Comments Add Comment

सुदूरपश्चिममा वैद्य पक्ष अल्पमतमा

१८ मंसिर, धनगढी । अधिकांश केन्द्रीय सदस्यहरु नेत्रविक्रम चन्दको नेतृत्वमा नवगठित पार्टीमा लागेपछि सुदूरपश्चिममा मोहन वैद्य पक्षीय नेकपा-माओवादी अल्पमतमा परेको छ ।

mohan-baidhya-Finalसेती महाकाली राज्य समिति इञ्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकाश पुन, सहइन्चार्ज एवं केन्द्रीय सदस्य शदरसिंह भण्डारीलगायतका नेताहरु चन्द नेतृत्वको नेकपा माओवादीमा लागेका छन् ।

सेती महाकाली र थारुवान राज्य समितिका अधिकांश केन्द्रीय सदस्य तथा जिल्ला नेताहरु नयाँ पार्टीमा लागेको राज्य समिति इञ्चार्ज पुनले दाबी गरे ।

सेती महाकाली राज्य समितिका १० जना केन्द्रीय सदस्यमध्ये ८ जना आफूहरुसँग आएका र बाँकी दुई जनासँग छलफल भइरहेको पुनले दाबी गरे ।

कैलालीबाट केन्द्रीय सदस्य हेमराज भट्टराई श्रवण, भगत बडुवाल, रुपा चौधरी तथा जिल्ला सहसेक्रेटरी महेश बडुवाल नयाँ पार्टीतिर लागेका छन् ।

भट्टराई नेकपा-माओवादीमा हुँदा कैलालीको जिल्ला इञ्चार्ज समेत थिए भने बडुवाल र चौधरी पूर्वसभासद हुन् ।

यस्तै केन्द्रीय सदस्यमध्ये कञ्चनपुरका देवीदत्त पाण्डेय, अछामका आरपी तिमिल्सेना र बझाङका शंकरबहादुर खड्का आफूहरुसँगै नयाँ टीममा लागेको विप्लव समूहका नेता पुनले बताए ।

पुनलाई अहिले राज्य इन्चार्ज दिइएको छ भने केन्द्रीय सदस्यहरुलाई पुरानै जिम्मेवारी दिइने बताइएको छ ।

कञ्चनपुरका देवीलाल चौधरी र दार्चुलाका लक्ष्मीदत्त जोशीसँग पनि नयाँ पार्टीमा आउने विषयमा छलफल भइरहेको पुनले बताए । ‘१० जना केन्द्रीयमध्ये ८ जना साथीहरु सँगै छौं, बाँकी दुईजना अहिले कतै लाग्नुभएको छैन, उहाँहरुसँग छलफल भइरहेको छ,’ पुनले भने-‘जिल्लास्तरका अधिकांश नेताहरु हामीतिर आउँदैहुनुहुन्छ ।’

केन्द्रीय सदस्य पुनसहितका केही नेता खुलेरै विप्लब नेतृत्वको पार्टीमा आउन कार्यकर्तामाझ क्याम्पेनिङ गरिरहेका छन् । सुदूरपश्चिमका सबै जिल्लामा वैद्य पक्ष अल्पमतमा परेको केन्द्रीय सदस्य देवीदत्त पाण्डेयले दाबी गरे ।

यस क्षेत्रमा रहेका तीजना सल्लाहकारमध्ये दुईजना चन्दको पक्षमा लागेका छन् । डडेल्धुराका नन्दसिंह सार्की र बझाङका धनबहादुर मल्ल नयाँ पार्टीमा लागेका हुन् । इञ्चार्ज पुनले अहिले नै भातृ तथा अन्य जनवर्गीय संगठनहरुले पार्टी चयन गरी नसकेको बताउँदै केही दिनमै सबै जिल्लामा संगठन निर्माण गरिने बताएका छन् ।

नेकपा-माओवादीले राष्ट्रिय स्वाधीनता र सर्वहाराको मुक्तिको आन्दोलनलाई छाडेकाले नयाँ पार्टी आवश्यकता भएको केन्द्रीय सदस्य हेमराज भट्टराई श्रवणले बताए ।

‘राष्ट्रिय स्वाधीनता, सर्वहारा वर्गको मुक्तिका लागि हामी १० वर्षसम्म लड्यौं तर शान्ति प्रकृयामा आएपछि पार्टीले वर्गीय रुपमा आत्मसमपर्ण गर्दा नयाँ पार्टी गठन गरेका थियौं,’ उनले भने- ‘उहाँ (वैद्य)ले पनि राष्ट्रिय स्वाधीनता र वर्गीय आन्दोलनलाई नेतृत्व गर्न नसकेपछि पुनः अर्को पार्टीको आवश्यकता भएको हो ।’

राज्य समिति इन्चार्ज पुनले आवश्यक परे आफूहरु पुनः सशस्त्र संघर्षमा जाने बताए ।

Biplap-1अखिल क्रान्तिकारी पनि विप्लवतिरै

यसैवीच नेकपा-माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी कैलालीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वलाई समर्थन गर्ने जनाएको छ । जिल्ला कार्य समिति कैलालीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा मात्रै क्रान्तिकारी भावनाअनुसार काम गर्ने भन्दै नयाँ पार्टीलाई समर्थन रहेको जनाएको हो ।

पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विमल धामीले मोहन वैद्य पार्टीमा रहेका कार्यकर्ताको भावनाअनुसार नचलेकाले आफूहरुले विप्लव पक्षको नेकपा माओवादी पार्टीलाई समर्थन गर्ने बताए ।

३१ सदस्यीय कार्य समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरुले विप्लवको पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन् । कार्यसमितिका सबैजसो पदाधिकारी नयाँ पार्टीमा गएका केन्द्रीय सदस्य धामीले दाबी गरे ।
-दीपक उपाध्यायबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment