साथले विप्लवलाई दलित समुदायमा अर्को नेताको साथ मिलेको छ ।

माओवादी आन्दोलनमा खड्गबहादुर बिक र तिलक परियार नै उच्च तहका दलित नेता थिए, जो यतिबेला विप्लव पक्षमा लागेका छन् ।
वैद्य माओवादीको केन्द्रीय नेतृत्वबाट विप्लवलाई साथ दिएका अर्का नेता हुन् धर्मेन्द्र बास्तोला । माओवादीभित्र अन्तरराष्ट्रिय विभागका काम गरेका बास्तोलाको साथले विप्लवलाई आफ्नो प्रभाव प्रवासमा रहेका नेपालीहरु र अन्तरराष्ट्रिय माओवादी आन्दोलनसँग जोड्न मद्दत गर्ने छ ।
सुर्खेतमा विसं ०१९ सालमा जन्मेका धर्मेन्द्र माओवादी नफुट्दै जनयुद्धकालको ३५ सदस्यीय केन्द्रीय समितिमा थिए । उनका तीन सन्तानमध्ये एक छोराले माओवादी लडाकू भएर जनयुद्धमा भूमिका खेलेका थिए ।

कीर्तिपुरबाट एमए गरेका धर्मेन्द्र जनयुद्धकालमा युरोपमा थिए । उनले जनयुद्धकालमा देशभित्रको भूगोलमा खासै काम गरेको अनुभव सँगालेका छैनन् । सामान्य आर्थिक अवस्थाका धर्मेन्द्र सादगी खालका नेता मानिन्छन् ।
विप्वललाई पूर्वी नेपालबाट किरातहरुले खासै साथ दिएको देखिँदैन । तर, कपिलवस्तु भेलामा नभए पनि भोजपुरका पूर्वसभासद पदम राई सोमबारदेखि खुलेर विप्लव समूहमा लागेका छन् ।

लिम्बु समुदायबाट मौसम लिम्बुले विप्लवलाई साथ दिने चर्चा चले पनि पछि आएर उनले साथ दिएनन् । यो अवस्थामा अब समग्र किरात क्षेत्रको विप्लव समूहको नेतृत्व पदम राईले सम्हाल्ने देखिएको छ ।
रोल्पाबाट सभासद समेत भइसकेका सन्तोष बूढा विप्लवका बलिया सारथिमध्ये एक हुन् । जनयुद्धकालमा रोल्पाको जनसरकार प्रमुखसमेत भइसकेको सन्तोष त्यहाँका प्रभावशाली नेता मानिन्छन् ।
सन्तोषको साथले विप्लवलाई रोल्पा, रुकुम र समग्र मगरात क्षेत्रमा प्रभावकारी बनाउन सक्ने देखिन्छ । राष्ट्रिय राजनीतिमा खासै चर्चा नभए पनि सन्तोषको प्रभाव मगरातमा राम्रो छ ।

जनयुद्धकालमा रोल्पामा राजनीति र विकासको अनुभव सँगालेका सन्तोष बूढा विप्लव समूहका निकै भरपर्दा व्यक्ति हुन् ।
क्रान्तिकारी धारको कुरा गरे पनि विप्लवलाई पूर्व लडाकू कमान्डरहरुले खासै साथ दिएका छैनन् । तल्लो तहका लडाकूहरु उनीसँग प्रशस्तै छन्, तर डेपुटी कमाण्डरहरु छैनन् ।
तर, चितवनस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजनका सहकमाण्डर रहिसकेका उदयबहादुर चलाउने (दीपक) भने विप्लवतिर लागेका छन् । सोमबारको पत्रकार सम्मेलनमा मञ्चमा देखा नपरेका दीपक सैन्य फाँटबाट विप्लवका बलिया सारथि हुन् । उनी वैद्य माओवादीको वैकल्पिक केन्द्रीय समितिमा थिए ।
विप्लव समूहमा पूर्वलडाकूहरुको आकर्षण बढ्ता देखिएकाले उनको सैन्य फाँटको नेतृत्व उदयबहादुरले नै लिने देखिन्छ ।

चितवनमा रहँदा कमाण्डरले गरेको आर्थिक हिनामिनाका विषयमा चलाउनेले विरोध जनाउँदा उनलाई आन्तरिक हिरासतमा समेत राखिएको थियो । लडाकुको कमान्डर भइकन पनि उनी आर्थिक हिनामिनामा मुछिएका छैनन् ।
वैद्य समूहका केन्द्रीय सदस्य अनिल शर्मा विरहीले पनि विप्लवलाई साथ दिएका छन् । चितवन घर भएका विरही सादगी नेता हुन् । साहित्यमा समेत रुची भएका विरही लेखकसमेत हुन् ।

समसामयिक राजनीतिमा पत्रपत्रिकामा नियमित जसो कलम चलाइरहने विरहीको साथले विप्लवलाई आफ्नो समूहमाथि लाग्ने आरोपको मिडियामार्फत प्रतिवाद गर्ने सहयोगी प्रदान गरेको छ ।
विप्लव समूहमा लागेका लेख्ने नेताहरुमा अनिल शर्मा र धर्मेन्द्र बास्तोला दुईजना छन् ।
उल्लेखित आठजना सारथीबाहेक तल्लो तहबाट विप्लवलाई केही मझौला नेताहरुले साथ दिएका छन् । काभ्रेका कृष्ण अधिकारी, बाबुराम मिजार र तेजबहादुर मिजार विप्लव समूहमा लागेका छन् । प्रचण्डलाई मार्न खोजेको अभियोगमा एमाओवादी कार्यकर्ताबाट गम्भीर यातना पाएका कृष्ण अधिकारी माओवादीका ०५२ सालदेखिकै लडाकू हुन् । ०६२ सालमा मणि थापासँगै माओवादीबाट विद्रोह गरेका अधिकारी अहिले फेरि वैद्य समूह हुँदै विप्लवसँग जोडिन आइपुगेका छन् ।
त्यसैगरी अछामका एमाओवादी पूर्वसभासद शरदसिंह भण्डारी पनि विप्लव समूहमा लागेका छन् । भण्डारीको साथले विप्लवलाई अछामको संगठन विस्तारमा मद्दत गर्ने देखिन्छ ।
समग्रमा विप्लव समूहमा राप्ती, लुम्बिनी, भेरी र कर्णालीका नेताहरुको बाहुल्य देखिएको छ । पूर्वी नेपाल र तराई मधेसमा उनी निकै कमजोर देखिएका छन् । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सहभागी नेताहरुको समूहमा महिला र मधेसी समुदायका एकजना पनि नेता थिएनन् ।
महिला नेतृ जयपुरी घर्ती विप्लव समूहमा लाग्ने चर्चा भए पनि उनी अहिलेसम्म खुलेकी छैनन् । पूर्वसभासद जयपुरी सहिद पत्नीसमेत हुन् । महिलामा जस्तै मधेसी समुदायमा पनि विप्लव समूह कमजोर देखिएको छ ।
प्रतिक्रिया 4