Comments Add Comment

‘अरुलाई बचाएँ, आफैँलाई बचाउन कठिन भो’

डम्मर बम

२० मंसिर, कैलाली । गाउँमै प्राथमिक स्वास्थ्यको पर्याप्त सुविधा नभएका बेला विष्णादेवी जोगीको खुब मानसम्मान हुन्थ्यो । गाउँघरमा बालबच्चा जन्मँदा जोकोही रातबिरात गरेर विष्णादेवीको आँगनमा पुग्थे । उहाँ पनि खाना खाइनखाई हतारमै हात पुछ्दै दगुर्नुहुन्थ्यो सुत्केरीकोमा ।

उमेरले ५० काटेकी विष्णादेवी मसुरिया-२ कैलाशपुरकी बासिन्दा हुन् । उनी तत्कालीन समयकी सरकारी मान्यता प्राप्त सुडेनी (धाई आमा) थिइन् । उनले आफ्नो सुडेनीकालको यात्रामा सयौँ महिलाको ज्यान बचाइन् । तर आज उनको आफ्नै ज्यान खतरामा छ ।

अहिले पाठेघरमा टयुमर भएर उनी जीवन र मरणको दोसाँधमा छिन् । ‘पाठेघरमा टयुमरसँगै गाँठा परेर सडेको र प्वाल परेको अवस्थामा रहेको डाक्टरले परीक्षण प्रतिवेदनमा उल्लेख गरेका छन्’ उनले भनिन्-‘अब उपचार कहाँ गएर गर्ने ? के गर्ने ? भेउ नै पाउन सकेकी छैन ।’

भारतका विभिन्न सहरमा गएर अहिलेसम्म एक लाख रूपैयाँ उपचारमा सिध्याएको बताउँदै जोगीले भनिन्-‘पैसा नभएपछि अहिले घरमै आएर बसेकी छु ।’ आफ्नो यो गति होला भनेर सोच्दै नसोचेको बताउँदै उनले भनिन्-‘त्यो बेला धेरै सुत्केरीलाई बचाएँ तर, अहिले आफूलाई बचाउन सकिनँ ।’

श्रीमती बिरामी हुँदा खेतीपातीका साथै परिवार पाल्न समेत गाह्रो हुन थालेको उनका पति पालुराम जोगी बताउँछन् । पालुराम र पत्नी विष्णादेवीका कमाइमा १२ जनाको परिवार आश्रति छ ।

पाठेघर सडेर प्वाल पर्दा पेटमा पानी जमिरहने समस्या देखिएको भन्दै उनले भने-‘हरेक पन्ध्र दिनमा सुखड बजारस्थित निजी क्लिनिकमा गएर पेटको पानी निकाल्छु ।’ हरेक १५ दिनमा पेटबाट पानी निकाल्दा एक हजार ७०० खर्च लाग्ने गरेको छ ।

सुत्केरी गराउँदाका बखत धेरैका गर्भमै मरेका बच्चा निकालेर जीवनदान गरेको अनुभव सुनाउँदै उनले भनिन्-‘गरिब र निर्धा सुत्केरीलाई बचाउँदा आनन्द लाग्थ्यो तर, आज आफ्नो पीडा कसैले सुनिदिएको छैन ।’

उनले मसुरियाको १७ वर्षअघिको स्वास्थ्य संस्था सम्झँदै भनिन्-‘हात काटिँदा औषधिमूलो गर्न त परै जाओस्, टाउको दुख्दा सिटामोलसमेत पाउने स्थिति गाउँमा थिएन, त्यही समयमा सुत्केरीलाई धनगढी, चौमालासम्म पुर्‍याउनै मुस्किल थियो ।’

आˆनो उपचार चितवनमा सम्भव भएको डाक्टरहरूले बताएको सुनाउँदै उनले भनिन्-‘गाडी भाडा त हुँदैन, उपचार केले गर्ने समस्यामा परेकी छु ।’ भएको १९ कठ्ठा जमिनमध्ये उपचार गर्दा लागेको ऋण तिर्न खेत बन्धकी राखेको पति पालुरामले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment